ई–आर्थिक, काठमाडौं । सप्तरीको राजविराज नगरपालिका–६ एक बृद्धको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको छ । ७३ बर्षिय उनी एक प्रतिष्ठित व्यवसायी समेत हुन् । कोरोना भाइरसको संक्रमणबाट सप्तरीमा मर्ने उनी पहिला हुन भने देशभरमा मर्ने उनी ४०औं मा परेका छन् ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए । बुधवार अस्पताल भर्ना गरिएको उनको बीपी कोइराला अस्पतालले सोही दिन स्वाब सङ्कलन गरिको थियो ।
बिहीबार कोरोना रिपोर्ट पोजिटिभ आएपछि आइसोलेसनमा भर्ना गरिएको थियो । भर्नाको केही समयपछि नै उनको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।
कोरोना भाइरसबाट संक्रमित उनी लामो समयदेखि मधुमेह, उच्च रक्तचाप र मुटु रोगबाट बिरामी समेत थिए । मृतकको शव ल्याएर सप्तकोसीमा व्यवस्थापन गरिनेबारे जिल्ला सङ्कट व्यवस्थापन समितिसँग छलफल भइरहेको छ ।