२०८३ साउन ११ सोमबार

भाटभटेनी काण्ड : काष्ठमण्डप खाद्य उद्योगले भन्यो ‘हाम्रो गल्तीले भाटभटेनीमाथि कारवाही भयो’

ई आर्थिक    बुधबार, बैशाख १७ २०७७
10.2K
Shares
भाटभटेनी काण्ड : काष्ठमण्डप खाद्य उद्योगले भन्यो ‘हाम्रो गल्तीले भाटभटेनीमाथि कारवाही भयो’

ई-आर्थिक, काठमाडौं । काष्ठमण्डप खाद्य उद्योगले आफ्नो गल्तीले भाटभटेनीमाथि कारवाही भएको बताएको छ।

नेपाल सरकार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वैशाख १५ गते काठमाडौंको टंगालस्थित भाटभटेनी सुपरमार्केटलाई कारवाही गरेको थियो। सुपरमार्केटले काठमाडौंको टेकुस्थित काष्ठमण्डप खाद्य उद्योग प्रालिबाट आपूर्ति गरिएको २५० ग्रामको लाखमरी प्याकेटमा बढी मूल्य लिएको भन्दै जरिवानासहित कारवाही विभागले गरेको थियो ।

काष्ठमण्डप खाद्य उद्योगले एक विज्ञप्ती जारी गर्दै भनेको छ, ‘भाटभटेनी सुपरमार्केटमार्फत बिक्री हुने हरेक सामानमा सोको मूल्य उल्लेख हुने र भाटभटेनीले हरेक वस्तुको मूल्य पहिचानका लागि बारकोड प्रयोग गर्ने गरेको छ । हामीले सप्लाई गरेको लाखामरीमा पनि बारकोडसहित मूल्यको स्टिकर टाँसिएको छ । यस्तो बारकोड र मूल्यको स्टिकर टाँस्ने कार्य मूलतः भाटभटेनी आफैंले गर्ने गरे पनि यसपटक लकडाउनको प्रतिकूल अवस्थामा उक्त बारकोडको स्टिकर टाँस्ने जिम्मा हामीलाई दिएको थियो । लकडाउनका कारण हाम्रा अधिकांश कर्मचारी काममा आउन नसकेको र सीमित तथा बारकोडको विषयमा गहिरो जानकारी नभएका कर्मचारीबाट काम गराउँदा २५० र ५०० ग्रामको प्याकेटमा एउटै मूल्यको बारकोड स्टिकर टाँसिन गएको र सोही वस्तु अनुगमनका क्रममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकारीले फेला पारेर भाटभटेनीमाथि कारवाही भएको हो । पछिल्लोपटक यस उद्योगले २०७७ वैशाख १० गते भ्याट बिल नम्बर ८३५ मार्फत आपूर्ति गरेको ५० प्याकेट लाखमरीमा फरक स्टिकर टाँसिएको पनि प्रस्ट पार्दछौं । हाम्रो कमजोरीका कारण मुलुककै प्रतिष्ठित व्यापारिक घरानाद्वारा सञ्चालित भाटभटेनी सुपरमार्केट कारवाहीमा परेकोमा हामीलाई गहिरो दुःख लागेको छ ।’

विज्ञप्ती अनुसार २५० ग्रामको र ५०० ग्रामको लाखामरीमा फरकफरक मूल्यको बारकोड स्टिकर टाँस्नुपर्नेमा एउटै स्टिकर टाँसिएको अनुगमनमा संलग्न अधिकारीहरुले पनि प्रत्यक्ष देखेको जनाईएको छ।

विज्ञप्तीमा काष्ठमण्डप खाद्य उद्योगले भनेको छ,’यो प्रकरणलाई भाटभटेनीको कमजोरीको रुपमा नभई यस काष्ठमण्डप खाद्य उद्योगको कमजोरीको रुपमा बुझिदिन तथा यो काम गलत नियतले नभई अप्ठेरो परिस्थितिमा सीमित जनशक्तिबाट काम गरेर भए पनि बजारमा उपभोग्य वस्तुको अभाव हुन नदिने भन्ने हाम्रो असल नियतकै क्रममा मानवीय गल्तीले गर्दा हुन गएको रुपमा बुझिदिन आम उपभोक्ता, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, अन्य सरोकारवाला निकाय अनुरोध गर्दछौं ।’

काठमाडौं महानगरपालिका वडा नम्बर १२, टेकुमा रहेको काष्ठमण्डप खाद्य उद्योगले भाटभटेनी सुपरमार्केटलाई विगत १० वर्षदेखि नेवार समुदायको लोकप्रिय खानेकुरा लाखमरी, तिलको लड्डु, ऐंठे, रोट, पञ्जाफी, अनरसा लगायत सप्लाई गर्दै आएको छ । नेवार समुदायमा लोकप्रिय एवं विभिन्न अवसरमा अनिवार्य मानिने परिकार बिक्रीमा राखेर यसका उत्पादकहरुलाई सहयोग गर्दैै आएकोमा भाटभटेनी सुपरमार्केटप्रति उधोगले आभार व्यक्त समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij