ई–आर्थिक, काठमाडौं । बीमा दाबी सम्बन्धि चौतर्फी गुनासो आउन थालेपछि दावी भुक्तानीमा सहज बनाउन बीमा समितिले नयाँ व्यवस्था जारी गरेको छ । बीमा कम्पनीहरुले अनावश्यक झमेला गरेको गुनासो गरेसँगै बीमा समितिले कडाइ प्रावधान ल्याएको हो । समितिले बीमा दावी भुक्तानी मार्गदर्शन–२०७६ मार्फत यस्तो कडाई गरेको हो ।
मार्गदर्शन अनुसार अब जीवन बीमा कम्पनीहरूले १५ दिनभित्र र निर्जीवन बीमा कम्पनीहरुले ३६ दिनभित्र दावी भुक्तानी दिनुपर्ने समय सीमा तोकेको छ । जीवन बीमा कम्पनीले बीमा लेख परिपक्क भएको १५ दिनभित्र भुक्तानी लिन आउन सार्वजनिक सूचना जारी गर्नपर्छ । तर बीमा लेख परिपक्क हुनुअघि नै बिमकको मृत्यु भएमा भने आवश्यक कागजात प्राप्त भएको १५ दिनभित्र दावी भुक्तानी दिइसक्नुपर्नेछ ।
यसैगरी निर्जीवन बीमा कम्पनीहरुले पनि दावीका लागि निवेदन पेश भएको ३६ दिनभित्र भुक्तानी दिइसक्नुपर्ने प्रावधान ल्याएको छ । निवेदन प्राप्त भएपछि सर्भेयरले १५ दिनभित्र रिपोर्ट दिनुपर्ने र त्यसको २१ दिनभित्र बिमितलाई भुक्तानी दिनुपर्ने व्यवस्था गरिएको छ ।
त्यसैगरी कम्पनीले क्षतिको अन्तिम मुल्याकन नहुँदै अनुमानित दायित्वको बढीमा एक तिहाई रकम आंशिक भुक्तानी दिन सक्ने व्यवस्था समेत गरिएको छ ।
दावी भुक्तानीलाई व्यवस्थित बनाउन कम्पनीहरुले दावी भुक्तानी विभाग र उपसमिति गठन गर्नुपर्ने, यसको विवरण राख्नुपर्ने, दावी भुक्तानी सम्बन्धी कार्यविधि बनाइ लागू गर्नेपर्ने, आवश्यक काजजातको विवरण सुचना पाटी र वेवसाईटमार्फत सार्वजनिक गर्नुपर्ने र प्रत्येक महिना समाप्त भएको १५ दिनभित्र समितिलाई दावी भुक्तानीसम्बन्धी विवरण उपलब्ध गराउनुपर्ने व्यवस्था समेत मार्गदर्शनमा उल्लेख गरिएको छ।
मार्गदर्शन अनुसार कम्पनीहरुले भुक्तानी नदिएमा विमितले समितिमा उजुरी गर्न सक्नेछन् । उजुरीका आधारमा समितिले बीमा उपलब्ध गराउन आवश्यक कानुनी पहलका साथै कारवाही समेत हुने जानकारी दिएको छ ।
बीमा दावी भुक्तानी सम्बन्धि नयाँ व्यवस्थाले यसमा देखिएको समस्या समाधान हुने विश्वास समितिको रहेको छ ।