खासगरी भारतमा प्याजको मुल्यले त्यहाँ राजनीतिलाई नै प्रभाव पार्ने भएकाले प्याजलाई राजनीतिक तरकारी भनिएको हो । अब प्याज बंगलादेशमा पनि राजनीतिक तरिकारी बन्न पुगेको छ ।
बंगलादेशमा अहिले प्याजको हाहाकार छ । अरू बेला प्रतिकिलो ३० टाका (बंगलादेशी मुद्रा) मा पाइने प्याज अहिले एक किलोका २६० टाका पुगेको छ। प्याजको अभाव र महंगी यति छ कि प्रधानमन्त्री शेख हसिनाले प्याज नै खान छोडिदिएकी छन् ।
हसिनाको सचिवालयका प्रेस उपसचिव हसन जहिद तुसरले हवाइजहाजबाट प्याज आयात भइरहेको बताए । ‘प्रधानमन्त्रीले पनि प्याज खान छोडिदिनुभयो । शनिबार प्रधानमन्त्री निवासमा पाकेका कुनै पनि खानामा प्याज राखिएको थिएन,’ उनले भने । ठूलो मात्रामा प्याज खपत हुने बंगलादेशमा भारतले निर्यात प्रतिबन्ध लगाएपछि अभाव हुन थालेको हो । अहिले बंगलादेश सरकारले म्यानमार, टर्की, चीन र इजिप्टबाट प्याज आयात गरेर माग धान्ने प्रयास गरिरहेको छ ।
ट्रेडिङ कर्पोरेशन अफ बंगालदेशले उपभोक्तालाई राहत दिन सुपथ मूल्य पसल खोलेको छ । त्यहाँ ४५ टाकामा एक किलो प्याज पाइन्छ । सुपथ मूल्यमा प्याज किन्न मान्छेहरू घन्टौंदेखि लाइन बसेका हुन्छन् ।
‘अरू दुई घन्टा कुर्नु परे पनि म कुर्छु । यहाँको प्याज किने मैले एक किलोमा साढे २ सय जति टाका बचाउँछु । पैसा बचाउन म यहाँ उभिएको छु,’ लाइमा बसेका रतन नामका एक शिक्षकले समाचारपत्र गार्डियनलाई भनेका छन्, ‘म ४१ वर्षको भएँ । अहिलेसम्म प्याजको भाउ १२० टाकाभन्दा बढी भएको मैले देखेको थिइनँ ।’