२०८३ साउन ११ सोमबार

प्राकृतिक विपत्तिमा सहकार्य गर्न एडिपिसी र महासंघ समझदारी

ई आर्थिक    बुधबार, मंसिर १८ २०७६
3.6K
Shares
प्राकृतिक विपत्तिमा सहकार्य गर्न एडिपिसी र महासंघ समझदारी

काठमाडौं । दक्षिण र दक्षिण पूर्वी एशियामा प्राकृतिक विपत्तिका बेला आइपर्ने समस्या एवं चुनौतीबाट हुनसक्ने क्षति न्यूनीकरणमा यस क्षेत्रका राष्ट्रबीच सहकार्य गरी यस क्षेत्रका जनताको सुरक्षित व्यवस्थापन र दिगो विकासमा कार्यरत एशियाली विपद् पूर्वतयारी केन्द्र (एडिपिसी) र नेपाल उद्योग वाणिज्य महासंघबीच सहमति पत्रमा हस्ताक्षर भएको छ । एडिपिसीको मुख्यालय थाइल्याण्डको बैंककमा रहेको छ ।

यही मङ्सिर १६ र १७ गते म्यान्मामा आयोजना भएको एशियाली पूर्वतयारी साझेदारीको पाँचौँ क्षेत्रीय बैठकका क्रममा महासंघका उपाध्यक्ष किशोर प्रधान र एडिपिसीका कार्यकारी निर्देशक ह्यान्स गुटम्यानले सहमतिपत्रमा हस्ताक्षर गरे ।

हरेक वर्ष दक्षिण र दक्षिण पूर्वी एशियाका राष्ट्रमा बाढी, पहिरो, भूक्षय, आँधी, भूकम्पलगायतका प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति हुँदै आएको छ । प्राकृतिक विपत्तिबाट यस क्षेत्रका जनताको जीवन रक्षा एवं प्राकृतिक विपत्तिपूर्व अपनाउनुपर्ने सुरक्षा उपायमा संयुक्तरूपमा सहकार्य गर्ने उद्देश्यले यो समझदारी भएको महासङ्घले जनाएको छ ।

समझदारी अनुसार महासङ्घ र एडिपिसीको संयुक्त सहकार्यमा यस विषयमा जनचेतना अभिवृद्धिका कार्यक्रम, तालीम, कार्यशाला, गोष्ठी आयोजना, त्यसका लागि प्राविधिक सहयोग, जनशक्ति विकास, सूचना आदानप्रदान, तथ्याङ्क सङ्कलन लगायतमा सहकार्य गर्ने उल्लेख गरिएको छ । यसका लागि महासंघले आफ्नो देशैभर रहेको सञ्जालको भरपुर सहयोग लिनेछ ।

एशियाली पूर्वतयारी साझेदारी सम्बन्धी सो साझेदारी सञ्जालमा नेपालसहित यस क्षेत्रका राष्ट्र कम्बोडिया, म्यान्मा, फिलिपिन्स, पाकिस्तान र श्रीलङ्काका बहुसरोकारवाला निकायको सहभागिता रहेको छ । यस क्षेत्रीय साझेदारीमा यहाँका स्थानीय, प्रादेशिक, सङ्घीय सरकार, राष्ट्रिय अन्तरराष्ट्रिय गैरसरकारी संस्था, नागरिक समाज, निजी क्षेत्र, सञ्चारमाध्यम र बौद्धिक समुदायको सहभागिता रहने र विपत्तिका बखत यी सबै निकायले आआफ्नो भूमिकालाई जिम्मेवारीपूर्वक निर्वाह गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij