कोरोना प्रकोपको असर
दोहा । कारोना भाइरसको संक्रमणबाट बच्न कतार सरकारले नेपालसहित १४ देशका नागरिकलाई कतार प्रवेशमा रोक लगाएको छ । कोरोना संक्रमणको प्रकोपलाई फैलन नदिन भन्दै कतार सरकारले १४ देशका नागरिकालाई प्रवेश निषेध गरेको जनाएको छ ।
महामारीको रुप लिन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपालसहित १४ देशका नागरिकलाई कतार प्रवेश गर्न रोक लगाएको छ । कतार सरकारले भारत, चीन,इजिप्ट, इरान, इराक, लेबनान, बंगलादेश, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डका नागरिकलाई प्रवेशमा रोक लगाएको हो । तर यो रोक अस्थायी हुने कतार सरकारले जानकारी दिएको छ ।
कतार सरकारको यो नयाँ व्यवस्था मार्च ९ तारिख सोमबारदेखि लागुू हुने जनाएको छ । आइतबार बेलुका सम्ममा कतारमा जम्मा १५ जनामा यो भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये ३ जना आप्रावासी कामदार रहेको बताइएको छ । उनीहरुको राष्ट्रियताबारे भने खुलाइएको छैन ।
कतार सरकारको यो निर्णयसँगै नेपालको बैदेशिक रोजगार क्षेत्र र रेमिटान्सलाई समेत असर पर्ने निश्चित भएको छ । कतारमा ठूलो संख्यामा नेपाली कामदार जाने गरेका थिए ।