ई–आर्थिक, काठमाडौं : बजार खोलेदेखि सुनको मूल्य लगातार बढिरहेको छ । यो क्रम जारी राख्दै आज पनि मूल्य बृद्धि भएको छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँले कारोबार भयो । अघिल्लो दिनको तुलनामा प्रतितोलामा ४ सय रुपैयाँले बढ्दै तोलाको ९१ हजार पुगेको हो । आज कायम भएको मूल्य हालसम्मकै उच्च हो ।
नेपाल सुनचाँदी महासंघका अनुसार विश्वबजारमा सुनको मूल्य बढे पछि नेपाली बजारमा पनि आकासिएको हो । सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ७ सय ५२.८० अमेरिकी डलर पुगेको छ ।
तेजाबी सुनको मूल्य भने ९० हजार ५६५ रहेको महासंघले जानकारी दिएको छ ।
त्यसैगरी अघिल्लो दिनको तुलनामा चाँदीको मूल्यमा पनि बढेर ९ सय ५० रुपैयाँ पुगेको छ । चाँदी प्रतितोला १० रुपैयाँले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा चाँदी प्रतिऔंस १७.८८ डलर पुगेको छ । मूल्य बढेपछि बजारमा सुनचाँदीको कारोबार भने नगण्य मात्रामा कारोबार भएको व्यवसायीले जानकारी दिएका छन् ।
अन्तर्राष्ट्रिय वस्तु बजारमा सुनको मूल्य निकै उतारचढावपूर्ण रहेकाले आउँदा दिनमा स्वदेशी बजारमा अझै बढ्ने अनुमान गरिएको छ । आगामी केही दिनमा प्रतितोला १ लाख पुग्ने अनुमान लगानीकर्ता र व्यवसायीले लगाइरहेका छन् ।