ई-आर्थिक, काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको बिबाद केही समयका लागि स्थगित भएको छ । शनिबार बसेको सचिबालयको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले महासचिब बिष्णु पौडेलको सहयोगमा तत्काललाई बिबादको अन्त्य गरेका छन् ।
यसका लागि उन्ले उपाध्यक्ष बामदेब गौतमसँग ‘उपयुक्त समयमा’ प्रधानमन्त्री बनाउने शर्त भने गर्नुपरेको छ । उपयुक्त समयपछि फेरि यो बिबाद सतहमा आउने निश्चित प्रायः भएकाले यसलाई स्थगितको रुपमा हेर्न सकिन्छ । यद्यपि अब बामदेब गौतमलले यस बिषयमा प्रचण्ड–समूहको साथ पाउन सक्ने सम्भाबना निकै नै कम हुनाले उनको केपी ओलीसँग प्रधानमन्त्री माग गर्नसक्ने हैसियत देखिदैन । तर पनि नेकपाभित्र यस्तो बिबाद आइरहने देखिन्छ । प्रचण्ड–माधब समूहमा प्रभाबशाली चार नेता रहेकाले उनीहरुको एकता रहुन्जेल ओलीले यस्तो कठिन परिस्थितिको सामना गरिरहनुपर्छ ।
दुनियाँ के कुरामा चकित छ भने नेकपाभित्रको बिबाद अत्यन्तै हलुको ढंगले किनारा लाग्यो । बैठकअघिसम्म नेकपाको जमिनमा आकासै खस्न लागेको जस्तो प्रचार भएकाले देश÷बिदेशमा शनिबारको सचिबालय बैठक बहुप्रतिक्षित थियो । ओलीले अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पद छाड्नु पर्ने बाध्यता आउने सबैको आकलन थियो । यदि ओलीेले दुबै पद नछाड्ने अडान लिए संकट गहिरिने र यसले पार्टी नै बिभाजनको तहमा पुग्न सक्ने अनुमान गरिएका थिए । यति हल्काढंगले बिबाद समाधान हुनु भनेको नेकपाभित्र बाहिर प्रचारमा आएजस्तो बिबाद नै थिएन त ? ओली संकटमा परेका थिएनन् त ? स्वभाबिक प्रश्न उठेको छ ।
निश्चितरुपमा नेकपाभित्र बिबाद थियो, त्यो पनि अत्यन्त पेचिलो अबस्थामा पुगेको थियो । प्रधानमन्त्री ओली दुई कार्यकारी पदमध्ये एक छाड्नुपर्ने अबस्थामा पुगेका पनि हुन । बैठकका पूर्बसन्ध्याका घटनाक्रम, ओलीका किचेन क्याबिनेटमा रहेका नेताहरुको दौडधुप र आत्तिएका अभिब्यक्तिले यही पुष्टि गर्छ । दुबै पद सुरक्षित राख्ने प्रयासमा रहेका ओलीले बालुवाटारमा आफू निकट नेताहरुको गरेको पटक–पटकको भेला र त्यसको निस्कर्षसहित प्रदिप ज्ञवाली, शंकर पोखरेल, सुबास नेम्वाङहरुले माधब नेपाल र प्रचण्डसँग गरेको प्याकेज डिलले ओली गहिरो संकटमा थिए भन्ने पुष्टि गर्छ । ओलीको दुतको रुपमा सहमतिका लागि अर्को समूहसँग छलफलको म्याण्डेट पाएका शंकर पोखरेलहरुको प्रदेश नम्बर ३ र १ को मुख्यमन्त्री छाड्ने, अर्थमन्त्री र शहरी बिकासमन्त्री माधब–प्रचण्डले सिफारिस गरेका नेतालाई नियुक्ति गर्ने, यो समूहबाट केही सचिबालय सदस्य थप गर्ने र आगामी दिनमा सहमतिका साथ अबसरको बाँडफाँड गर्ने प्रस्ताबबाट ओलीका लागि यो एक हप्ताको समय कति कठिन भएछ भनेर बुझ्न सकिन्छ ।
शंकर पोखरले त हतास भएर पार्टीमा सहमति हुन्छ भने प्रदेश ५ को मुख्यमन्त्री पद त्याग गर्ने समेत सार्बजनिक अभिब्यक्ति दिए । ओली निकट नेता र कार्यकर्ताहरु एक स्वरमा अब पार्टी फुट्ने भयो, बिदेश (भारत) को चलखेलले केपीमाथि प्रहार गरियो भन्दै सन्चारमाध्यम र सामाजिक संजालभरि रोइलो गरे । कतिसम्म भने ओलीले आफ्नै अग्रसरतामा उपत्यका बाहिर रहेका निकट सबै साँसदहरुलाई बोलाएर हस्ताक्षर अभियान नै चलाए । संसदीय दलमा बहुमत पु¥याउन कयौं साँसदहरुलाई डर, धम्की र प्रलोभन देखाइयो । तर यति गर्दा पनि उनको पक्षमा बहुमत पुग्न सकेन । प्रधानन्यायधीस र अख्तियारका प्रमुख आयुक्तलाई राती–राती बालुवाटारमा बोलाएर प्रचण्ड र माधबलाई मनोबैज्ञानिक त्रास देखाउने प्रयास समेत भयो । ओलीकै आग्रहमा चीनका राजदुत नेताहरुको घर–घर पुगे । तर पनि कुनै परिणाम हात लागेन । पार्टीको सचिबालय, स्थायी समिति र केन्द्रीय कमिटि सबैमा अल्पमतमा रहेका ओली संसदीय दलमा समेत अल्पमतमा परेपछि एकदमै निराश र हतास मनस्थितिमा पुगेका थिए । शुक्रबारको मध्यान्हबाट भने परिस्थिति फेरिन सुरु भयो ।
बैठकको हुने शनिबारको बिहानदेखि त पार्टीको माथिल्लो निकाय सचिबालयमा पासा पल्टिएर ओली एकाएक बहुमतमा पुगे । जब कि ओलीलाई सबभन्दा ठूलो संकट नै सचिबालय थियो । प्रचण्ड–माधब समूहले बहुमतको आडमा सचिबालयबाट ओलीलाई दुई पदमध्ये एउटा छाड्न दबाब दिने रणनीतिमा थिए । यदि अटेर गरेमा प्रधानमन्त्रीबाट फिर्ता बोलाउने निर्णय गर्ने तयारीमा थिए । तत्कालै स्थायी समितिको बैठक बसालेर सचिबालयको यस्तो निर्णय अनुमोदन गराउने र परिआए तत्कालै केन्द्रीय कमिटिको बैठक आब्हान गरेर सचिबालयको उक्त निर्णय अनुमोदन गराउने यो समूहको तयारी थियो । यसले ओली गम्भीर संकटमा फस्ने थिए । उनले पार्टी बिभाजन समेत गर्न सक्ने अबस्था थिएन । किनभने संबिधान अनुसार केन्द्रीय कमिटि र संसदीय दलमा ४० प्रतिशत नपु¥याए दल बिभाजनको मान्यता पाउने थिएन ।
ओलीको केन्द्रीय कमितिमा ३० प्रतिशत मात्र शक्ति छ । यसले ओलीले एउटा पद छाड्नै पर्ने, त्यो पनि ठूलो दबाबले हुने अबस्था आउने थियो । यस्तो भयंकर संकट ओलीले तत्कालका लागि टारेका छन् । कसरी टारे त ओलीले यो संकट ? यसरी सजिलै संकट टार्ने उनीसँग ल्याकत थियो भने किन, यत्रो तयारी गरे त ? यो सबैको यतिबेलाको मूल चासो हो । यो हिन्दी फिल्मको कथाभन्दा कम रोचक छैन । नेकपाका महासचिब पौडेल ओलीपछि पूर्बएमाले समूहको नेत्तृत्व आफ्नो काँधमा ल्याउन चाहेको कुरा राजनीतिक गर्ने कसैका सामु छिपेको छैन । ओलीले आफू अब दोहोरिएर अध्यक्ष नहुने सार्बजनिक गरिसकेको र स्वास्थ्यले पनि अब उनको धेरै सक्रियतामा साथ नदिने बुझेका पौडेल नेत्तृत्व हस्तान्तरण दोस्रो पुस्तामा हुनुपर्छ भन्ने मान्यता राख्छन् । दोस्रो पुस्तामा पूर्बएमाले समूहमा उनका प्रतिश्पर्धी सचिबालय सदस्य तथा पूर्बमहासचिब ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुबास नेम्वाङ छन् । ओली र उनका असाध्यै निकट नेताहरु शंकर पोखरेल, प्रदिप ज्ञवालीलगायतको ठूलो र प्रभाबशाली समूह ओलीपछि ईश्वर भन्न थालेको ‘ओपन सेक्रेट’ जस्तै छ । ईश्वर पनि ओलीको उत्ताराधिकारी बन्न सबै सामथ्र्यको प्रयोग गरिरहेका छन् । बालुवाटार जग्गा प्रकरणमा आफूलाई बदनाम गरेर ओलीका खास मान्छेहरु आफूलाई ओलीको उत्तराधिकारीबाट रोक्ने षडयन्त्र गरिरहेको पौडेलको बुझाई छ । पछिल्लो समयमा स्वयम् ओली पनि ईश्वरप्रति बढी निर्भर र सकारात्मक हुन थालेको कुराले नेता पौडेललाई बेचैन बनाएको थियो । यही बेला सरकारले दुई अध्यायदेश ल्यायो ।
अध्यायदेश ल्याउन ईश्वरसँग छलफल गर्नु तर आफूलाई जानकारी समेत नगर्नु भनेको मप्रति ओलीको ‘इग्नोर’ नै हो भन्ने अर्थका रुपम पौडेलको बुझाई रहयो । अब ओलीलाई सबक सिकाउन पौडेलको योजना बन्यो । त्यसैले अध्यायदेशको बिषयलाई अबसरको रुपमा उपयोग गर्दै नेता पौडेलले सक्रियता देखाए । भैसेपाटी भेलाको ‘डिजाइनर’ नै पौडेल भएको बताइएको छ । आफूहरुलाई नसोधी अत्यन्तै बिबादित खालको अध्यायदेश ल्याएको र ओलीका दाहिने हात मानिने बिष्णु पौडेलको समेत साथ रहने देखेपछि माधब, प्रचण्ड र झलनाथले यही बेला ओलीको अहंकार, स्वेच्छाचारिता र दम्भ तोड्ने योजना बनाए । पौडेलले पनि उनीहरुलाई उचाल्दै गए । फलतः ओलीलाई दुबै पदबाट हटाउने निस्कर्षमा माधब र प्रचण्ड समूह पुग्यो । भैसीपाटी गठबन्धनबाट आत्तिएका ओलीले आफ्नो सम्पूर्ण सामथ्र्य प्रयोग गरेर संंकट टार्ने प्रयास गरे ।
तर उनी बिल्कुल असफल भए । ओलीका सबै औजार समाप्त हुदा पनि संकट पार नलागेपछि बिष्णु पौडेलले केपी कित्तामा प्रकट भएर ‘हिरो’को रोल निर्बाह गरे । बिष्णुले नै बामदेबलाई प्रधानमन्त्रीको प्रस्ताब गर्न ओलीलाई सझाए भने बामदेबलाई गएर ओलीको प्रस्ताब मान्न भने । बामदेब र बिष्णु पौडेलको सम्बन्ध एकै कोखबाट जन्मेका दाजुभाईको जस्तै छ । बिष्णुको प्रस्ताबलाई तुरुन्तै बामदेबले ‘ओके’ गरिदिए । यही सन्देश बिष्णुले ओलीसँग शेयर गरे । अब ओलीसँग सचिबालयमा बहुमत अर्थात ५ सदस्य हुने निश्चित भयो । सचिबालयमै गम्भीर संकटमा पर्ने भयले रन्थनिएका ओलीका लागि बिष्णुको यो भुमिका संन्जीबनी बुटि नै भइदियो ।
यसरी आफैले ओलीमाथि गम्भीर संकट थोपरिदिएका बिष्णुले आफैले त्यो संकटबाट पार लगाई दिए । यसको राजनीतिक रुपमा ठूलो अर्थ रहेको छ । आफ्नो साथ नहुदा ओलीमाथि कुन तहको संकट आइपर्छ र त्यो संकट ओली र ओली निकट सम्पूर्ण लाग्दा पनि केही हुनेवाला छैन भन्ने सन्देश बिष्णु पौडेलले प्रबाह गरे ।
उता प्रचण्डलाई पनि पूर्ब एमाले समूहमा ओलीपछिको खेलाडी मै हो भन्ने सन्देश दिन पनि पौडेल सफल भए । ओलीमाथि बिष्णु पौडेलको यो भूमिका आफै ‘बोक्सी’(यो शब्द लंंैगिक बिभेद र अन्धबिश्वासीका रुपमा नभई लाक्षणिक रुपमा प्रयोग गरिएको हो । यहाँ आफै समस्या बनाउने र आफै समाधान गर्ने भन्नेका रुपमा बुझिदिन हुन आग्रह ।) आफै ‘धामी’ को रुपमा देखियो ।