२०८३ साउन १० आइतबार

गभर्नर महाप्रसादलाई शिथिल अर्थतन्त्र बचाउने महाचुनौति

ई आर्थिक    मंगलबार, चैत्र २५ २०७६
13.8K
Shares
गभर्नर महाप्रसादलाई शिथिल अर्थतन्त्र बचाउने महाचुनौति

बलिया प्रतिष्पर्धीलाई पछि पार्दै अबको पाँच वर्षको लागि राष्ट्र बैङ्कको नेत्तृत्व सम्हाल्न पुगेका गभर्नर अधिकारीका लागि यो समय भुङ्ग्रोमा हाम फालेको जस्तै छ ।

ई–आर्थिक, काठमाडौ । ०७३ सालमा डेपुटी गभर्नरको कार्यकाल पूरा गरी राष्ट्र बैंकबाट बाहिरिएका महाप्रसाद अधिकारी त्यसको तीन बर्षपछि अर्थात ०७६ साल चैत्रको अन्तिम साताबाट पुनः भित्रिएका छन्, १७ औं गभर्नरको रुपमा ।

बलिया प्रतिष्पर्धीलाई पछि पार्दै अबको पाँच वर्षको लागि राष्ट्र बैङ्कको नेत्तृत्व सम्हाल्न पुगेका गभर्नर अधिकारीका लागि यो समय भुङ्ग्रोमा हाम फालेको जस्तै छ । त्यसो त उनी यसमा मानसिकरुपमा तयार भएरै खरो प्रतिश्पर्धामा उत्रेका हुन । अर्को पनि सत्य के हो भने उनी चुनौतिको पहाडसँग कुइना ठोक्काउन सक्ने अनुभबी, दक्ष र योग्य ब्यक्ति हुन । यो उनको बिगतले प्रमाणित गरिसकेको छ । गभर्नरमा उनको नियुक्ती यस्तोबेला भएको छ, जतिबेला मुलुकको अर्थतन्त्र कोरोना भाइरस (कोबिड–१९) ले थिलथिलो बनिरहेको छ ।

अर्थतन्त्रका मुख्य संरचनाहरु शिथिल बनेर सरकारसँग राहतको आशाको नजर लगाउने अबस्थामा पुगेका छन् । सेवामुलक र उत्पादनमुलक क्षेत्र डामाडोल भएका छन् । गार्हथ्य उत्पादनमा ठूलो योगदान गर्ने रेमिट्यान्स शुन्यको स्थितिमा पुग्दै छ । बिदेशी श्रमबजारमा गएका श्रमिकको उद्धार नै जटिल बनिसकेको छ ।

मलेसिया र खाडी मुलुकबाट मात्र नभई आकर्षक श्रमबजार अष्ट्रेलिया अमेरिका र युरोपबाट नेपालीहरुले मुलुक फिर्तीको कारुणिक चित्कार गर्न थालेका छन् । मुलुकका मुख्य दातृ निकायहरु कोरोनाको संक्रमणले तहसनहसको अबस्थामा पुगेका छन् ।

मुलुकको दीगो र ठूलो जनसंखया आश्रित कृषि क्षेत्रसमेत गम्भीर रुपले प्रभाबित भएको छ । यसले निम्त्याएको बेरोजगारी कहालीलाग्दो अबस्थामा पुग्न खोज्दै छ, जसको गरिबीको ग्रफिक्सले सगरमाथा चुम्न खोज्ने छ । अहिले देखिएका यि र थप हुने निश्चित देखिएका अर्थतन्त्रका अरु जटिल समस्यालाई पार लगाउनु पर्ने छ, नबनियुक्त गभर्नर अधिकारीले ।

अहिले नै संकटउन्मुख र थप शिथिल हुनसक्ने अर्थतन्त्रलाई पुनःस्थापित गर्न र वित्तीय स्थायित्व कायम राख्न अधिकारीलाई निकै चुनौतीपूर्ण हुने निश्चित छ । आम्दानी र उत्पादनका सबै क्षेत्र ठप्प छ । मानव स्वास्थ्यसहित अर्थतन्त्रमा ठूलो क्षति पुगेको छ । यसको असर दीर्घकालीन रुपमा पर्ने छ । चालु आवमा साढे ८ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य छ । तर अब मुलुकको आर्थिक वृद्धिदर नराम्रो ढंगले खस्कने निश्चित छ ।

अर्थशास्त्रीहरुले यो अवस्था लम्बिए आर्थिक वृद्धिदर तीन/चार प्रतिशतमा खुम्चिने दाबी गरिसकेका छन् । बिश्व बैंकले पनि भर्खरै यो बर्ष बृद्धिदर ५.३ मा सीमित हुने प्रक्षेपण गरिसकेको छ । कोरोनाले गर्दा सेवा क्षेत्रसहित सरकारी खर्चमा असर परेकाले आर्थिक वृद्धिदर खुम्चिने स्वतः देखिन्छ ।

विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) लगायतले कोरोनाका कारण विश्व अर्थतन्त्रमा मन्दी देखिएले ठूलो संकट निम्तिने जनाएका छन् । कोषले कोरोनाबाट विश्व अर्थतन्त्रलाई बचाउन प्रभावित देशलाई ५० खर्ब अमेरिकी डलर सहायता दिने जनाइसकेको छ । छिमेकी मुलुक भारतले पनि एक लाख ७० हजार करोड रुपैयाँं कोरोना प्रभावित सर्वसाधारणका लागि छुट्याएको घोषणा गरेको छ । यो भनेको बाह्य सहयोगको आशा नरहेको अबस्था हो । निजी क्षेत्र हतोत्साही बनिसकेको छ । उसले मुलुकमा आर्थिक गतिविधि ठप्प भएकाले अर्थतन्त्र गम्भीर मोडमा पुगेको घोषणा गरिसकेको छ ।

जनजीवनसहित आर्थिक गतिविधि रोकिएपछि प्रत्यक्ष असर अर्थतन्त्रमा परेको भन्दै निजी क्षेत्रले राहतको प्याकेजको प्रस्ताब गरेको छ । लकडाउनले उद्योग कलकारखाना, व्यापारिक प्रतिष्ठान, सपिङ मल, डिपार्टमेन्टल स्टोर्स, बजार सबै बन्द छन् । आयात–निर्यात दुवै प्रभावित छ । औषधि पसल, फाट्फुट्ट खाद्यान्न र तरकारी पसलमात्र खुलेका छन् । औद्योगिक प्रतिष्ठान, सेवा क्षेत्र, वैदेशिक रोजगारी, निर्माण क्षेत्रमा लाखौंको रोजगारी प्रभावित भएको छ । होटल, रेस्टुरेन्ट, यातायात, पर्यटनसहित केही व्यापारिक प्रतिष्ठानले कर्मचारीलाई बेतलबी बिदा दिएका छन् ।

दैनिक ज्यालादारीमा काम गर्नेमात्र नभएर वैदेशिक रोजगारीमा गएका समेत प्रभावित भएका छन् । स्वदेशी तथा विदेशी नयाँ लगानी रोकिएको छ । अत्यावश्यक सेवामा पर्ने बैंक तथा वित्तीय संस्थाले निश्चित समय तोकेर केही काउन्टर खोले पनि कारोबार रोकेका छन् । सेयर कारोबार भएकोे छैन । अत्यावश्यक सेवामा काम गर्नेबाहेक अरु सबै घरभित्र बस्न बाध्य हुँदा आर्थिक चक्र प्रभावित भएको छ । कुनै वस्तुको उत्पादनले बजारलाई चलायमान बनाएको हुन्छ ।

मुलुकको जिडिपी करिब ३५ खर्ब रुपैयाँको छ । यसरी हेर्दा एकदिन सबै आर्थिक गतिविधि ठप्प हुँदा करिब साढे नौ अर्ब रुपैयाँको क्षति हुने अनुमान गरिन्छ । मुलुकको जिडिपीमा ७३ प्रतिशत हिस्सा गैरकृषि क्षेत्रको छ । अहिले रेमिटेन्ससहितका ती सबै क्षेत्रमा असर परेको छ । मुलुकको अर्थतन्त्रमा ठूलो योगदान पु¥याउने वैदेशिक रोजगारी गुम्दा रेमिटेन्स घटेको छ । कोरोना संकट लम्बिँदै गए आगामी दिनमा रेमिटेन्स अझै घट्नेछ ।

रोजगारीका गन्तव्य जापान, युरोप, अमेरिका, दक्षिण कोरियासहित खाडी मुलुकमा कोरोनाको संक्रमण फैलिएपछि नेपालीले आकर्षक बैदेशिक रोजगारी गुमाएका छन् । भारतमा कामका लागि गएका हजारौं नेपाली पनि घर फर्किएका छन् । रेमिटेन्स घटेपछि आश्रित परिवारको खर्च गर्ने क्षमतामा ह्रास आउँछ । यस्तो समयमा सरकारले अधिकारीलाई छानेर सही निर्णय गरेको अर्थशास्त्री डा. चन्द्रमणि अधिकारीको भनाई छ । अर्थशास्त्री अधिकारीका अनुसार नबनियुक्त गभर्नरले नेपाल राष्ट्र बैंकमा ३० वर्ष काम गरेको अनुभव भएकाले उनलाई बर्तमान समस्या र आउन सक्ने थप जटिलता पार लगान सजिलो हुने छ ।

पूर्बगभर्नर दीपेन्द्र बहादुर क्षेत्री पनि गभर्नर चयनमा सरकारले ध्यान पु¥याएको धारणा राख्छन् । उनी सहायक स्तरबाट राष्ट्र बैंकमा प्रबेश गरेर डेपुटी गभर्नरबाट सेवा निबृत भएकाले संस्थागत सहयोग जुटाउन र अनुभबका आधारमा अरुभन्दा उनी नै उपयुक्त र काबिल ब्यक्ति भएको उनको भनाई छ ।

अर्थमन्त्री युवराज खतिवडाले मुलुकमा निम्तन सक्ने आर्थिक जोखिमलाई ध्यानमा राखेर नै गभर्नर चयन गरेको बताएका छन् । हुन पनि अर्थमन्त्री खतिवडा गभर्नर हुदा अधिकारी डेपुटी भएर मुख्य सारथी बनेका थिए । त्यतिबेला गभर्नर खतिवडाले उनलाई बैंक तथा वित्तिय संस्थाको स्थायित्वका लागि नियमन र सुपरिवेक्षणको जिम्मेवारी दिएका थिए । राष्ट्र बैकमा यो जिम्मेवारी निकै चुनौतिपूर्ण मानिन्छ । गभर्नरको कार्यसफलता र असफलता यसैसँग सम्बन्धित रहन्छ । अधिकारीले यो जिम्मेवारीलाई कुशलतापूर्बक निर्बाह गरेर गभर्नर खतिवडालाई सफलताको शिखर चुमाएका थिए ।

उनले महँगो ब्याजमा आउने वैदेशिक ऋण नियन्त्रण गर्नेदेखि बैंक तथा वित्तिय संस्थामा जोखिममा आधारित सुपरिवेक्षण लागू गराउने तथा वित्तिय संस्थाहरुको पुँजी वृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । अधिकारीको यो क्षमताबाट अत्यन्तै प्रभाबित अर्थमन्त्री खतिवडाले राष्ट्र बैंकको नेत्तृत्व सुम्पेर अधिकारीलाई संकटको बेला पुनः आफ्नो सारथी बनाएका छन् ।

राष्ट्र बैंकमा हुदा जमेको यो जोडी शिथिल अर्थतन्त्रलाई बचाउन कतिको सफल हुन्छ भन्ने हेर्न चाहि केही समय कुर्नुपर्छ । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा तीन बर्षभन्दा लामो समय काम गरेकाले अहिले हतोत्साही बनेको निजी क्षेत्रको मनोबल उकास्न पनि अधिकारी उपयुक्त पात्र हुनेछन् । किनभने उनीसँग नियामक र निजी क्षेत्रको सहजकर्ताका दुवै थरी अनुभवको छ । खोटाङको सिमपानीमा विसं. ०२० सालमा जन्मिएका अधिकारी वि.सं. ०४२ सालमा राष्ट्र बैंकमा सहायक स्तरको पदबाट राष्ट्र बैंकमा सरकारी सेवाको सुरुवात गरेका थिए । वि.सं. ०५१ सालमा राष्ट्र बैंकको उप निर्देशक पदमा स्तरोन्नती भएका उनी ०५६ मा निर्देशक पदमा बढुवा भएका थिए ।

निर्देशकमा नौ वर्ष ६ महिना बिताएर उनी ०६५ सालमा कार्यकारी निर्देशकमा बढुवा भएका थिए । कार्यकारी निर्देशकमा बढुवा भएको दुई वर्ष तीन महिनामा अर्थात् ०६७ सालमा सरकारले उनलाई राष्ट्र बैंकको डेपुटी गभर्नर पदमा नियुक्त गरेको थियो । उनी ०७३ सालमा राष्ट्र बैंकबाट बाहिरिएका थिए । अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट २०४६ सालमा व्यवस्थापन संकायमा स्नातकसम्मको अध्ययन पूरा गरेका छन् भने इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट अफ इण्डियाबाट चार्टर्ड एकाउन्टेट (सीए) गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij