ई–आर्थिक, काठमाडौं । बूढीगण्डकी जलविद्युत् परियोजना कमिशनका कारण अलपत्र पारेको र त्यसमा काँग्रेस सभापति शेरबहादुर देउवासमेतको संलग्नता रहेको भन्ने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले दिएको अभिव्यक्तिको प्रमाण पेश गर्न माग नेपाली काँग्रेसले माग गरेको छ ।
डा. भट्टराईले बूढीगण्डकीसम्बन्धी तथ्यमा गहिरो अध्ययन र सार्थक पहल गर्नुभन्दा सस्तो टिप्पणी गरेको जनाउँदै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रमाण सार्वजनिक गर्न चुनौती दिनुभएको छ । ‘राजनीतिको प्रतिष्ठा न त भ्रष्टाचारको ढाकछोपले बढ्छ न त कपोलकल्पित, झुट र अर्थहीन आरोपले, हामी नम्र भाषामा अपिल गर्दछौँ तथ्यको जगमा सत्यको खोजी नगरी केवल आवेगको भरमा टिप्पणी गरेर क्षणिक लाभ हुनसक्ला तर त्यसले न सम्बन्धित व्यक्तिको ओज अभिवृद्धि हुन्छ न राजनीतिको गरिमा बढ्छ । यति हेक्का डा भट्टराईले राख्नुभएकै छ भन्ने अपेक्षा लिएका छौँ’ प्रवक्ता शर्माले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
वि.सं. २०७५ असोज २१ मा सम्पन्न काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले स्वदेशी पूँजीमै निर्माण गर्न सक्ने गरी अध्ययन समितिले दिएको विगतको प्रतिवेदनका आधारमा नै उक्त परियोजना अघि बढाइनुपर्छ भन्ने काँग्रेसको माग रहेको प्रवक्ता शर्माले जानकारी गराएको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री रहेका बेला बूढीगण्डकी जलविद्युत् परियोजना सरकार आफैँले निर्माण गर्ने सङ्कल्पका साथ राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष डा स्वर्णिम वाग्लेको संयोजकत्वमा विशेष समिति गठन गरेको र त्यसले स्वदेशी लगानीबाटै निर्माण गरेर स्वदेशी पूँजीको एकीकृत उपयोग गर्ने क्षमता र अवसरको विकास गरे नमूना बन्ने निष्कर्ष प्रस्तुत गरेको थियो ।
देउवा नेतृत्वको सरकारले गराएको सो अध्ययन र निष्कर्षभन्दा वर्तमान सरकार बाहिर गएको आरोप पार्टीले लगाएको छ । साथै डिजेल र पेट्रोल खरीदमा उपभोक्ताबाट प्रतिलिटर रु पाँचका दरले बूढीगण्डकीका लागि उठाइँदै आएको अर्बौं रकमको स्थिति, स्थानीयवासीलाई मुआब्जा वितरण र आयोजनाको भविष्यबारे पार्टीले सरकारसँग प्रश्न गरेको छ ।
कार्यकर्ता भेटघाटको क्रममा गोरखा पुगेका बेला डा. भट्टराईले काँग्रेस सभापति देउवासहित नेकपाका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री के.पी. ओली समेतले गरी आयोजनामा ९ अर्ब भ्रष्ट्राचार गरेर अलपत्र पारेको आरोप लगाएका थिए । बाबुरामले आफूसँग प्रमाणकै आधारमा बोलेको भनिएको उक्त आरोपको केही दिनपछि काँग्रेसले यसको खण्डन गरेपनि ओली र दाहालले यस बारे केही आधिकारिक धारणा सार्वजानिक गरेका छैनन् ।