ई–आर्थिक, काठमाडौं । चन्द्रागिरि केवलकारले आफ्नो जन्मदिनलाई औपचारिक बनाउन चन्द्रागिरि केवलकारमा आव्हान गरेको छ । उक्त केवलकारले आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी जन्मदिनको अवसरमा निःशुल्क केवलकार सेवा प्रदान गर्ने भएको छ ।
जन्मदिनको अवसरमा चन्द्रागिरि भ्रमणमा प्रोत्साहन गर्ने र जन्मदिनलाई विशेष बनाउने उद्देश्यले योजना ल्याइएको हो । योजना अन्र्तगतको सेवा लिन पर्यटकले जन्मदिन खुल्ने आधिकारिक कागजात टिकट काउण्टरमा उपलब्ध गराउनु पर्ने कम्पनीले जानकारी दिएको छ ।
ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हललगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ । यसले आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षित गर्ने विश्वास कम्पनीले लिएको छ ।