ई–आर्थिक, काठमाडौं । यतिबेला अर्थमन्त्री डा. युबराज खतिवडाको अबस्था रामकृष्ण ढकालको ‘ओराली लागेको हरिणको चाल भो’ भन्ने गीतजस्तै भएको छ । पुँजीगत खर्चको नाजुक अबस्था, राजश्व, आर्थिक बृद्धि, महंगी नियन्त्रणजस्ता बजेटका प्रमुख लक्ष्यले नराम्रोसँग हावा खाएपछि प्रधानमन्त्रीदेखि लिएर सर्बसाधारणले समेत उनको आलोचना गरिरहेका छन् । त्यसैले उनको ओज दिनहुँ खस्कँदो छ ।
कसैलाई नगन्ने र नसुन्ने उनी आजकाल दिनहुँजसो सरोकारवालासँग बस्न र उनीहरुको आलोचना सुन्न अभिसप्त छन् । यही क्रममा सोमबार बिभिन्न २७ बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुसँग उनको छलफल भयो । यसक्रममा सीईओहरुले डा. खतिवडाको नीतिको कुटनीतिकरुपले खिल्लि उडाएनन् मात्र, यही गतिमा चल्ने हो भने मुलुकको अर्थतन्त्र चौपट हुने र त्यसको कारक अर्थमन्त्री हुनुपर्ने चेतावानी पनि दिए । अरुबेला सिंहजस्तो गरी गर्जने अर्थमन्त्री आजको छलफल कार्यक्रममा मुसोजस्तो बनेका थिए । उनले सबै २७ सीईओका बेलिबिस्तार सुनेर बस्न बाध्य हुनुप¥यो । बोल्ने क्रममा सीईओहरुले अर्थमन्त्रीलाई पालैपालो गरी राम्रोसँग दनक दिएको सहभागी एक सीईओले बताए ।
छलफलका क्रममा बैंकरहरुले सामाजिक सुरक्षा योजना, निक्षेप तथा कर्जाको ब्याजदरबीचको अन्तर (स्प्रेड रेट) तथा कर्जा लगानी गर्दा करचुक्ताको प्रमाणपत्र अनिवार्य गर्नेजस्ता नीतिको दहे आलोचना गरेका थिए । यसपछि सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक र नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बोलेका थिए ।
सबैका कुरा सुनेपछि अर्थमन्त्रीले लचक हुदै बैंकरहरुका सुझाब र समस्याप्रति आफू संबेदनशील भएको बताए । त्यसपछि उनले समिति निर्माणको घोषणा गरे । बैंकहरुका मागका विषयमा अध्ययन गर्न भन्दै उनले ३ सदस्यीय कार्यदल गठन गरे । जसमा अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख (सहसचिव) को संयोजकत्वमा राष्ट्र बैंकका एक प्रतिनिधि र बैंकर्स संघका अध्यक्ष रहने छन् । उक्त कार्यदलको प्रतिवेदन आएपछि आवश्यक निर्णय गर्न राष्ट्र बैंकलाई अर्थमन्त्रीले निर्देशन दिए ।
त्यस अबसरमा संघले बैकिङ क्षेत्रमा देखिएको समस्या समाधानका लागि बनाइएका तीन उपसमितिलाई पनि मान्यता दिइयो । उपसमितिमा ब्याजदर र बैंकको नाफाको अध्ययन गर्न कृषि विकास बैंकका सीईओ अनिलकुमार उपाध्यायको नेतृत्वमा एनआईसी एशिया बैंकका सीईओ रोशन न्यौपाने, स्टाण्डर्ड चाडर्ड बैंकका प्रमुख वित्त अधिकृत सुरज लामिछाने र नविल बैंककी प्रमुख वित्त अधिकृत अञ्जुली श्रेष्ठ रहेको समिति बनेको थियो ।
उपसमिति बनाउने क्रममा कानूनी विषयमा देखिएका समस्याबारे अध्ययन गर्न राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठको नेतृत्वमा सनराइज बैंकका प्रमुख कार्यकारी जनक शर्मा पौडेल, पूर्ब बैंकर कुमार लम्साल सदस्य रहेको समिति बनेको छ ।
संघले विकास बैंकका सीईओहरुको छाता संस्था डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष गोविन्द ढकाललाई समेत राखेको छ । संघले उपाध्यक्ष अनुकुल भाटनगरको संयोजकत्वमा अन्तर्राष्ट्रिय बैंकिङ संरचना लगायतका विषयमा अध्ययन गर्न समिति बनाएको थियो । यस समितिमा सिभिल बैंकका सीईओ गोविन्द गुरुङ र नेपाल बैंकका सीईओ कृष्ण अधिकारी सदस्य रहेका छन् भने संघका कार्यकारी निर्देशक अनिल शर्मालाई सदस्य सचिव तोकिएको छ ।
छलफलमा राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठ, राष्ट्र बैंककै अनुसन्धान विभागका प्रमुख डा. गुणाकरण भट्ट लगायतको सहभागी थियो । त्यसक्रममा डेपुटी गभर्नर सिवाकोटीले बैंकर्स संघले उठाएका मागहरुका विषयमा राष्ट्र बैंकले अध्ययन गरिरहेको बताए । तर केहि मागहरु तत्कालै पुरा गर्न नसकिने अवस्थामा रहेको उनले बताए ।