ई–आर्थिक, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले खाडी देशबाट नेपाल फर्कनुपर्ने अवस्थाका कामदारका लागि क्वारन्टीनको व्यवस्था गर्न गृहकार्य अघि बढाइएको र आगामी जेठको दोस्रो हप्ताबाट कामदार फिर्ता ल्याउन थालिने बताएका छन् । सबैभन्दा पहिला झण्डै ७ हजार कामदार कुवेतबाट ल्याउनुपर्ने अवस्था रहेको मन्त्री यादवले बताए ।
अहिले खाडी क्षेत्रमा रहेका सबै नेपाली दूतावासहरूको पहलमा रोजगारी गुमाएका वा विभिन्न सङ्कटमा परेका कारण स्वदेश फर्कन चाहेका कामदारको विवरण सङ्कलन गर्ने कार्य धमाधम भइरहेको छ । त्यससम्बन्धि विवरण संकलन गर्न यसअघि नै निर्देशन दिइसकेको पनि मन्त्री यादवको भनाई छ ।
यसअघि खाडी देशमा रहेका नेपाली राजदूतहरूले अत्यावश्यक रूपमा नेपाल फर्कनुपर्ने कामदारहरूका लागि तत्कालै क्वारन्टीनको व्यवस्था गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेका थिए ।
नेपालबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा ४० लाख कामदार बाहिर गएका छन् । अघिल्लो वर्ष वैदेशिक रोजगारीका निम्ति जानेहरू मध्ये झण्डै ९० प्रतिशत खाडी देशहरूमा गएको यसै वर्ष सार्वजनिक एउटा आँकडाले देखाएको थियो ।
कोरोनाभाइरसको सङ्कटका कारण कैयौँ देशमा विशेषगरि साना व्यवसायहरूमा कार्यरत नेपालीहरूले रोजगारी गुमाएका वा उनीहरूका सुविधा कटौती गरिएका विवरणहरू आइरहेका छन् । त्यसबारे आफू पनि जानकार रहेको उल्लेख गर्दै मन्त्री यादवले प्रत्यक्ष प्रभावित भएका व्यक्तिको तथ्याङ्क सङ्कलन गर्न निर्देशन दिएको बताए ।
कुवेतले तुरून्तै नेपाली कामदारहरूलाई लैजानुपर्यो भनिसकेको छ । त्यसका लागि आफूहरुले सम्पर्क र समन्वय गरिरहेको पनि मन्त्री यादवले जानकारी दिए । जुन–जुन देशमा हाम्रा नेपाली दाजुभाइ दिदीबहिनी फर्कनुपर्ने अवस्था छ, उहाँहरूलाई हामी जेठको दोस्रो हप्तादेखि नेपाल ल्याउने बातावरण मिलाइरहेको उनले बताए ।
कुवेतले ७ हजारदेखि ९ हजार नेपाली कामदार फिर्ता गर्न लागेको भन्दै उनले उनीहरूलाई फिर्ता ल्याउनका लागि हाल बन्द रहेका होटल तथा विद्यालयहरुलाई क्वारन्टीन केन्द्र बनाउनेबारे छलफल भएको जानकारी दिए ।
त्यसबाहेक संयुक्त अरब एमिरेट्सले पनि नेपाली कामदारहरू फिर्ता लैजान भनेको तर राष्ट्रपति विद्यादेवी भण्डारीले त्यहाँस्थित आफ्ना समकक्षीसँग कुराकानी गरेपछि उक्त विषय हाल स्थगित भएको जानकारी मन्त्रीले दिए ।
‘फर्काउँदा पनि स्वास्थ्य जाँच गरेर मात्रै फर्काउँछौँ । हामीले सम्बन्धित देशहरूलाई एकैचोटी ठूलो सङ्ख्यामा स्वास्थ्य जाँच गर्न हामीलाई पनि गाह्रो पर्छ भनेका छौँ । त्यहाँ नै स्वास्थ्य जाँच गरेर सङ्क्रमित नभएकालाई मात्रै ल्याउने वातावरण हामी बनाउँछौँ’ मन्त्री यादवले भने ।
