ई–आर्थिक, काठमाडौ । उद्योग बिभागमा चालु आर्थिक बर्षको ५ महिनासम्ममा बिदेशी लगानीमा १४१ उद्योग सन्चालन गर्न प्रस्ताब गरिएको छ । प्रस्ताबित उद्योगहरु सन्चालनमा आए करिब साढे ७ लाखले रोजगारीको अबसर पाउँछन् । पर्यटन, सूचना प्रबिधि, कृषि, उर्जा तथा सेवा क्षेत्रलाई प्राथमिकतामा राखेर उद्योग खोल्न प्रस्ताब गरिएको छ ।
समीक्षा अबधिको अबस्थालाई हेर्दा बिगतको भन्दा उत्साहजनकढंगले उद्योग खोल्नको लागि प्रस्ताब आएको देखिन्छ । गत बर्षमा जम्मा १७६ ओटा उद्योग सन्चालन गर्न बिदेशी प्रस्ताब आएको थियो । जसमा सानो लगानीका बढी थिए । राजनीतिक स्थिरताले उद्योगधन्दा सन्चालनका लागि लगानीमैत्री बाताबरण बनेकाले बिदेशी आकर्षण बढ्न थालको अर्थशास्त्री तथा राष्ट्रिय योजना आयोगका पूर्बसदस्य डा. चन्द्रमणि अधिकारी बताउँछन् । प्रस्ताब गरे अनुसार उद्योगहरु कहिले पनि सन्चालन नआएको बताउँदै डा. अधिकारी भन्छन् ‘तर प्रतिबद्धता जनाउनु र प्रस्ताब गर्नु पनि राम्रो संकेत हो ।’
नेपालमा स्थिर सरकार छ भन्ने सन्देश प्रभाबित भएकाले बिदेशीहरु नेपालमा लागनी गर्न चाहेको अर्थशास्त्री डा. गोबिन्दबहादुर थापा बताउँछन् । नेपालमा औद्योगिक वातावरण बनेको दक्षिण एसिया र छिमेकी मुलुकहरुले फाइदा लिन खोजिरहेको उनको भनाई छ ।स्थायी सरकार, विद्युत् उपलब्धताको सुनिश्चितता, एकल विन्दु सेवाको थालनी र डुइङ बिजनेस रिपोर्टको सकारात्मक सन्देशले मुलुकमा औद्योगिक वातावरण बनेको बिभागले जनाएको छ ।
ठूलो लगानीको प्रतिबद्धता
यो पाँच महिनामा उद्योग सन्चालनका लागि ठूलो वैदेशिक लगानीको प्रतिबद्धता आएको देखिन्छ । उद्योग विभागका अनुसार अघिल्लो वर्षको समीक्षा अवधिको तुलनामा १७ अर्ब बढी लगानी प्रतिवद्धता आएको छ । यो साउन २ गते देखि पुस ९ गतेसम्मको तथ्याङ्क हो । यो अबधिमा विभागमा २६ अर्ब ९३ करोड १७ लाख ८० हजार कुल लगानीको प्रतिबद्धता आएको छ । गत वर्ष समीक्षा अवधिमा ९ अर्ब ७६ करोड ६७ लाख ७० हजार मात्रै लगानी प्रतिबद्धता आएको थियो । चालू आर्थिक वर्षको लगानी प्रतिबद्धता हेर्दा नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न विदेशी लगानीकर्ताले विशेष चासो देखाएको पाइन्छ ।
यो अवधिमा कृषि र वनस्पतिजन्य ३ वटा उद्योगमा ३४ करोड ७४ लाख लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । यस्तै, ऊर्जा क्षेत्रका ५ वटा परियोजनामा ४ अर्ब ९७ करोड ८७ लाख ८० हजार लगानी प्रतिबद्धता आएको छ । सूचना प्रविधि क्षेत्रका २४ उद्योगमा ५ अर्ब ३५ करोड ९० हजार तथा उत्पादन क्षेत्रका १७ उद्योगमा २ अर्ब ३८ करोड ८४ लाख ७० हजार लगानी प्रतिबद्धता आएको छ ।
विभागका अनुसार, सेवा क्षेत्रका ३८ उद्योगमा ६ अर्ब २४ करोड ७० लाख लगानी प्रतिबद्धता आएको छ भने पर्यटनका ५४ व्यवसायमा ७ अर्ब ६२ करोड लगानी गर्न प्रतिबद्धता आएको छ ।