ई–आर्थिक, वासिङ्टन डिसी । सामाजिक इकमर्स स्टार्ट अप कम्पनी सगुनले विश्वभरबाट लगानी जुटाउन १ जुन, २०२० देखि दोस्रो चरणको सेयर निष्काशन गरेको छ । सगुनद्वारा जारी प्रेस विज्ञप्ती अनुसार यस चरणमा ‘ग’ श्रेणीको साधारण सेयर प्रतिकित्ता ३० डलरका दरले ३ लाख कित्ता सर्बसाधारणलाई विक्री गर्नेछ ।
सगुनको सेयरमा विश्वभर रहेका सर्बसाधारणले कम्तिमा ३० कित्ता सेयर (९ सय अमेरिकी डलरको) बराबरको खरिद गर्न सक्नेछन् । कम्पनीले उक्त सेयर सीमित समयका लागि पहिले आवेदन गर्नेले किन्न पाउने गरी निश्कासन गरेको हो ।
यस चरणको मिनी आइपीओ मार्फत शेयर निस्कासन गर्नका लागि सगुनले पेश गरेको विवरणपत्रका आधारमा मिनी आइपीओ मार्फत सर्वसाधारणका लागि शेयर निष्कासन गर्न योग्य ठहर गरी अनुमति प्रदान गरेको थियो । सोही आधारमा दोश्रो चरणमा शेयर निष्काशन गरेको छ ।
सगुनले सन् २०१७ मा यसको पहिलो रेज ए प्लस अन्तर्गत मिनी आइपिओ मार्फत प्रतिकित्ता २३ डलरका दरले शेयर निष्काशन गरेको थियो । त्यतिखेर सगुनमा विश्वभरबाट ४ हजारभन्दा बढी लगानीकर्ताले ४६ लाख डलर लगानी गरेका थिए ।
सामाजिक सञ्जालको भीडमा नयाँ सोच र योजनाको सपना बोकेर सन् २०१४ बाट सगुन सञ्चालनमा आएको थियो । यसलाई अमेरिकामा रहेका नेपालीहरुले स्थापना गरेको हुन् ।
सामाजिक सञ्जाल र इकमर्शको प्लेटफर्मका रुपमा सगुनलाई उभ्याई यसका प्रयोगकर्ताहरुलाई समेत आफ्नो आम्दानीको हिस्सा बाड्ने नयाँ अवधारणा सगुनले बोकिरहेको छ । विगत केही समय देखि परिक्षणका रुपमा सगुनले यो अवधारणालाई प्रयोगमा ल्याइरहेको छ ।
पहिलो चरणको मिनी आइपीओ मार्फत विश्वभरिका सर्वसाधारणहरुबाट प्राप्त आर्थिक लगानी र हौसला पश्चात सगुनले निकै फडको मारेको छ ।
विशेषगरी आफ्नो प्रोडक्टमा ध्यान केन्द्रित गरेको सगुनले हाल ‘सगुन लाइट’ एप बजारमा ल्याइसकेको छ । साथमा सगुनले भन्दै आएको ड्रिम प्रोडक्ट ‘सोसियल स्मार्ट कार्ड’को बेटा भर्सन समेत शुरु गरिसकेको छ ।