२०८३ साउन ९ शनिबार

फर्कन चाहने १० लाख, सरकारको तयारी २५ हजारलाई मात्रै

ई आर्थिक    शनिबार, जेष्ठ १७ २०७७
8.7K
Shares
फर्कन चाहने १० लाख, सरकारको तयारी २५ हजारलाई मात्रै

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकताका आधारमा एक सातादेखि १० दिनभित्र ल्याउने निर्णय

जनकराज सापकोटा, बिनु सुवेदी, काठमाडौँ : करिब १० लाख नेपाली स्वदेश फर्किन चाहेको तथ्यांक सार्वजनिक भइरहेका बेला सरकारले तत्कालका लागि २५ हजारलाई मात्रै फर्काउने निर्णय गरेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको शुक्रबारको बैठकले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकताका आधारमा एक सातादेखि १० दिनभित्र ल्याउने निर्णय गरेको हो ।

गत मंगलबारको मन्त्रिपरिषद् बैठकले विदेशमा अलपत्र नागरिकको व्यवस्थापनसम्बन्धी कार्यविधि पारित गरेको थियो । त्यहीअनुसार समितिले नेपाली श्रमिकहरूको उद्धार प्रक्रिया अगाडि बढाएको हो । परराष्ट्र मन्त्रालयको तथ्यांकअनुसार भारत र अन्य देशबाट गरी झन्डै ६ लाख नेपाली तत्काल फर्किन चाहेका छन् । तर मन्त्रालयका अधिकारीसमेत सम्मिलित कोभिड–१९ विपद् व्यवस्थापन केन्द्र (सीसीएमसी) ले भने भारत र अन्य मुलुकका गरी १३ लाखभन्दा बढी नेपाली स्वदेश फर्किन चाहेको तथ्यांक तयार पारेको छ । यसमध्ये प्राथमिकताका आधारमा यूएई, कतार, माल्दिभ्स तथा बंगलादेशमा रहेका विद्यार्थी छन् ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका अनुसार यूएईमा रहेका २८ जना गर्भवती नेपाली महिला र कुवेतमा लडकडाउनकै अवधिमा माफी पाएका २ हजार ५ सयदेखि ३ हजार घरेलु कामदारलाई पहिलो प्राथमिकतामा राखिएको छ । खाडीमा सुत्केरी हुँदा कम्तीमा पनि ८ लाख जति खर्च लाग्ने र अधिकांश गर्भवती तथा उनीहरू आश्रित परिवारको समेत रोजगारी गुमेकाले प्राथमिकतामा परेका हुन् । एक दिनमा ३ हजारदेखि ३ हजार ५ सय जनालाई नेपाल ल्याउन सकिने अनुमान सरकारको छ । यद्यपि सीसीएमसीले एक दिनमा १० हजारसम्म नेपालीलाई तेस्रो मुलुकबाट उद्धार गर्न सकिने रिपोर्ट तयार पारेको थियो ।

स्रोतका अनुसार आवश्यकताका आधारमा केहीलाई लिन नेपालबाट विमान पठाइनेछ भने केहीलाई सम्बन्धित देशसँग समन्वय गरी ल्याइनेछ । नेपाल आएपछि १४ दिनसम्म उनीहरूलाई काठमाडौं, ललितपुर, भक्तपुर र धुलिखेलका होटलमा राखिनेछ । क्वारेन्टाइन ब्यवस्थापनको जिम्मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई दिइएको छ । यसअघि पनि समितिले क्वारेन्टाइन ब्यवस्थापन उपसमितिको संयोजक भट्टराईलाई नै बनाएको थियो । सोहीअनुसार उनले उपत्यकाका होटल तथा स्कुलहरूको निरीक्षण पनि गरेका थिए । तर सीसीएमसी गठन भएर सबै प्राविधिक काम उसैले गर्ने निधो भएपछि पर्यटन मन्त्रालय निस्क्रिय बनेको थियो ।

तेस्रो मुलुकबाट आउने नागरिकको आर्थिक अवस्था हेरी उनीहरूलाई पूरै वा आंशिक सहुलियत दिने या सहुलियत नै दिन नपर्ने गरी वर्गीकरण गरिएको छ । कतिपयको खर्च उनीहरू फर्किने देश र काम गर्ने कम्पनीले नै बेहोर्ने प्रतिबद्धता जनाएकाले नेपाललाई आर्थिक भार कम पर्न सक्ने आकलन सरकारको छ । १४ दिन क्वारेन्टाइनमा बसेर पीसीआर परीक्षण गरेपछि उनीहरूलाई घर पठाइनेछ ।

