२०८३ साउन ११ सोमबार

चीन पछि कोरोना भाइरस बढी भएको मुलुकमा दक्षिण कोरिया, कोरियालीलाई ५२ देशमा प्रवेश निषेध

ई आर्थिक    शनिबार, फाल्गुन १७ २०७६
3.7K
Shares
चीन पछि कोरोना भाइरस बढी भएको मुलुकमा दक्षिण कोरिया, कोरियालीलाई ५२ देशमा प्रवेश निषेध

सौल । कोरोना भाइरसले दक्षिण कोरियालाई ‘अस्तव्यस्त’ पार्न थालेको छ । चीन पछि दोस्रो बढी संक्रमण भएको मुलुक बनेको दक्षिण कोरिया बढी प्रभावित भएको छ । कोरियाको स्वास्थ मन्त्रालयको सरुवा रोग नियन्त्रण केन्द्रका अनुसार शुक्रबार बेलुका सम्ममा २ हजार ३ सय ३७ जनामा कोरोनाको संक्रमण भएको पुष्टि भएको छ । त्यस्तै १३ जनाले ज्यान गुमाएका कोरियाको सरुवा रोग नियन्त्रण केन्द्रले जानकारी दिएका छन् ।

कोरोनाको जस्तै लक्षण देखा परेका शंकास्पद २५ हजार ५ सय ६८ जनाको विशेष निगरानीमा परीक्षण तथा उपचार हुँदैछ । सरुवा रोग नियन्त्रण केन्द्रका अनुसार संक्रमित भएका २७ जना उपचारपछि सामान्य अवस्थामा फर्केर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

गएको सोमबारसम्म ८ सय ३३ जनामा यसको संकमण देखिएको थियो । मंगलबार संक्रमितको संख्या बढेर ९ सय ७७ पुगेको थियो । यसैगरी बुधबारसम्ममा १२ सय ६१ जनामा संक्रमण देखिएको थियो । तर, विहिवार एकैदिन ५ सय ५ जना बढेर १७ सय ६६ पुगेको थियो । शुक्रबार बिहान सम्म आइपुग्दा २ सय ५६ जना बढेर संक्रमितको संख्या २ हजार २२ पुगेको थियो। शुक्रबार बेलुका सम्ममा फेरि ३ सय १५ जना बढेर संक्रमितको संख्या २ हजार ३ सय ३७ पुगेको हो । संक्रमितको संख्या अझै बढ्ने आशंका गरिएको छ।

संक्रमित मध्ये ८० प्रतिशत थेगु आसपासका मानिसहरु रहेका छन् । संक्रमणले उग्ररुप लिन थालेपछि कोरियाकोसरुवा रोग नियन्त्रण विभागले हाइअलर्ट जारी गरेको छ । कोरियाली नागरिकलाई ५२ देशले तत्कालका लागि आफ्नो देशमा भम्रणको लागि रोक लगाएका छन् । यहाँको सरकारले आगामी मार्च ८ तारिखसम्मका लागि स्कुल तथा कलेजहरु पूर्ण रुपमा निषेध गरेको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाका सचिव मनोज गौतमका अनुसार हालसम्म कुनै पनि नेपालीमा यसको संक्रमण देखिएको छैन । तर, अधिकांश नेपालीहरु रहेको थेगु क्षेत्रमै धेरै संक्रमण देखिएका कारण उनीहरु तनावपूर्ण अवस्थामा काम गरिरहेका छन् । ‘हालसम्म कोही पनि नेपाली संक्रमित भएका छैनन् । हामी नेपालीको सहायताको लागि २४ घण्टा तैनाथ छौँ, उनले भने ‘नेपालीहरुमा डर र त्रास निकै छ । केही कम्पनीले काम रोके पनि धेरै जसो कम्पनीले काम गराइ राखेका छन् । नेपालीहरु तनावपूर्ण स्थितिमा काम गरिराखेका छन् ।’

एनआरएनएले सौलस्थित नेपाली दूतावास तथा सरुवा रोग नियन्त्रण केन्द्रको समन्वयमा त्यहाँ रहेका नेपालीहरुमा भाइरसबाट बच्न सचेतना फैलाइरहेको गौतमले बताए । ‘एउटा टिम नै बनाएर विभिन्न माध्यमबाट २४ घण्टा खटिएका छौँ । यो टिमले भाइरसबाट बच्न सजग गराउनुका साथै समस्या परेको खण्डमा आवश्यक सहयोग गर्छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij