ई–आर्थिक, काठमाडौं । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले श्रम स्वीकृति खोल्न बाटो सहज गरिदिएको छ । कोरोना भाइरसको महामारीका कारण विगत तीन महिनादेखि रोकिएको श्रम स्वीकृतिको अख्तियारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई दिएको छ ।
सीसीएमसीद्वारा अख्तियारी पाएसँगै अबदेखि मन्त्रालयले चाहेमा वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि श्रम स्वीकृति दिन सक्ने छ । श्रम स्वीकृति कहिलेदेखि खुलाउने भन्ने विषयमा भने मन्त्रालय र सीसीएमसीले कुनै कुरा उल्लेख गरेको छैन । अब मन्त्रालयले मापदण्ड बनाएर जहिले पनि खुला गर्न सक्ने निर्णय गरेको छ ।
उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गत फागुन २९ गतेदेखि वैदेशिक रोजगारीमा जाने श्रमिकको श्रम स्वीकृति स्थगनको निर्देशन दिएको थियो ।
सीसीएमसीले परिस्थिति हेरेर श्रम मन्त्रालयलाई बिदामा नेपाल आएकासहित नयाँ रोजगारीमा जाने श्रमिकलाई श्रम स्वीकृति दिने निर्णय गर्न सक्ने जनाएको छ ।
मन्त्रालयले अहिलेको परिस्थितिमा श्रम स्वीकृतिबारे मापदण्ड बनाउनुपर्छ, मापदण्डको तयारीका लागि छलफलकै चरणमा भएको जनाएको छ । यो निर्णय कर्मचारीको तहभन्दा पनि मन्त्रीस्तरबाट हुनुपर्ने भएकाले मन्त्रीस्तरीय छलफल गरेर मात्रै मापदण्डको विषय टुङ्गो लाग्ने बताइएको छ ।
यद्यपी नयाँ श्रम स्वीकृतिका विषयमा तत्काल निर्णय लिन सहज अवस्था भने छैन । अहिलेको अवस्थामा विदेशमा हाम्रा श्रमिकको माग हुनुप¥यो, जहाज पनि हुनुप¥यो, यसमा विविध विषय जोडिने हुनाले गहन छलफल आवश्यक भएकाले केही समय लाग्ने अनुमान गरिएको छ ।
जापानलगायत खाडी देशका केही श्रमिक भिसा भएर पनि श्रम स्वीकृति नपाएका अवस्था आएपछि श्रम स्वीकृति दिनेतर्फ सरकारले चासो देखाएको हो ।
नयाँ श्रमिक पठाउनका लागि सम्बन्धित देशसँग समन्वय गरेर गन्तव्य मुलुकमा पठाउने विषयमा अवस्था बुझ्न परराष्ट्र मन्त्रालयमार्फत विदेशमा रहेका नियोगलाई परिचालित गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयले मार्ग निर्देशन, मापदण्ड बनाएर पठाएपछि श्रम स्वीकृति दिने वैदेशिक रोजगार विभागले जानकारी दिएको छ ।
दुई लाखको हारहारीमा मागपत्र रहेको र २१ हजार श्रम स्वीकृति लिएर जान नपाएको नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले जानकारी दिएको छ । कोरोना पहिलाका रोजगारदाता कम्पनीबाट आएका माग भएकाले कोरोनापश्चातको अवस्था रोजगारदाता कम्पनीको अवस्था के कस्तो छ जानकारी नभएको अगुवा बैदेशिक रोजगार व्यवसायीले बताए । कोभिड–१९ का कारण धेरै रोजगारदाता कम्पनी नै बन्द हुने अवस्थामा रहेको हुन सक्ने ती व्यवसायीको अनुमान छ ।