ई आर्थिक, एजेन्सी। कोरोना भाइरस महामारीको प्रकोप नराम्ररी झेलिरहेको यूरोपका तीन राष्ट्रले संक्रमणबाट एकैदिनमा सबैभन्दा बढी मृत्युको सामना गरेको छ । यूरोपका इटाली, फ्रान्स र स्पैन कोरोना भाइरसको उच्च जोखिममा रहेको छ ।
बीबीसीका अनुसार विश्वमा कोरोना भाइरस संक्रमणको पुष्टि भएका बिरामीको संख्या एक लाख ६८ हजार १३४ पुगेको छ । जसमध्ये चीनमा ८१ हजार ७१ जनामा उक्त संक्रमणको पुष्टि भएको छ । संक्रमणबाट करिब छ हजार ४८० जनाको मृत्यु भएको छ । जसमध्ये चीनमा मात्रै तीन हजार २१८ जना रहेका छन् ।
सर्वाधिक सङ्क्रमण इटलीमा भेटिएको छ। इटालीमा एकैदिनमा शनिबार ३६८ जनाको मृत्यु भएको छ । इटालीमा २४ हजार ७४७ जना कोरोना संक्रमण मध्य मृत्यु हुनेको संख्या एक हजार ८०९ पुगेको छ । इटालीको लोम्बार्डीमा मात्रै एक हजार दुईसय १८ जनाको मृत्यु भएको छ । इटाली सरकारले गत् साता ‘मुभमेन्ट’मा पूर्ण प्रतिबन्ध नै लगायो ।
स्पैनमा शनिबार ९७ जनाको मृत्यु भएसँगै कोरोना भाइरसको संक्रमणले मृतकको संख्या २९२ पुर्याएको छ । स्पैनमा संक्रमितको संख्या सात हजार ८४४ पुगेको बीबीसीले उल्लेख गरेको छ ।
फ्रान्समा २९ जनाको मृत्यु हुँदा हालसम्म १२० जनाले कोरोनाबाट संक्रमित भई मृत्यु भएको जनाइएको छ । फ्रान्समा पाँच हजार चारसय जनामा संक्रमणको पुष्टि भएको छ ।
यूकेमा पनि एकै दिनमा ज्यान गुमाउने बिरामीको सङ्ख्या सर्वाधिक पुगेको छ। आइतवार १४ जनाको मृत्यु भएपछि मृतकको सङ्ख्या ३५ पुगेको छ।
महामारी नियन्त्रण गर्ने प्रयासस्वरूप युरोपका देशहरूले नागरिकहरूको हिँडडुलमा प्रतिबन्ध लगाएका छन् तथा सीमामा कडाइ गरेका छन्।जर्मनीले सोमवार बिहानदेखि फ्रान्स, स्विट्जरल्यान्ड, अस्ट्रिया, डेनमार्क र लक्सम्बर्गसँगको सीमामा नियन्त्रण गर्न लागेको छ। पोर्चुगलले पनि स्पेनसँगको सीमा बन्द गर्दैछ। अष्ट्रियाले पाँचजनाभन्दा बढी व्यक्ति जमा नहुने गरी सोमबारबाट प्रतिबन्ध लगाउँदैछ ।
स्वीटजरल्याण्डमा एकैदिनमा आठसय नयाँ संक्रमित थपिदा कोरोना भाइरस संक्रमणको पुष्टि भएका बिरामीको संख्या दुई हजार दुईसय पुगेको छ । स्वीटजरल्याण्डमा १४ जनाको मृत्यु भएको छ ।
अमेरिकामा ६२ मृत्यु
विश्व स्वास्थ्य संगठनका अनुसार अमेरिकामा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ६२ पुगेको छ । तीन हजार दुईसय ४४ जनामा संक्रमणको पुष्टि भएको छ ।