२०८३ साउन ११ सोमबार

कलङ्की–धोबीखोला सडकमा संरचनाहरु धमाधम हटाइँदै

ई आर्थिक    शुक्रबार, माघ २४ २०७६
11.3K
Shares
कलङ्की–धोबीखोला सडकमा संरचनाहरु धमाधम हटाइँदै

ई–आर्थिक, काठमाडौं । चक्रपथको कलङ्की–धोबीखोला खण्डमा सडकको अधिकार क्षेत्रमा रहेका भौतिक संरचना धमाधम हटाउन थालिएको छ । उक्त भौतिक संरचनाहरु हटाएर ‘साइट’ खाली गराउन लागिएको छ । कोटेश्वर–कलङ्की सडकखण्ड विस्तार गरेको चीन सरकारले नै दोस्रो खण्डका रूपमा यहाँको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) अध्ययन गरेको छ ।

यस खण्डमा विभिन्न संरचनाहरु रहेकाले तीनलाई तत्काल हटाउनुपर्ने देखिएको काठमाडौँ चक्रपथ सुधार आयोजनाका प्रमुख अमृतमणि रिमालले बताए । सडकको अधिकार क्षेत्रमा घरटहरालगायतका संरचना हटाउने काम तीव्ररुपमा भइरहेको छ । खासगरी महाराजगञ्जचोकका झण्डै ४० घरहरु अधिग्रहण गर्नुपर्ने देखिएको छ । अधिग्रहणको निर्णय मन्त्रिपरिषद्बाट भएर काठमाडौँ उपत्यका विकास प्राधिकरणलाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै स्वयम्भूमा बुद्धको ठूलो मूर्ति रहेकामा त्यसलाई समेत सार्नुपर्ने उनले बताए । उनले भने, ‘स्थानीयवासीको सहयोग हुँदा हामीले चाँडै सडक खाली गरिदिएर उनीहरुले काम शुरु गर्छन् ।’

सडक विस्तारका लागि चीन सरकारलाई हस्तान्तरण गर्न सरकारले अहिले सडकको अधिकार क्षेत्र खाली गराउन शुरु गरिएको प्रमुख रिमालले बताए। यस सडकमा रुख काट्ने, पोल सार्नेलगायतका तयारी भइरहेको छ । केही महिनामै काम सम्पन्न गर्ने उनले बताए ।

सम्पूर्ण तयारी सकिएपछि सरकारले चीन सरकारलाई सडक निर्माणका लागि हस्तान्तरण गर्नेछ । यहाँको ‘साइट’ खाली हुनासाथ काम शुरु गरिने चिनियाँ पक्षले बताउँदै आएको छ । चक्रपथ दोस्रो खण्डमा दुई वटा ‘अण्डरपास’, १० आकाशे पुल र मुख्य सडकको बीचमा डिभाइडर हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij