ई–आर्थिक, काठमाडौं । सहकारीहरुलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्न सम्बन्धमा सरकारले आवश्यक सहयोग गर्ने भएको छ । सहकारी अभियानकर्मीहरुसँगको भेट र छलफलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सो प्रतिबद्धता गरेका हुन ।
छलफलमा सामाजिक सुरक्षा कोषको बारेमा सहकारीका प्रशिक्षकलाई प्रशिक्षित गर्ने र उनीहरुलाई सबै जिल्लामा जागरणका लागि पठाउने सहमति पनि भएको छ ।
पहिलो चरणमा यसै साता काठमाडौंका सहकारीहरुलाई लक्षित गरी प्रशिक्षण कार्यक्रम गर्ने निर्णय भएको छ ।
छलफलकामा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेती, नेफ्स्कूनका अध्यक्ष डी.बी. बस्नेत, साना किसान सहकारी संघका पदाधिकारी, कोषका प्रमुख कार्यकारी अधिकृत कपिलमणि ज्ञवाली लगायतको उपस्थिति रहेको थियो ।
सहभागी सहकारीका प्रतिनिधिहरुले पूर्ण रुपमा सामाजिक सुरक्षा कोषमा समाहित गर्न सरकारले आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।
सबै प्रकृतिका सहकारीहरू योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सहभागी भै पेन्सन वा उपदान, दुर्घटना/स्वास्थ्य बिमा, प्रसुती सुबिधा, शैक्षिक र घर निर्माण कर्जा लगायतका लाभ लिन सक्ने छन् ।