ई–आर्थिक, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले आफ्नो प्रथम वार्षिक उत्सवको अवसरमा नेपाल बाल संगठन (बाल मन्दिर) लाई सहयोग गरेको छ।
नेपाल राष्ट्र बैकबाट राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा कार्य गर्न मान्यता प्राप्त इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले औपचारिक कारोबार सुरुवात गरेको एक वर्ष पुरा भएको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाल मन्दिरलाई एक लाख पचासहजार आर्थिक सहयोग गरेको हो ।
उक्त अवसरमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेले नेपाल बाल संगठनका महासचीव गणेश भक्त श्रेष्ठलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
बैंकले ०७५ माघ २८ गते पूर्वाधार विकास बैंकका रुपमा मान्यता पाप्त गरी ०७५ फागुन २२ गतेदेखि आफ्नो बैंकिङ्ग औपचारिक कारोबार शुभारम्भ गरेको थियो । बैंकको रजिष्टर्ड कार्यालय काठमाडौं महानगरपालिका १० नयाँ बानेश्वरमा रहेको छ ।
बैैंकको हाल अधिकृत पूँजी रु.४० अर्व, जारी पूँजी रु.२० अर्व र चुक्ता पूँजी रु.१२ अर्व रहेको छ । बैंकले निकट भविष्यमा सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात चुक्ता पूँजी रु.२० अर्व पुग्नेछ ।
जलविद्युत, सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार क्षेत्रका उपयुक्त परियोजनाहरुमा श्रोत लगानी गर्ने मुल उद्देश्य लिई स्थापना भएको बैंकले मुलुक भित्र तथा मुलुक बाहिरबाट दीर्घकालिन श्रोत संकलन गरी त्यस प्रकारका परियोजनाहरुलाई आवश्यक पर्ने श्रोत उपलब्ध गराउने लक्ष्य लिएको छ ।