ई–आर्थिक, काठमाडौं । यातयात व्यवसायीले साउन ८ गतेदेखि सार्वजनिक यातयात संचालन गर्ने घोषणा गरेका छन् । नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघ र यातायात मजदुर ट्रेड युनियनले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै साउन ८ गतेदेखि सार्वनिक यातायात संचालन गर्ने घोषणा गरेका हुन् ।
यसअघि व्यवसायीले सरकारले आफूहरुसँग सल्लाह नगरी सार्वजनिक यातायात संचालन गर्ने निर्णय गरेको भन्दै असन्तुष्टि जनाएका थिए ।
सरकारले गत असार २६ मै उपत्यकामा र जिल्लाभित्र यातायातका साधन जोरविजोरका आधारमा सञ्चालन गर्ने निर्णय गरेको थियो । तर यातायात व्यवसायीले विभिन्न माग राख्दै गाडी चलाउन अटेर गरेका थिए । मौद्रिक नीतिलगायतका कारण आफूहरुको माग केही मात्रामा सम्बोधन भएको भन्दै अहिले यातायात व्यवसायीहरु गाडी चलाउन तयार भएका हुन् ।
यातायात व्यवस्था विभागसँग ५०÷५० प्रतिशत शुल्क सरकार व्यवसायीले बेहोर्ने गरी मजदुरको कोरोना बीमा गर्ने, सरकारसँग कुनै मजदुरको मृत्यु भएमा क्षतिपूर्ति दिने गरी कोष बनाउन अनुरोध गर्ने लगायतका सहमित भएको कार्यक्रममा महासंघका अध्यक्ष योगेन्द्रमान कर्माचार्यले जानकारी दिए ।
मौद्रिक नीतिले पनि व्यवसायीलाई पुर्नकर्जा लगायतका सुविधा दिएकाले यातायात चलाउने वातावरण तयार भएको अध्यक्ष कर्माचार्यको भनाई छ । सरकारले पहिलोपटक यातायात व्यवसायीको समस्या सम्बोधनका लागि काम गरेको उनले बताए । स्वरोजगार मजदुरको बाहुल्यता रहेको यो व्यवसायमा रहेका अरु धेरै समस्या पनि समाधान गर्न सरकार तयार हुनुपर्ने व्यवसायीको भनाई छ ।
यसैबीच लामो दूरीमा सवारी खोल्न पनि यातायात व्यवस्था विभागमार्फत सरकारसँग अनुरोध गर्ने सहमति भएको अध्यक्ष कर्माचार्यले जानकारी दिए ।