ई–आर्थिक,काठमाडौं । प्रतिनिधि सभाकाे सभामुख पदमा अग्निप्रसाद सापकाेटा निर्विराेध निर्वाचित भएका छन् । नयाँ सभामुख निर्वाचित गर्न आइतबार बसेको संसद बैठकले सापकोटालाई निर्विरोध निर्वाचित गरेको हो ।
बैठकको अध्यक्षतामा रहेका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुखका लागि सापकोटाको एकल उमेदवारी भएकाले प्रतिनिधि सभा नियमावली २०७५ को ७ (३) बमोजिम सापकोटा निर्विरोध निवार्वाचित भएको घोषणा गरे ।
सापकाेटाको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ र नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङ र सांसद ओनसरी घर्ती एवं तथा राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्णले समर्थन जनाएका थिए ।
तत्कालीन सभामुख कृष्णबहादुर महरा महिलामाथिको यौन दुर्व्यवहारको विवादमा परेपछि गएकाे असोज १५ गते पदबाट राजीनामा दिएका थिए । हाल उनि पुर्पक्षका लागि थुनामा छन् ।
सभामुखको निर्वाचनपछि उपसभामुखको निर्वाचन कार्यतालिका तय हुनेछ । गएकाे पुस ४ गते सुरु भएको संघीय संसद्को चालु पाँचौँ अधिवेशनअन्तर्गत राष्ट्रियसभाका बैठक नियमित भए पनि प्रतिनिधिसभाको सभामुख रिक्तता र त्यसमा राजनीतिक सहमतिमा ढिलाइका कारण बैठक स्थगन हुँदै आएको थियो ।
प्रतिनिधिसभाको अर्को बैठक माघ १४ गते मंगलबार दिनको १ बजे बस्नेछ ।