ई–आर्थिक, काठमाडौं । नेपाल भ्रमण बर्ष २०२० को प्रचार प्रसार तथा प्रबद्र्धनका लागि नेपाल वायुसेवा निगमले महत्वपूर्ण निर्णग गरेको छ । आइतबार बसेको निगम कार्यकारी समितिको बैठकले आफ्ना सबै जहाज र अन्य सवारीसाधनमा नेपाल भ्रमण वर्षको लोगो राख्ने निर्णयले भ्रमण बर्षको प्रबद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने बिश्वास गरिएको छ ।
निगमका सहप्रवक्ता सुलेख मिश्रका अनुसार वैठकले नेपाल सरकारद्वारा घोषित नेपाल भ्रमण वर्षलाई सफल बनाउन रणनीतिक कार्ययोजनालाई थप परिष्कृत एवम् परिणाममुखी बनाउने निर्णय गरेको छ ।
उहाँका अनुसार निगमले डिजिटल मिडिया सेलवाट फेसबूक, ट्विटर, ईन्स्ट्रग्राम र यूट्युवमा पर्यटनसम्वन्धी सामग्री प्रसारण गर्ने निर्णयसमेत गरेको छ । वैठकले केन्द्रीय कार्यालयस्थित विक्री कक्ष राती ८ बजेसम्म खूल्ला राख्ने निर्णय समेत गरेको छ । यसले पर्यटकलाई निकै सजिलो हुने निगमले जनाएको छ ।
निगमले विदेशबाट आएका यात्रुहरुलाई निगमका बाहृय स्टेशनबाट प्याकेजमा टिकट विक्रीको व्यवस्था गर्ने निर्णय समेत गरेको छ । यसका लागि काठमाडौंका होटेल तथा टुर अपरेटर व्यवसायीहरुसँग सम्झौता गरेको छ । त्यसैगरी भ्रमण वर्ष २०२० लक्षित थप कार्यक्रम बनाउन पाँच निर्देशक सम्मिलित समिति गठन गरिएको छ ।
मिडिया र पर्यटक सहजिकरणका लागि एक उप-समिति पनि निर्माण गरिएको छ । यसले पाक्षिक प्रगति मूल्याङ्कन गरी थप कार्यक्रम बनाउने छ। प्रत्येक अन्तर्राष्ट्रिय स्टेशनहरुमा पर्यटकहरुका लागि गोलाप्रथाद्वारा मासिक एकथान टिकट निःशूल्क उपलव्ध समेत गराइने छ ।