ई–आर्थिक, जुम्ला । जुम्लामा चट्याङले पाँच सय बढी भेडा मरेका छन् । जिल्लाको पातारासी गाउँपालिका वडा नम्बर ४ मा जाजुल्ले सामुदायिक वनमा रहेको ढाँण खर्क सामुदायिक वनमा चट्याङले उक्त संख्यामा भेडाहरु मरेका हुन ।
किसानको ठूलो संख्यामा भेडा मरेपछि गाउँपालिका पशु तथा भेटरीनरी शाखाका प्राविधिक हरि कामीसहितको टोली घटनास्थलमा गएको छ । त्यस सम्बन्धि विस्तृत विवरण आएपछि क्षतिपूर्तिका लागि कर्णाली प्रदेश सरकार र सङ्घीय सरकारलाई पठाइने भेटेरीनरी कार्यालयले जानकारी दिएको छ ।
बेलुकीसम्म विस्तृत विवरण आउने स्थानीय तहले जानकारी दिएको छ । धेरै भेडा एकै पटक मरेको घटना किसानका लागि निकै ठूलो क्षति भएकाले हामी सरोकारवाला निकायहरूले क्षतिपूर्तिका लागि पहल गर्नुपर्ने जिल्ला समन्वय समितिले जानकारी दिएको छ ।
जिल्लामा चट्याङले भेडा मरेको यो पहिला घट्ना भने होइन । गत वर्ष मात्र तिला गाउँपालिका वडा नं ६ को सुडिका किसानका समेत २५० भेडा चट्याङले मरेका थिए ।