२०८३ साउन ११ सोमबार

नर्सिङ पढ्न चाहने पुरुषकालागी छुटियो १० प्रतिशत आरक्षण कोटा

ई आर्थिक    बिहिबार, पौस २४ २०७६
12.1K
Shares
नर्सिङ पढ्न चाहने पुरुषकालागी छुटियो १० प्रतिशत आरक्षण कोटा

ई–आर्थिक, काठमाडौं । सरकारले नर्सिङ पढ्न चाहने पुरुषकालागी १० प्रतिशत आरक्षण कोटा छुट्टयाउने भएको छ । महिलाले मात्र नर्सिङ अध्ययन गर्ने परिपाटीलाई तोड्दै सरकारले यस वर्षदेखि पुरुषलाई पनि १० प्रतिशत कोटा छुट्टयाएको हो ।

बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा बोल्दै स्वास्थ्यसचिव खगराज बरालले सो कुराको जानकारी दिएका हुन् ।

सचिव बरालले नर्सिङ भर्नासम्बन्धी विज्ञापन गर्दा अब १० प्रतिशत पुरुषका लागि आरक्ष कोटा छुट्टयाउने बताए । पुरुष भर्ना नभए स्वत महिलाले भर्ना हुन पाउने व्यवस्था गरिने समेत स्वास्थ्यसचिव बरालले जानकारी दिए ।

त्यस्तै बैठकमा आगामी वर्षदेखि अनमी, अहेव लगायतको अध्ययन पनि खारेज हुने जानकारी दिइएको छ । त्यसका लागि सिटीइभिटीलाई पनि निर्देशन दिइसकेको छ भने एसईईपछि ३ वर्षे कोर्ष हेल्थ असिष्टेन्टको पढाई सुरु हुने जनाइएको छ ।

नर्सिङ काउन्सिलको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा हाल लगभग ७० जना पुरुष नर्स छन् । नेपालमा २०५० सालभन्दा अगाडि चार ब्याचसम्म पुरुष नर्स उत्पादन भएका थिए । तर, चार ब्याचपछि उक्त कार्यक्रम रोकिएको थियो । चार वर्षको अवधिमा नेपामला ८० जना पुरुष नर्स जनशक्ति उत्पादन भएका थिए ।

नेपालमा सबैभन्दा पहिला २०४६ सालमा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा पुरुष नर्सको पढाइ शुरु भएको हो । तत्कालीन समयमा राजपरिवारका सदस्यहरु अस्पताल भर्ना हुँदा नर्सिङ सेवा लिने क्रममा पुरुष नर्सको आवश्यकता महसुस भएपछि नेपालमा पुरुष नर्सको अध्ययनको बाटो खुलेको थियो । आइओएमले त्यतिबेला १० प्रतिशत पुरुषलाई पिसिएल नर्सिङ अध्ययनका लागि भर्ना लिएको थियो ।

नेपालमा कति नर्स ?

नर्सिङ काउन्सिलको पछिल्लो तथ्याङ्क अनुसार हाल नेपालमा ९० हजार ९ सय ६ नर्स दर्ता छन् । त्यसमध्ये ५६ हजार ४ सय ५ जना नर्स, ३३ हजार ६ सय ५७ अनमी र ८४४ विदेशी नर्सको दर्ता छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij