ई आर्थिक, काठमाडौं। स्वावलम्बन लघुवित्त वित्तीय संस्था शाखा कार्यालय सिरहाले ग्राहक सदस्य तथा न्यून आय भएका स्थानीय दलित समुदायका छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गरेको छ।
शाखा कार्यालयबाट सिरहा नगरपालिका-६ बसविट्टास्थित आधारभूत विद्यालयका एकसय जना न्यून आय भएका स्थानीय दलित समुदायका छात्रछात्रालाई झोला, कापी र कलम वितरण गरिएको हो। कार्यक्रममा सिरहा नगरपालिका वडा नम्बर ६ का अध्यक्ष विजयकुमार यादवले वित्तीय संस्थाले सामुदायिक विद्यालयमा अध्ययनरत न्यून आय भएको दलित छात्रछात्रालाई विभिन्न शैक्षिक सामग्री वितरण गरेकोमा आभार व्यक्त गरे। वित्तीय संस्थाले विपन्न महिलाहरूलाई कर्जा तथा बचतको माध्यमबाट आर्थिक उन्नतिमा टेवा पुर्याएको बताए।
इलाका कार्यालय लहानका प्रबन्धक मेघबहादुर खड्काले वित्तीय संस्थाको ऐतिहासिक पृष्ठभूमि र हाल पुर्याइरहेको सेवाका सम्बन्धमा आफ्नो मन्तव्य राखे। उनले वित्तीय संस्थाले विभिन्न स्थानमा यस प्रकारको सहयोग गर्दै स्थानीय विपन्न वर्गको शैक्षिक स्थितिमा सुधार ल्याउन कृयाशील रहेको बताए।
शाखा कार्यालय सिरहाका कार्यालय प्रमुख जयप्रकाश निरालाले शाखा कार्यालयबाट प्रवाह भएको सेवा बढी भन्दा बढी प्रभावकारी बनाउन सबैको सहयोग आवश्यक पर्ने बताए। उनलले सहभागी सबैलाई धन्यवाद दिँदै बालबालिकाको उज्वल भविष्यको कामना गरे।
राष्ट्रिय स्तरको कार्यक्षेत्र रहको स्वावलम्बन लघुवित्तले हाल ६१ जिल्लामा रहेका १४० वटा शाखा कार्यालय मार्फत २ लाख ४९ हजार सदस्यलाई सेवा प्रदान गर्दै आएको छ । संस्थाको अधिकृत पुँजी रु.१ अर्ब रहेको छ ।