ई–आर्थिक, काठमाडौं । कोरोना बीमाको भुक्तानी नपाएको चौतर्फी गुनासो र आलोचना पछि अर्थमन्त्री बिष्णु पौडेलको उपस्थितिमा बीमा कम्पनी र बीमा समितिका पदाधिकारी सहित छलफल भएको छ ।
छलफल पछि एक साताभित्र कोरोना बीमाको बाँकी बक्यौता भुक्तानी गर्न बीमा समितिले बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।
बैठकमा अर्थमन्त्री पौडेलले एक साताभित्र दावी भुक्तानीको व्यवस्था मिलाउन समितिलाई निर्देशन दिएपछि समितिले कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो ।
छलफलमा अर्थमन्त्री पौडेल सहित अर्थ मन्त्रालयका सचिब शिशिरकुमार ढुङाना, राजस्व सचिव रामशरण पुडासैनी, बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईँ, बिमक संघका अध्यक्ष दीपप्रकाश पाण्डे लगायतको उपस्थिति थियो ।
हालसम्म २० हजार भन्दा बढी बीमितले दुई अर्ब भन्दा बढि रुपैयाँको बीमा दावी भुक्तानीका लागि कागजात पेश गरेपनि करिब १५ करोड रुपैयाँ मात्र दावी भुक्तानी भएको छ ।
समितिकै निर्देशनमा निर्जीवन बीमा कम्पनीहरुले एक लाख र ५० हजार बिमांक बराबरको कोरोना बिमालेख सुरु गरेका थिए ।
कोरोना संक्रमण बढ्दै गएपछि भदौ अन्तिमबाट भने कोरोना बिमालेखलाई परिमार्जन गरी स्वास्थ्य उपचारमा लाग्ने खर्चका आधारमा मात्र भुक्तानी दिने व्यवस्था गरिएको छ ।