ई–आर्थिक, काठमाडौं । छिमेकी मुलुक चीनको लगानीमा अघि बढिरहेका करिब एक दर्जन ठूला परियोजनाहरुमा कार्यरत चिनियाँ प्राबिधिक र कामदार फर्केका छैनन् । कामको नेत्तृत्वकर्ताहरु नफर्केपछि परियोजनाको काम सुस्त भएको छ ।
चीनमा महामारीका रुपमा फैलिएको कोराना भाइरसको संक्रमणका कारण उनीहरु फर्कन नसकेको आशंका गरिएको छ । नेपालको बिभिन्न परियोजनाहरुमा कार्यरत उनीहरु नयाँ बर्ष मनाउन स्वदेश फर्केका थिए । यही समयमा चीनमा कोरोना भाइरस फैलिएर हजारौ संक्रमित बने । उनीहरु यो फेबु्रअरी महिनाको पहिलो साताभित्र आइपुग्नु पर्ने थियो । केही कामदार फर्के पनि ठूलो संख्यामा फर्केका छैनन् । यो समयमा उनीहरु फर्कन नसक्ने जानकारी गराइसकेका छन् । कोही आफै र कसैका आफन्तजन संक्रमित हुदा उनीहरु कार्यस्थल फर्कन नसकेको बताइएको छ ।
चिनियाँ लगानीमा नेपालमा दर्जनौ परियोजनाहरु निर्माण भइरहेका छन् । राष्ट्रिय गौरबका धेरै आयोजनाहरु चिनियाँ लगानीमा निर्माण हुदै छन् । बिमानस्थल, सडक, खानेपानी, हाइड्रोपावर लगायतका ठूला परियोजना चिनियाँ लगानीमा अघि बढिरहेका छन् । यस्ता परियोजनाहरुमा ठेकेदार, प्राबिधिक र ब्यबस्थापक लगानीकर्ताका हैसियतले चिनियाँ नै छन् । ठूलो संख्यामा कामदारहरु पनि चिनियाँ नै छन् । नेपाली कामदारको त सहयोगी मात्र भूमिका रहने गर्छ ।
सबै कामको नेत्तृत्व अनुभबी भएका कारण चिनियाँ कामदारले नै गर्छन । त्यसैले चिनियाँहरु न्फर्कदा यहाँका परियोजना अघि बढ्न सकेका छैननु । यसले परियोजना निर्माणमा निकै ठूलो अबरोध ल्याएको छ । यसबाट लागतसमेत बढ्ने जाने आशंका गरिएको छ । चिनियाँ नफर्कदा अन्तिम चरणमा पुग्न लागेका भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय बिमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय बिमानस्थलको काम अन्योल भएको छ ।
चिनियाँ प्राबिधिक र कामदार नआई निर्माण कार्य अघि बढाउन सकिदैन । यि राष्ट्रिय गौरबका आयोजना हुन । नेपाल नागरिक उड्ड्यन प्राधिकरणअन्तर्गत राष्ट्रिय गौरबका आयोजना निर्देशनालयका प्रमुख प्रदिप अधिकारी परियोजनामा कार्यरत आधाभन्दा बढी चिनियाँ कामदार नफर्केको बताउँछन् । यसले स्वभाबिकरुपले आयोजना प्रभाबित भएको उनले बताए । चिनियाँ प्राबिधिक र कामदार नफर्कदा सबभन्दा धेरै जलबिद्युत परियोजनाहरु प्रभाबित भएका छन् । अहिले दर्जानौं जलविद्युत आयोजनाहरुको सुरुङ र बाँध चिनियाँ ठेकेदारहरुले निर्माण गरिरहेका छन् । निर्माण कार्यको नेत्तृत्व र ब्यबस्थापन गर्नेहरु नै आयोजनाहरु अबरुद्ध भएको बताइन्छ ।
चिनियाँ राष्ट्रपतिको भ्रमणपछि अघि बढेका विभिन्न विकासे परियोजनाको अध्ययन पनि ठप्प हुन पुगेको छ । राष्ट्रपति सिले प्रतिबद्धता जनाएका परियोजना अघि बढाउन प्रतिष्ठासँग जोडेर अघि बढाइएको काम समेत ठप्प भएको छ । नेपाल र चीनबीच हिमालय सीमापार रेल्वे लाइन निर्माणको विस्तृत सम्भाव्यता अध्ययनसहित परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको काम पनि पछि धकेलिएको छ । यो काम चीनको नयाँ वर्षपछि लगत्तै सुरु गरिने योजना थियो ।
