२०८३ साउन ११ सोमबार

पाम तेलको प्रतिबन्ध फुकुवा गर्न सरकारद्वारा कुटनीतिक पहल

ई आर्थिक    सोमबार, माघ १३ २०७६
5.1K
Shares
पाम तेलको प्रतिबन्ध फुकुवा गर्न सरकारद्वारा कुटनीतिक पहल

ई–आर्थिक, काठमाडौं । कुल निर्यातमा करिब २४ प्रतिशत हिस्सा ओगटेको पाम तेलमाथिको प्रतिबन्ध हटाउन नेपालले कुटनीतिक पहल थालेको छ । पाम तेलको प्रतिबन्धले नेपालको बैदेशिक ब्यापारमा निकै ठूलो नोक्सान पुग्न थालेपछि सरकारले यस्तो कदम चालेको हो । नेपालको निर्यात ब्यापारमा पाम तेलले ठूलो योगदान गरेपछि सरकारले राहत महसुस गरेको थियो ।

चालु आर्थिक वर्षको पाँच महिनामा नेपालले ११ अर्ब ५० करोड रुपैयाँको पाम तेल निर्यात गरेको छ । निर्यात ब्यापारमा यति ठूलो सहयोग पु¥याइरहेको यो तेल पुस २३ गतेपछि भारत निकासी मा प्रतिबन्ध लाग्यो ठप्प भयो । कास्मिर मुद्धामा मलेसियाका प्रधानमन्त्रीले भारतविरोधी अभिव्यक्ति दिएपछि भारत सरकारले पाम तेलको आयात रोक्ने निर्णय ग¥यो । यसको ठूलो असर नेपाललाई पर्न गयो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार भारतले प्रतिबन्ध गरेलगत्तै यो समस्या समाधान गर्न अनौपचारिक छलफल गरिएको थियो । तर त्यसले कुनै निकास नआएपछि परराष्ट्र मन्त्रालयमार्फत औपचारिकरुपले कुटनीतिक पहल थालिएको मन्त्रालयले जनाएको छ । आपूर्ति मन्त्रालयको आग्रहअनुसार परराष्ट्र मन्त्रालयले पहल गरिसकेको छ । केही दिनमा त्यसको जबाफ आउने मन्त्रालय स्रोतले जनाएको छ । भारतको वैदेशिक व्यापार विभागले हार्मोनी कोड १५११९०१० को रिफाइन्ड ब्लिच्ड डेडोराइज्ड पाम तेल, १५११९०२० को रिफाइन्ड ब्लिच्ड डेडोराइज्ड पामोलिन र १५११९०९० को अन्य तेलको पैठारी रोक्ने निर्णय गरेको थियो । यस निर्णयले पाम तेल भारत निर्यातमा समस्या पर्नुको साथै नेपाली ब्यापारीसमेत मर्कामा पर्न गएका थिए ।

नेपालमा मलेसियाबाट पाम तेलको कच्चा पदार्थ ल्याएर प्रशोधन गर्ने एक दर्जनभन्दा बढी उद्योग सञ्चालन छन् । यि उद्योगहरुमा अर्बौ लगानी हुनुको साथै हजारौले रोजगारी पाएका छन् । यि उद्योगहरुबाट मूल्य अभिवृद्धि (भ्यालु एड) भने थोरै मात्र हुने गर्छ । तर यो तेलको निर्यातले भने हरेक महिना नयाँ रेकर्ड राखिरहेको छ । गत आर्थिक वर्षभरी १० अर्ब रुपैयाँको निर्यात भएको पाम आयल यो वर्षको पाँच महिनामै ११ अर्ब रुपैयाँभन्दा बढीको निर्यात भएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालू आवको पहिलो महिनामा १ अर्ब ७५ करोड ५६ लाख ९० हजार रुपैयाँको निर्यात भएकोमा चार महिनासम्म आइपुग्दा आठ गुणाले बढेर ८ अर्ब ३६ करोड ८५ लाख ८ हजार रुपैयाँको निर्यात पुगेको थियो । पाम आयलको निर्यातले छलाङमारेसँगै स्वदेशी वस्तुको निर्यातमा पनि भारी सुधार आएको छ । लगातार रूपमा पाम आयलको निर्यात बढेसँगै आयातमा कमी आउँदा व्यापार मुलुकको व्यापारघाटा कम भएको छ ।

पाम आयल निर्यात गर्दा भन्सार शुल्क नलाग्ने भएकाले पनि यसको निर्यातमा उल्लेख्य वृद्धि भएको हो । व्यवसायीले मलेसिया, इन्डोनेसिया, थाइल्याण्डलगायत मुलुकबाट कच्चा पदार्थ आयात गरेर प्रशोधन गरेर पुनः निर्यात गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij