२०८३ साउन १० आइतबार

देशभित्रै कृषि र पशुपालनमा रमाइरहेका छन् तनहुँका युवा

ई आर्थिक    बुधबार, असोज २१ २०७७
11.6K
Shares
देशभित्रै कृषि र पशुपालनमा रमाइरहेका छन् तनहुँका युवा

दमौली, असोज २१ गते । देशभित्रै प्रशस्त अवसर हुँदाहुँदै पनि रोजगारीको सिलसिलामा धेरै युवा विदेशिएका छन् । तर केही त्यस्ता युवा पनि छन्, जो देशभित्रै बसेर कृषि र पशुपालनमा रमाइरहेका छन् ।

त्यस्तै मध्येका एक हुन् तनहुँको व्यास नगरपालिका–५ फुस्रेटारका रवीन्द्र श्रेष्ठ । माध्यमिक तहको पढाइ सकेर श्रेष्ठले भैँसीपालन व्यवसाय शुरु गर्नुभएको हो । विदेशमा गर्ने श्रम देशभित्रै गर्न सके मनग्य आम्दानी हुने सोचका साथ श्रेष्ठले मामा भान्जा भैँसी फार्म दर्ता गरेर भैँसीपालन शुरु गर्नुभएको छ ।

पाँच रोपनी जग्गा खरिद गरेर शुरु भएको भैँसीपालन व्यवसायमा करिब रु २२ लाख लगानी भएको उहाँले जानकारी दिनुभयो । उहाँको भैँसी फार्ममा हाल १३ भैँसी र नौ पाडापाडी छन् । भैँसीको दानाका लागि श्रेष्ठले घाँसखेतीसमेत गर्नुभएको छ । बिहानदेखि नै श्रेष्ठ भैँसीको स्याहारसुसारमा खटिने गर्नुभएको छ । “केही समय वैदेशिक रोजगारीमा पनि गएँ, तर विदेशमा सन्तुष्टि मिलेन,” उहाँले भन्नुभयो, “अहिले आफ्नै देशमा व्यवसाय गर्दा आत्मसन्तुष्टि मिलेको छ ।”

दैनिक ४५ लिटर दूध विक्री गर्दै आउनुभएको श्रेष्ठले व्यवसायमा थप लगानी गरेर भैँसीफार्मलाई विस्तार गर्ने योजना बनाउनुएको छ । “व्यावसायिक रुपमा नै भैँसीपालनलाई लैजानका लागि थप लगानी गर्दैछु,” उहाँले भन्नुभयो, “भैँसीपालनलाई नै मुख्य परिचय बनाउने उद्देश्य हो ।” दूध विक्रीबाट सम्पूर्ण खर्च र बैंकको किस्ता तिरेर मासिक रु ३० हजार आम्दानी हुने उहाँले जानकारी दिनुभयो ।

भैँसीपालनमा नै रमाउनुभएका अर्का युवा हुनुहुन्छ व्यास नगरपालिका–१४ का मोहन आले । सोही वडाको निर्वाचित वडा सदस्यसमेत रहनुभएका आलेले तीन रोपनी क्षेत्रफलमा भैँसीपालन गरिरहनुभएको छ । उहाँको भैँसीफार्ममा ११ भैँसी रहेका छन् । दैनिक ७५ लिटर दूध विक्री गरेर मासिक रु ५० हजार आम्दानी हुने गरेको उहाँको भनाइ छ । उहाँले भैँसीपालनका लागि रु १८ लाख लगानी गर्नुभएको छ । “राजनीति सँगसँगै पशुपालन व्यवसायलाई समेत अगाडि बढाएको छु”, उहाँले भन्नुभयो, “राजनीतिले मात्रै जीवन गुजारा हुँदैन, आम्दानीको स्रोतका लागि व्यवसाय गरेको हूँ ।”

भैँसीपालनसँगै बङ्गुरपाल गर्नुभएका उहाँले काम गर्न लाज मान्न नहुने बताउनुभयो । “जनप्रतिनिधि भएर पनि कहाँ भैँसी पालेको भन्छन्, तर मलाई काम गर्न लाज लाग्दैन,” उहाँले भन्नुभयो, “जनप्रतिनिधि त केही समयका लागि मात्रै हो, यही व्यवसायलाई निरन्तरता दिन्छु ।” भैँसीपालनबाट आत्मसन्तुष्टि मिलेको बताउँदै उहाँले व्यवसायमा थप लगानी गर्ने योजना रहेको बताउनुभयो ।

विदेश जानुभन्दा पनि स्वदेशमै बसेर व्यवसाय गर्नुपर्ने सुझाव दिँदै उहाँले भन्नुभयो, “विदेशमा गएर अरुको दास बन्नुभन्दा स्वदेशमै मालिक बन्नुपर्छ ।” दूध विक्रीका लागि बजारको कुनै अभाव नरहेको उहाँको भनाइ छ ।

-रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij