ई–आर्थिक, काठमाडौं । बैंक वित्तीय संस्थाका ‘सेरोमोनियल’ सञ्चालकको सम्पत्ति छानविन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नयाँ पहल थाल्ने भएको छ ।
ठूला लगानीमा बैंकका सञ्चालकहरुले व्यापक आर्थिक चलखेल गर्ने गरेको भन्दै उजुरी परेपछि विभागले उक्त सक्रियता बढाउन थालेको हो ।
१० करोडभन्दा मुनिका कर्जामा बैंक वित्तीय संस्थाका सबै अधिकार सीईओलाई नै हुन्छ । तर, १० करोड भन्दा ठूलो कर्जा लगानीमा सञ्चालकहरुले भूमिका खेल्ने गरेको छ ।
त्यही भूमिका निर्वाह गरेवापत सञ्चालकहरुले ठूलो आर्थिक लाभ लिने गरेको आशंका विभागले गरेको छ । त्यही आशंका निवारण गर्न बैंक वित्तीय संस्थाका सञ्चालकको सम्पत्ति पनि छानविन गर्न लागेको विभागले जानकारी दिएको छ । सुरूमा २ बैंकका ४ सञ्चालकमाथि छानविन सुरु हुने विभागले जनाएको छ ।