ई–आर्थिक, काठमाडौं । बिमा समितिले ‘बिमकले सहकार्यमा बिमा व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने नीतिगत मार्गदर्शन, २०७६’ जारी गरेको छ । मार्गदर्शनको नयाँ ब्यबस्थाले बैंकले अब १० लाखभन्दा बढीको बीमा गर्न नपाउने भएको छ । नयाँ ब्यबस्था अनुसार बीमितको घातक रोगको बिमांकको अधिकतम १० लाख हुनुपर्ने छ । त्यस्तै औषधीउपचार बिमाको अधिकतम १ लाख र दुर्घटना बिमाको अधिकतम १० लाख हुनुपर्ने छ ।
निक्षेप संकलनको प्रतिस्पर्धामा बैंक तथा वित्तीय संस्थाले थाम्नै नसक्ने योजना ल्याउन थालेपछि बैंक तथा वित्तीय संस्थाले गर्ने बिमामा कडाइ गरेको हो । यसले बैंकहरुका निक्षेपकर्ताले सहजरुपमा बीमा पाउने अपेक्षा गरिएको छ । ग्राहक बढाउन र निक्षेप संकलनको प्रतिश्पर्धामा खरो उत्रन बैंकहरुले निक्षेपकर्ताहरुको बीमा गर्ने गरे पनि बीमा रकम नपाउने गरेको समस्या अब समाधान हुने छ ।
बीमा सिद्धान्तको बिपरित अहिले बैंकहरुले बीमा सुबिधा सित्तैमा भन्ने गरेको कुरा पनि अब समाधान हुने छ । जारी भएको नयाँ मार्गनिर्देशन अनुसार अब बैंकहरुले ग्राहकलाई बीमा सुबिधा दिदा एकमुष्ट रुपमा बीमा लेख खरिद गर्नु पर्नेछ भने निक्षेपकर्ताको सम्पूर्ण बिबरण बीमा कम्पनीलाई बुझाउनुपर्ने छ । बीमितलाई बीमा लेख र प्रमाणपत्र समेत दिने ब्यबस्था गरिएको छ । समितिले जारी गरेको उक्त मार्गदर्शनमा बिमकले मार्गदर्शनको पालना गरी नयाँ बिमालेख जारी गर्दा पुरानो बिमालेख नवीकरण गर्दा संस्थाको नाममा एउटा मूल बिमालेख समेत जारी गर्नुपर्ने व्यवस्था गरेको छ ।