विज्ञहरूले चाहिँ दशौँ लाखको सङ्ख्यामा खाडी देशमा नेपाली श्रमिक रहेका र उनीहरूलाई आफ्नै बलबुतामा स्वदेश फर्काउनु नेपालका लागि ठूलो चुनौती हुनसक्ने बताएका छन् ।
श्रम मामिला सम्बन्धी विज्ञ गणेश गुरूङ सबै कामदार ल्याउनुपर्यो भने नेपाल सरकारले नसक्ने बताउँछन् । उनी भन्छन्, ‘ल्याउनुपर्ने अवस्थामा विभिन्न समूहमा वर्गीकरण गरेर नल्याइ नहुने अवस्थाका कामदारहरू (जस्तै कम्पनीबाट निकालिएका र खान बस्न व्यवस्था नभएका अनि राजदूतावासले शरण दिन नसकेकाकालाई) सबैभन्दा सुरूमा ल्याउनुपर्छ । बिरामी र गर्भवतीहरूलाई पनि सुरूमा ल्याउनुपर्छ ।’
‘अरूका बारेमा रोजगारदाता कम्पनीहरूसँग नै पहलकदमी र सहकार्य गर्न सकिन्छ कि भनेर हेर्नुपर्छ । सबैलाई ल्याउने परिकल्पना अहिल्यै नै गरिहाल्नु नपरेपनि तयारी चाहिँ गर्नुपर्छ ।’
कुवेत र बाहरेनस्थित नेपाली नियोगका अधिकारीहरूले कोरोनाभाइरसका कारण सबैभन्दा बढी साना व्यवसायमा कार्यरत नेपाली श्रमिकहरू प्रभावित भएको र घर फर्कन चाहनेको सङ्ख्या सैयौँमा रहेको बताएका थिए ।
कोरोनाभाइरसको महामारीले श्रम बजारमा मनोवैज्ञानिक प्रभाव पनि पार्ने भन्दै पूर्व अर्थसचिव रामेश्वर खनालले आगामी दिनमा झण्डै १० देखि १५ प्रतिशत मानिस वैदेशिक रोजगारी त्यागेर देश फर्कन इच्छुक हुनसक्ने बताएका थिए ।
ठूलो सङ्ख्यामा श्रमिकहरू नेपाल फर्कन इच्छुक भएको अवस्थामा त्यसको व्यवस्थापन कसरी गर्ने भन्नेबारे आफूले अन्तर्राष्ट्रिय श्रम सङ्गठन सहितका निकायसँग छलफल गरिरहेको श्रममन्त्री यादव बताउँछन् ।
उनले कामदारहरूलाई उद्धार गर्नका लागि वैदेशिक रोजगार कल्याणकारी कोषमा भएको रकमको प्रयोग गर्न सकिनेबारे पनि छलफल भइरहेको उल्लेख गरे ।
वैदेशिक रोजगारीमा जाने श्रमिकबाट सङ्कलन गरिएको रकमबाट खडा भएको उक्त कोषमा अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा साढे पाँच अर्ब रुपैयाँ भन्दा बढी रकम मौज्दात रहेको थियो ।
गत साल नेपालले कामदारले पठाएका रेमिट्यान्स अर्थात विप्रेषणका रूपमा ८ खर्ब ७९ अर्ब रूपियाँ देशमा भित्र्याएको थियो । उक्त रकम नेपालको कुल गार्हस्थ उत्पादनको एक चौथाई हो ।
कोरोनाभाइरसको सङ्कटका कारण ठूलो सङ्ख्यामा कामदारहरू नेपाल फर्किनुपर्ने अवस्था आउनसक्ने भन्दै विज्ञहरूले सबैभन्दा खराब सहित सबै सम्भावित अवस्था लागि नेपाल सरकारले तयारी अघि बढाउनुपर्नेमा जोड दिएका बीबीसीले उल्लेख गरेको छ ।