ई–आर्थिक, काठमाडौँ । आईएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल अन्तर्राष्ट्रियस्तरको अवार्डबाट सम्मानित भएका छन् । एसियाली व्यवस्थान संघहरुको साझा संस्था एसियन एसोसिएसन अफ म्यानेजमेन्ट अर्गनाइजेसन्स, (आमो) र नेपाल व्यवस्थापन संघद्वारा राजधानीमा आयोजित ‘‘एसियन लिडरसिप अवार्ड’ बाट सम्मानित भएका हुन् । एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ढकाललाई सो सम्मान प्रदान गरेका थिए ।
राष्ट्रिय उद्यमशिलताको विकास गरी नेतृत्वदायी भूमिकामा रहेका र देशको आर्थिक विकास र समृद्धिका लागि व्यावसायको माध्यमबाट महत्वपूर्ण योगदान पुर्याएका एकजना कुशल व्यवस्थापकलाई आमोले यो अवार्ड प्रदान गर्ने गर्दछ । सन् २०२० का लागि नेपालबाट ढकाललाई यो अवार्ड प्रदान गरिएको हो ।
नेपालको सबैभन्दा ठूलो बैंक ग्लोबल आईएमई बैंक तथा चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष ढकाललाई नेपालको व्यावसायिक क्षेत्रमा कुशल, सफल र प्रेरणादायी नेतृत्वका लागि यो अवार्ड प्रदान गरिएको उक्त संस्थाले जनाएको छ ।
अवार्ड प्राप्त भएपछि ढकालले आफूलाई यस अवार्डले आगामी दिनमा अझ सिर्जनशील काम गर्न अझ उत्साह र प्रेरणा मिलेको प्रतिक्रिया दिएका छन् ।
आईएमई समूहअन्तर्गत दर्जन लगानी व्यवसायिक संस्थामा लगानी गरिरहेका ढकाल नेपालका सफल उद्यमीका रुपमा परिचित छन् । नेपाल उद्योग बाणिज्य महासंघका बर्तमान उपाध्यक्ष समेत रहेका ढकाल महासंघको आगामी साधारणसभामा बरिष्ठ उपाध्यक्षको उम्मेद्वारको रुपमा प्रस्तुत हुदैछन् ।