चिनियाँ कम्पनीका ज्वाइन्ट भेन्चरमा अघि बढाइएका ऊर्जा, खानेपानी, सिञ्चाई र सञ्चारका आयोजनामा पनि नराम्रोसँग प्रभाबित छन् । सडक र ऊर्जाका धेरै आयोजनामा नेपाली कम्पनीले चिनियाँ कम्पनीसंग भेन्चरमा अघि बढाएका छन । सन् २०२१ सम्म निर्माण सक्ने लक्ष्यसहित काम भइरहेको पोखरा क्षेत्रीय विमानस्थलमा चिनियाँ ठेकेदार कम्पनी संलग्न छ । चीनकै लगानीमा बनिरहेको यो आयोजनामा चिनियाँ कम्पनी सीएएमसीले काम जिम्मा पाएको हो । आयोजनामा हालसम्म ५० प्रतिशत हाराहारी मात्रै काम सकेको छ । रुपन्देहीको भैरहवामा निर्माण भइरहेको गौतमबुद्ध विमानस्थल पनि चिनियाँ नर्थ वेस्ट एभियसन कम्पनीको हातमा छ ।
विमानस्थलको सिभिलतर्फको निर्माणको काम अन्तिम चरणमा छ । केही महिनाभित्रै सम्पन्न हुने मेलम्ची खानेपानी आयोजनामा पनि अन्तिमको काम चिनियाँ कम्पनीले गर्दै छ । निर्माणको अन्तिम चरणमा पुगेको तामाकोसी जलविद्युत आयोजना पनि चिनियाँ कम्पनीले नै बनाएको हो । यसको सिभिलतर्फको सबै काम सिनो हाइड्रोले गर्दैछ । आगामी असारदेखि तामाकोसी आयोजनाको एउटा युनिट सञ्चालन गर्ने लक्ष्यसहित काम भइरहेको छ ।
राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनामा पनि चिनियाँ ठेकदकार नै संलग्न छ । भेरी बबई डाइभर्सन आयोजनाको हेडवक्र्स, पावरहाउस लगायतका संरचना निर्माणको ठेक्का चीनको रमणले ग्वाङ्डोन युनाटियनसँग मिलेर गरिरहेको छ । नेपाल टेलिकमको फोरजी र एलटीई सेवा विस्तारको काममा पनि चिनियाँ कम्पनी संलग्न छ ।
मध्यहपहाडी लोकमार्गमा अप्टिकल फाइबार विस्तार गर्ने आयोजनाहरुमा पनि चिनियाँ कम्पनीको बोलबाला छ । तर नेपाली अधिकारीहरु भने चिनियाँहरु अहिले नेपाल नआएकै राम्रो हुने बताउँछन् । उनीहरुमध्ये धेरै संक्रमित भएको हुनसक्ने र त्यसले यहाँ महामारी फैलन सक्ने नेपाली अधिकारीहरुको भनाई छ । चीनजस्तो शक्तिशाली र बिकसित मुलुकले त नियन्त्रण गर्न कठिन भएको यो रोग नेपालमा फैलिए ठूलो भयाबह अबस्था आउने उनीहरुको बुझाई छ ।
हवाई सेवा पनि बन्द
यसैबिच चीनमा कोरोना भाइरसले महामारीको रुप लिएपछि रोकथामको प्रयास स्वरुप नेपाल – चीन हवाई सेवा पनि बन्द गरिएको छ । चीनवाट दैनिक नेपाल आउने चार वायु सेवा कम्पनीहरुले उडान स्थगित गर्ने सूचना आएको नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए ।
चिनियाँ एयरलाइन्सले करिब एक महिनाका लागि भन्दै उडान स्थगनको जानकारी गराएका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार काठमाडौंवाट दैनिक उडान गर्दै आएका चार वायुसेवा कम्पनीले पनि उडान स्थगितको सूचना दिएका छन् । दैनिक एक उडान गर्दै आएको एयर चाइनाले भोली मंगलबारदेखि २९ तारिक सम्म, चाइना स्टर्न एयरलाइन्सले ६ फेब्रवरीदेखि २८ सम्म उडान बन्द गर्ने सूचना पठाइसकेका छन् ।