२०८३ साउन १२ मंगलबार

दोस्रो पटक नेपाल भित्रिए सलह, दुई दिन ‘अझै आउने सम्भावना’

ई आर्थिक    सोमबार, असार २९ २०७७
10K
Shares
दोस्रो पटक नेपाल भित्रिए सलह, दुई दिन ‘अझै आउने सम्भावना’

काठमाडौं । भारत हुँदै दुई साताभित्र शनिवार नेपालमा दोस्रो पटक सलहको समूह प्रवेश गरेको अधिकारीहरूले बताएका छन् । पन्ध्र दिन पहिले पनि नेपालमा सलहका ससाना बगालहरू भित्रिएका थिए।

अहिले हावाको गति पूर्वोत्तर दिशामा रहेकाले भारतबाट सलहको बगाल नेपाल प्रवेश गरेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कीट विज्ञान महाशाखाका वरिष्ठ वैज्ञानिक सुनिल अर्यालले बताए।

“अहिलेको समूह पहिलेको भन्दा ठूलो हो कि सानो हो भन्ने स्पष्ट भइसकेको छैन, तर शनिवार बिहानै भारतबाट नेपालमा प्रवेश गरेको पुष्टि भइसकेको छ,” उनले भने।

सतर्कताका लागि आह्वान

प्लान्ट क्वारन्टीन तथा विषादी व्यवस्थापन केन्द्रले शनिवार सूचना जारी गर्दै सतर्कता अपनाउन आह्वान गरेको छ ।

केन्द्रका अनुसार शनिवार बिहान ९:३० बजेतिर भारतको उत्तर प्रदेशको सीतापुर तथा बहराइच क्षेत्रमा रहेका सलहमध्ये एउटा बगाल दाङको गढवा गाउँपालिकाबाट नेपाल प्रवेश गरेको हो ।

उक्त समूह दिउँसो १ बजेतिर दाङकै राप्ती नगरपालिकाको लालमटिया क्षेत्रमा पनि देखा परेको थियो ।

सलह

सूचनामा भनिएको छ, “उक्त स्थानमा कृषक तथा समुदायबाट विभिन्न अवरोधहरू सिर्जना गरी बस्न नदिएपछि उत्तरपूर्व तर्फ लागेको सूचना प्राप्त भएको छ।”

“उक्त सलहले प्युठान, अर्घाखाँचीलगायतका अन्य छिमेकी जिल्लाहरूमा प्रवेश गरी नोक्सान गर्न सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन तथा पूर्वतयारीका साथ रहनुहुन सम्बन्धित सबैमा अनुरोध छ।”

केन्द्रले योबाहेक अन्य समूहहरू पनि आउन सक्ने सम्भावना रहेको जनाएको छ।

नेपालमा अहिले प्रदेश नम्बर ५, २ तथा १ का तराई र मध्यपहाडी क्षेत्रमा सतर्कता अपनाउनुपर्ने केन्द्रको भनाइ छ।

‘थप भित्रिने सम्भावना’

केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत रामकृष्ण सुवेदीका अनुसार वायुको गति मङ्गलवारदेखि केही परिवर्तन हुने पूर्वानुमान गरिएको छ।

सलह

उनले भने, “अहिलेकै हावाको मोड रहेका भोलि र पर्सिमा बिहार हुँदै जनकपुरतर्फबाट र पश्चिममा पनि उत्तर प्रदेश हुँदै कपिलवस्तु र रूपन्देहीतर्फबाट नेपालमा प्रवेश गर्न सक्ने देखिएको छ ।”

उनले भारतको राजस्थानतर्फबाट पनि अर्को ठूलो समूह आउँदै गरेकाले त्यसको खतरा पनि रहेको जानकारी दिए ।

जुम्ला पुगे पुराना सलह

त्यस्तै दुई साताअघि नेपाल प्रवेश गरेका समूहका सलह पनि घाम लागेपछि जुम्लालगायतका जिल्लामा देखा परेको उनले बताए । केन्द्रका महानिर्देशक प्रमुख सहदेवप्रसाद हुमागाईँले नयाँ समूहबाट हुने खतराबारे प्रदेश र स्थानीय सरकारहरूलाई जानकारी गराइसकिएको बताए ।

उनले अहिले नै विषादी प्रयोगबारे नसोचिएको भन्दै आफूहरू “पर्ख र हेर” को अवस्थामा रहेको जानकारी दिए । बीबीसीबाट 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij