ई–आर्थिक, काठमाडौं । ग्लोबल आइएमई बैंकले कोभिड–१९ विरुद्ध लड्न रु एक करोड योगदान गर्ने निर्णय गरेको छ । नेपाल सरकारले घोषणा गरेको ‘कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा उक्त सहयोग गरेको हो । सोही प्रयोजनका लागि बैंकले कान्तिपुर पब्लिकेसनद्वारा स्थापित ‘कान्तिपुर कोभिड–१९ रोकथाम कोष’ मार्फत रु १५ लाख आर्थिक सहयोगसमेत उपलब्ध गराउने निर्णय गरेकोे बैंकले जानकारी दिएको छ ।
कोभिड–१९ले आम विश्वसमुदायलाई त्रसित बनाइरहेको र नेपाल पनि उच्च जोखिममा रहेको अवस्थामा यस योगदानबाट कोभिड–१९ भाइरसविरुद्ध लड्न थप प्रेरणा र सहयोग हुने विश्वास बैंकले प्रेस विज्ञप्तीमा उल्लेख छ ।
बैंकले स्थापनाकालदेखि नै दैवी तथा अन्य विपत्तिको अवस्थामा आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यमा सहयोग गर्दै आएको छ । यस्ता कार्यलाई आगामी दिनमा समेत निरन्तरता दिँदै जाने बताएको छ ।