तीन निकायका फरक आकलन

खाडी मुलुक र मलेसियामा मात्रै श्रम स्वीकृति प्राप्त १५ लाख नेपाली कामदार छन् । भारतमा दस लाखभन्दा धेरै नेपाली विभिन्न श्रम क्षेत्रमा रहेको अनुमान छ । जसमध्ये कतिलाई तत्काल नेपाल फर्काउन पर्नेछ भन्नेबारे भने सरकारी निकायका फरक फरक आकलन छन् । संसद्को श्रम तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पेस गरेको प्रतिवेदनमा ४ लाख ७ हजारलाई तत्काल उद्धार गर्नुपर्ने उल्लेख छ । उक्त प्रतिवेदनमा भिसाको म्याद सकिएका र आममाफी पाएका १ लाख २७ हजार र रोजगारी गुमाएर फर्किन सक्ने २ लाख ८० हजारसहित गरेर ४ लाख ७ हजार नेपाली तत्काल स्वदेश फर्किन सक्ने आकलन गरिएको छ ।

रोजगारी गुमाएर फर्किन सक्नेमा मलेसियाबाट ३० हजार, कतारबाट ७० हजार, साउदी अरबबाट १ लाख, युनाइटेड अरब इमिरेट्सबाट ५५ हजार, कुवेतबाट १५ हजार, बहराइनबाट ७ हजार र ओमानबाट ३ हजार रहेको प्रतिवेदनमा उल्लेख छ । नेपाली सेनासहितको कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रले तयार पारेको प्रतिवेदनमा भने भारत र अन्य देशबाट करिब १३ लाख ५० हजार नेपाली फर्काउनुपर्ने हुन सक्ने आकलन गरिएको छ । प्रतिवेदनमा हवाईमार्फत तेस्रो देशबाट प्रतिदिन दस हजारको संख्यामा करिब १० लाख नेपाली आउन सक्ने अनुमान गरिएको छ । भारतबाट विभिन्न नाका हुँदै ३ लाख ५० हजार प्रवेश गर्न सक्ने र तीमध्ये १५ प्रतिशत संक्रमित हुन सक्ने प्रतिवेदनमा उल्लेख छ ।

गृह स्रोतका अनुसार वैशाखको मध्यदेखि जेठको पहिलो सातासम्ममा मात्रै विभिन्न नाका हुँदै भारतबाट करिब १ लाखभन्दा धेरै नेपाली भित्रिइसकेका छन् । चैतदेखि वैशाखको मध्यसम्म भने करिब ५ लाख स्वदेश भित्रिइसकेका छन् । जेठको पहिलो साता भारतबाट भित्रिएकाहरूलाई नै राख्न पुग्ने गरी क्वारेन्टाइनमा बेड नपुग्ने अवस्थामा प्रवासबाट उद्धार गरिनेहरूलाई कहाँ राख्ने भन्ने ठोस योजना सरकारसँग देखिन्न । त्यसो त श्रम स्वीकृति भएका, भिसाको अवधि सकिएकाबाहेक विभिन्न देशमा घुम्न, अध्ययन गर्न वा अन्य काममा गएर फसेका नेपालीहरूको पनि उद्धार गर्नुपर्ने हुन्छ । तर त्यस्ता नेपाली कुन कुन देशमा कति छन् भन्नेबारे सरकारससँग आधिकारिक तथ्यांक छैन ।

एकैचोटि ठूलो संख्यामा प्रवासमा रहेका नेपालीहरू ल्याउँदा क्वारेन्टाइनको क्षमताले नभ्याउने देखिन्छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका क्वारेन्टाइनमा १ लाख १७ हजार ४४ बेड मात्रै छन् । सरकारले प्रवासबाट फर्किने व्यक्तिले स्वयं तिर्ने सर्तमा होटलहरूलाई पनि क्वारेन्टाइन बनाउने भने पनि फर्किएका सबैलाई राख्न बेडको अभाव हुने देखिन्छ । पर्यटन बोर्डका अनुसार देशभरका होटलमा ४० हजारको हाराहारीमा मात्रै बेड छन् । बेडको कमीका कारण सरकारले केही दिनको अन्तर पर्ने गरी कामदारको उद्धार गर्ने नीति अगाडि सारेको छ ।

वैदेशिक रोजगारीमा रहेका (भारतबाहेक) : करिब २४ लाख (आईओएम)

भारतका वैदेशिक रोजगारीमा रहेका : करिब १५ लाख

भारतबाट फर्किन सक्ने : ३ लाख ५० हजार (क्राइसिस म्यानेजमेन्ट सेन्टर)

तेस्रो देशबाट फर्किन सक्ने : १० लाख (क्राइसिस म्यानेजमेन्ट सेन्टर)

तेस्रो देशबाट फर्किन सक्ने: ६ लाख (परराष्ट्र मन्त्रालय)

खाडी र मलेसियाबाट तत्काल फर्काउनुपर्ने अनुमानित : ४ लाख ७ हजार (श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय)

खाडी र मलेसियाबाट तत्काल फर्काउन सकिने: २५ हजार (उच्चस्तरीय समिति)

क्वारेन्टाइनमा रहेका बेड : १ लाख १८ हजार बेड (स्वास्थ्य मन्त्रालय)

होटलमा रहेका जम्मा बेड : करिब ४० हजार

विपद् व्यवस्थापन केन्द्रले हवाई माध्यमबाट प्रतिदिन दस हजारभन्दा थोरैको संख्यामा नेपाल आउन सक्ने आकलन गरेर सोहीअनुसारको ब्यवस्थापन मोडालिटी बनाएको छ । जसमा परराष्ट्र मन्त्रालय, अध्यागमन विभागदेखि स्थानीय तह र जिल्ला प्रशासन कार्यालयसम्मको भूमिका समेटिएको छ । केन्द्रको प्रतिवेदनमा विमानस्थलका हेल्थ डेस्कहरूको ब्यवस्थापन गरी स्वास्थ्य जाँच गर्ने र सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा पठाउने योजना छ ।

स्थल तथा हवाईमार्गबाट आउने शंकास्पद संक्रमितहरूलाई भने सीधै प्रदेशस्थित कोभिड अस्पतालको आइसोलेसनमा लैजाने योजना छ । शंकास्पद संक्रमितलाई कुन अस्पताल लैजाने भन्ने योजना पनि समेटिएको छ । उक्त योजनामा विदेशबाट आएकाहरू २ साता जिल्लास्थित क्वारेन्टाइनमा र एक साता आफ्नै घरको क्वारेन्टाइनमा बस्नुपर्ने पनि उल्लेख छ ।

सरकारले समन्वयको प्रक्रिया अगाडि बढायो भने प्रवासमा रहेका कति नेपाली तत्कालै स्वदेश फर्किएलान्. भनेर अनुमान गर्न कठिन छ । इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन (आईओएम) को सन् २०१९ मा प्रकाशित कन्ट्री प्रोफाइलका अनुसार २३ लाख ६५ हजार नेपालीहरू वैदेशिक रोजगारीका क्रममा छन् । भारतमा रहेका, अवैध रूपमा बसिरहेका, अध्ययन र अन्य कामको सिलसिलामा विदेशमा रहेका गरी करिब ५० लाखको हाराहारीमा नेपालीहरू प्रवासमा भएको अनुमान गरिन्छ ।

तथ्यांक एकरूप नहुँदा सरकारले स्वदेश फर्किन सक्नेलाई राख्न क्वारेन्टाइन र अन्य व्यवस्थापनको क्षमता आकलन गर्न सकिरहेको छैन । गत बुधबार मात्रै प्रदेश २ सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई लेखेको पत्रमा उक्त प्रदेशका मात्रै करिब १० लाख युवा वैदेशिक रोजगारीबाट फर्किन सक्ने सम्भावना उल्लेख छ । प्रदेशको यस्तो आकलनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेको आकलनभन्दा ठूलो संख्यामा नेपालीहरू स्वदेश फर्किन सक्ने देखिन्छ ।

भारतबाट फर्किन २० नाका

सरकारले भारतबाट स्थलमार्ग हुँदै नेपाल फर्किने नेपालीहरूका लागि २० वटा नाका तोकेको छ । कोभिड–१९ रोकथाम, नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शुक्रबार बसेको बैठकले नाका तोकेको प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले बताए । उनका अनुसार पशुपतिनगर, काँकडभिट्टा, रानी, कुनौली, ठाडी, माडर, भिट्टामोड, मलंगवा, गौर, वीरगन्ज, महेशपुर, बेलहिया, तौलिहवा, कृष्णनगर, जमुनाहा, सुरजपुर, गौरिफन्टा, गड्डाचौकी, झुलाघाट र दार्चुला नाका मुलुक प्रवेशका लागि तोकिएका छन् । अहिले पनि दक्षिणका विभिन्न नाकाबाट दैनिक १० हजार नेपाली भित्रिइरहेको आँकडा राज्यसँग छ । सरकारले भारतबाट झन्डै तीन लाख नेपाली तत्काल नेपाल आउन चाहेको बताएको छ ।

कान्तिपुरबाट (तस्बिर सौजन्य : सुजन केसी)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij