ई–आर्थिक, काठमाडौं । उद्योगी रुप ज्योतिको गिराफ्तारी प्रति नेपाल चेम्बर अफ कमर्सले आपत्ती जनाएको छ ।
चेम्बरले एक विज्ञप्ती प्रकाशित गरी लामो समय देखि नेपालको औद्योगिकीकरणमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका वरिष्ठ उद्योगपति तथा व्यवसायी रुप ज्योतीको गिरफ्तारी प्रति नेपाल चेम्बर अफ कमर्सको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
अपराध नै प्रमाणित नभई केवल उजुरीको भरमा, आफ्नो भ्रमण पूरा गरी विदेशबाट स्वदेश फर्कदा सिधै एयरपोर्टबाट ज्योति सहित उनकी छोरी सुरुची सहितलाई पक्राउ गरिएको प्रति आपत्ति जनाएको हो ।
देशमा ठूला लगानी गरेको र नियमित रुपमा उल्लेखनिय राजश्व योगदान गरी रहेका उद्यमी/व्यवसायीलाई अमर्यादित व्यवहार गरिदा सम्पूर्ण निजीक्षेत्र हतोत्साहित मात्र नभई लगानी मैत्री वातावरणमा समेत प्रतिकुल प्रभाव पर्न जाने चेम्वरले जनाएको छ । कानून परिपालनका क्रममा निजी क्षेत्रका उद्यमी/व्यवसायीलाई सम्मानजनक व्यवहार होस् भन्ने तर्फ चेम्बर सम्बन्धित निकायसँग विशेष अनुरोध र आग्रह गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ ।