ई–आर्थिक, काठमाडौं । कोरोनाभाइरस कोभिड–१९ को संक्रमण र त्यसको त्रासले यतिखेर विश्व संकटमा छ । लकडाउन गरेर बसेको नेपाल पनि यसबाट अछुतो हुने कुरै आएन । काम दाम छाडेर क्वारेन्टीनमा बसेर अहिले आम नेपालीले संकटको सामान गरिरहेका छन् । महासमस्याको यो घडीमा एक आपसमा सदभाव र सहयोग बाँड्ने काम पनि भइरहेका छन् । यसै क्रममा धनुषा जिल्ला जनकपुरका स्थानीय रबिन्द्रकुमार मण्डल दम्पतिले १ महिनाको घरभाडा मिनाहा गरेका छन् । निर्माण व्यवसायी मण्डलले काठमाडौंको नरेफाँटमा रहेको आफ्नो घर भाडामा बस्नेहरुको भाडा मिनाह गरेका हुन ।

मण्डलले ६ परिवार बस्दै आएको उक्त परिवारलाई घरभाडा वापत १ लाख रुपैयाँ बरावर योगदान गरेका छन् ।
‘सरकारले घरभाडा छुट गर्न गरेको आव्हान समेतलाई मध्येनजर गरेर आफूले पनि घरभाडा छुट गरेको हुँ ।’ व्यवसायी मण्डलले भने– ‘यो संकटमा सरकारकोे उक्त आव्हानलाई कदर गर्न र भाडा छुटमा उदारता देखाउन म आम घरबेटीहरुलाई आग्रह पनि गर्दछु ।’
संकटको यो घडिमा आफूले सकेको सहयोग र सदभाव बाड्नु आप्mनो कर्तव्य भएको दाता मण्डलले बताए । आफ्नो यो सानो सहयोगले संकटको सामाना गरिरहेका ६ परिवारलाई केही मात्र भएपनि राहत महसुस भएको उनले विश्वास लिएका छन् ।
व्यवसायी वाइबाद्वारा ‘घरभाडा तिरिदिने’ नयाँ अभियानको सुरूवात

यतिवेला केही घरधनीले घरभाडा मिनाहा गर्दै आएका छन् । केहीले भने ‘घरभाडा तिरिदिने’ अभियान थालेका छन् । घरभाडा मिनाहको प्रसंग आइरहेको बेला अर्का निर्माण व्यवसायी चन्द्रकुमार वाइबाले भने ‘घरभाडा तिर्न’ योगदान गरेका छन् । सञ्चारकर्मी रोशन राउतलाई घरभाडा तिर्न भन्दै व्यवसायी वाइबाले २० हजार योगदान गरेका हुन् । बजार पत्रिकाका प्रकाशक समेत रहेका ई–आर्थिक डटकम अनलाइन पत्रिकाका अध्यक्ष तथा प्रधान सम्पादक राउतलाई उनले उक्त सहयोग गरेका हुन् ।
नयाँ बर्षको पूर्वसन्ध्यामा आइरपरेको यो संकटमा सञ्चारकर्मीहरू सबैभन्दा बढी मर्माहत भएकाले आफूले उक्त सहयोग गरेको वाइबाले बताए ।
‘राष्ट्र र समाजसेवामा अहोरात्र खटिरहने राष्ट्रका चौथो अंगलाई सहयोग गर्नु हाम्रो कर्तव्य पनि हो ।’ उनले भने– ‘हामीहरू क्वारेन्टीनमा घरभित्र बसिरहेका छौं तर, सञ्चारकर्मीहरू जोखिम मोलेरै भएपनि यस्तो महासंकटमा समाचार सम्प्रेषण गरी हामीलाई सुसुचित गर्ने काम गरिरहेका छन् । यस्तो बेला अहोरात्र खटिरहेने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सँगै सञ्चारकर्मीलाई सहयोग गर्नु आप्mनो दायित्व सम्झेर सहयोग गरेको हुँ ।’
सरकारले आव्हान गरेको घरभाडा छुट गर्न आफू उत्साहित भएपनि आप्mनो घर भाडामा बस्ने कोही नभएकाले ‘घरभाडा तिर्न’ सहयोग गरेको उनले बताए । यो नयाँ अभियान पनि भएकाले यसले भाइचारा र सदभाव बढाउन उनले विश्वास लिए । यसलाई व्यापक बनाउन उनले सक्षम दाताहरुलाई आग्रह समेत गरे । घरभाडा छुट दिने दाताहरु भेटिए पनि घरभाडा तिरिदिने दाताहरुमा भने वाइबा संभवत पहिला हुन् । आफ्नो सानो सहयोगले सञ्चारकर्मीलाई केही मात्र भएपनि राहत मिलेको उनको विश्वास छ ।
संकटको यो घडीमा घर भाडा छुट दिने अभियान नयाँ रहेन तर व्यसायी वाइबाले ‘घरभाडा तिरिदिने’ नयाँ अभियानको थालनी गरिदिनु भएकाले आफूले उक्त सहयोग रकम स्वीकार गरेका सञ्चारकर्मी राउतले बताए । ‘रकम सानो ठूलो भएन उहाँको यो नयाँ अभियान स्वागतयोग्य र उदाहरणीय छ’ सञ्चारकर्मी राउतले भने– ‘यो उदाहरणीय अभियानले गति लिए पिडामा रहेका सम्बन्धित सरोकारवालाहरुले केही राहत महसुस गर्न सक्छन् ।’
दाता दुबै व्यवसायी समाजसेवी समेत हुन । उनीहरुले यसअघि पनि थुप्रै समाजसेवाका काममा योगदान गर्दै आएको बताएका छन् । संकट परेको बेला एकले अर्कोलाई सहयोग गरेर सच्चा मानवता प्रदर्शनमा हामी सबैको उदारता हुनुपर्ने उनीहरुले बताए ।
जे जसरी हुन्छ संकटको यो घडीमा विभिन्न माध्यमबाट जो कोहीलाई पनि सहयोग गर्ने सहयोगी मनहरुले आफ्नो उदारता प्रदर्शन गरिरहेका छन् । ती सहयोगी हातहरुलाई हामी सबैको सलाम छ । यी सहयोगी हात सरोकारबालाको लागि मात्रै हैन । आम नेपालीका प्रेरणाका स्रोत हुन भन्दा अत्यायुक्ति नहोला ।