ई–आर्थिक, काठमाडौं । लकडाउनका कारण लामो समयसम्म व्यवसाय बन्द हुँदा मर्कामा परेको व्यवसायीहरु सडकमा ओर्लिएका छन् । व्यवसायीहरुले विभिन्न मागहरु राखि ‘संयुक्त नाइ संघर्ष समिति’को ब्यानरमा सैलुन व्यवसायीहरुले काठमाडौंमा प्रदर्शन गरेका हुन् ।
ललितपुरको पाटनदेखि काठमाडौंको माइतीघर मण्डलासम्म व्यवसायीले मंगलबार बिहान प्रदर्शन गरिएको हो । उनीहरुले देशभरका सबै सैलुन र ब्युटी पार्लर खोल्न पाउनु पर्ने माग गरेका हुन् ।
व्यवसायीहरुले नाइ श्रमिकहरुलाई लकडाउन अवधिभरको राहतको व्यवस्था गर्नुपर्ने, बैंकको ब्याजदर मिनाहा हुनुपर्ने, पसल तथा कोठा भाडा मिनाहा हुनुपर्ने, नाई श्रमिकहरुलाई निःशुल्क पीपीई सेट दिनुपर्ने, नाई श्रमिकहरुको ५० लाख बराबरको जीवन बीमा गरिदिनुपर्नेलगायतका मागसमेत संघर्ष समितिले बताएको छ । यसैबीच कोटेश्वरका व्यापारीहरुले पनि सहज रुपमा व्यवसाय खोल्न पाउनुपर्छ भन्दै सडकमा उत्रिएका छन् ।
सैलुन व्यवसायीहरुले यसअघि पनि विभिन्न माग राखी काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका थिए ।
लामो समय भइसक्दा पनि अझै निषेधाज्ञा पूर्ण रुपमा नहटाइएको भन्दै कोटेश्वर व्यवसायी संघले काठमाडौंमा प्रदर्शन गरेको हुन् । निषेधाज्ञा पूर्णरुपमा खुलाई सहज रुपमा व्यापार व्यवसाय गर्न पाउनुपर्ने माग संघको छ ।
करिब ४ महिना लकडाउन र त्यसपछिको निषेज्ञाधाका कारण व्यवसायीहरु निकै ठूलो समस्यामा फस्न लागेको संघका अध्यक्ष सरोज थापाले बताए । सधैं घरभित्र थुने कोरोनाभन्दा पनि भोकले मर्ने अवस्था आउने भन्दै अब सहज बनाउनु पर्ने अध्यक्ष थापाको भनाई छ ।
व्यापारीहरुले बन्दाबन्दी अवधीभरको बैंक तथा वित्तीय संस्थाहरुको ब्याज मिनाहा गर्नुपर्ने, करको जरिवाना मिनाहा गर्नु पर्ने घरभाडामा सहुलियत दिनु लगायतका माग गरेका छन् ।
त्यसैगरी बन्दाबन्दीका कारण व्यवसायीहरु समस्यामा परेको भन्दै विभिन्न मागहरु राखेर नेपाल राष्ट्रिय व्यवसायी महासंघले थालेको आन्दोलन पनि जारी राखेका छन् । महासंघले विभिन्न राजनीतिक दलका नेताहरुसमेतलाई भेटर आफ्ना समस्यामा सहयोग गर्ने वातावरण बनाउन माग गरेका छन् ।