ई–आर्थिक, काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुल आचार्यको प्यानलले उम्मेद्ववारी घोषणा गरेको छ । एनआरएनएका वर्तमान उपाध्यक्ष आचार्यले काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरी आगामी कार्यकाललको लागि आफ्नो र आफ्नो प्यानलको उम्मेद्वारको औपचारिक घोषणा गरेका हुन ।
उनको प्यानलको उपाध्यक्षमा अमेरिकाका डा. केशब पौडेलले उपाध्यक्षमा उम्मेद्वारी दिने भएका छन् । उनी यसअघि महासचिवका दाबेदार थिए । महासचिवमा भने
बेल्जियम निवासी जानकी गुरुङको नाममा सहमति भएको छ ।

महासचिवका अर्का आकाक्षीलाई मध्येपूर्वका डि.बी. क्षेत्रीलाई पनि आचार्यको टिममा समेटिएका छन् ।
आचार्य समूहबाट उपाध्यक्षमा डा. पौडेलसँगै, मन केसी (अष्ट्रेलिया), नरेन्द्र भाट (मध्यपूर्व), रबिना थापा (अमेरिका)ले उम्मेदवारी दिने भएका छन् । यस्तै वर्तमान सह–कोषाध्यक्ष सोम सापकोटाले कोषाध्यक्षमा उम्मेदवारी दिने पक्का भएको छ ।
अन्य सक्षम सिर्जनशील उम्मेद्वारलाई पनि आचार्यले आफ्नो टिममा समेट्ने बताए । आफ्नो टिम समावेशी उनले कार्यक्रममा जानकारी दिए ।
आफ्नो उम्मेदवारीसंगै उनले १० बुँदे प्राथमिकताका विषय पनि सार्वजनिक गरेका छन् ।

उनले झन्झटमुक्त गैर आवासीय नेपाली नागरिकता, लगानीको प्रत्याभूति, मर्यादित तथा सुरक्षित वैदेशिक रोजगार, विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने, ब्रेन ड्रेनबाट ब्रेन गर्ने, संस्थागत सुधारमा भिजन २०२० एण्ड वियोड अवधारणालाई कार्यान्वयन तहमा लैजाने, सडक सुरक्षा, पर्यटन लगायत विषयलाई प्राथमिकताका साथ अघि सारेका छन्।
उनले संसदमा विचाराधीन गैर आवासीय नेपाली नागरिकता विधेयकलाई संविधानको भावना तथा सम्पूर्ण गैह आवासीय नेपाली समुदायको चाहाना अनुसार पारित गराउन ठोस पहल गर्ने प्रतिवद्धता पनि जनाए।
मंगलबार सुरु हुने गैर आवासीय नेपाली संघको ९ औ विश्व सम्मेलनले आगामी कार्याकालका लागि संघको नयाँ नेतृत्व चयन गर्दैछ ।
अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका कुमार पन्तसँग आचार्यले प्रतिस्पर्धा गर्नुपर्नेछ । पन्तले यसअघि नै अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन्। आफू र आफ्नो टिम सक्षर परिपक्व टिम भएकाले आफ्नो प्यानल विजय हुनेमा आचार्य ढुक्क छन् ।

आचार्यद्वारा जारी प्रेस विज्ञाप्तिको पूर्ण पाठ
गैरआवासीय नेपाली संघ (एनआरएनए) को अक्टोबर महिनाको १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुन गइरहेको नवौं विश्व सम्मेलनमा भाग लिन संसारका विभिन्न देशहरुबाट पाल्नुभएका सम्पूर्ण महानुभाव, शुभेच्छुक, शुभचिन्तक, पत्रकार, पर्यवेक्षक लगायत सम्पूर्ण नेपाली दाजुभाई दिदी बहिनीहरुलाई हार्दिक स्वागत गर्न चाहन्छु ।
गैरआवासीय नेपाली संघको नवौं विश्व सम्मेलन अघि ८१ देशहरुमा सम्पन्न राष्ट्रिय समन्वय परिषदको नेतृत्वमा चुनिनुभएका सम्पूर्ण पदाधिकारी तथा प्रतिनिधि साथीहरुलाई हार्दिक बधाई एवं सफलताको शुभकामना व्यक्त गर्दछु ।
गैरआवासीय नेपाली संघ बेलायत हुँदै गैरआवासीय नेपाली अभियानमा होमिएको १२ वर्षपछि म युरोप संयोजक हुँदै अहिले संघको केन्द्रीय उपाध्यक्षको रुपमा काम गरिहेको छु । गैरआवासीय नेपाली संघलाई सम्पूर्ण गैरआवासीय नेपालीहरुको साझा र अपनत्व महशुस हुने खालको संस्था निर्माण गर्न मैले आफ्ना उम्मेद्वारी घोषणासँगै १० बुँदे कार्ययोजना सार्वजनिक गरेको छु । संस्थालाई अझ गतिशील, सशक्त, संस्थागत र समावेशी बनाउन मैले आफ्नो स्पष्ट दृष्टिकोण र कार्ययोजना अघि सारेको छु ।
गैरआवासीय नेपाली संघमार्फत् गैरआवासीय नेपाली र नेपाललाई जोडन र गैरआवासीय नेपालीको पूँजी र सीप नेपालको विकासमा लगाउन ‘समृद्ध नेपाल हाम्रै जीवनकालमा’ भन्ने नारा साकार गर्ने उद्देश्यले यो योजना अघि सारेको छु । आर्थिक मात्रै होइन संसारभर फैलिएका गैरआवासीय नेपालीहरुसँग रहेको स्रोत, सीप, क्षमता र सम्पर्क नेपालको सामाजिक तथा आर्थिक उन्नतिका लागि बौद्धिक तथा आर्थिक लगानी भित्र्याउने योजना अघि सारेको छु ।
मर्यादित र व्यवस्थित वैदेशिक रोजगार देश निर्माणको आधार बनाउन मैले पसिना फण्डको परिकल्पना गरेको छु, जसमा वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन ६ बुँदे कार्ययोजना अघि बढाएको छु । अहिले नेपालको सबैभन्दा ठूलो चिन्ताको विषय सुरक्षित रोजगारी र कामदारको जीवनरक्षाको विषय हो । पसिना फण्ड नामक उक्त कोषमा जम्मा भएको रकम नेपालको हितमा साथै लगानीकर्तालाई पनि मुनाफा हुने आकर्षक लगानीमा लगाइनेछ । यसका साथै आगामी दुई बर्षभित्र वैदेशिक रोजगार राहत कोष दोब्बर गर्ने, वैदेशिक रोजगारीका क्रममा समस्या परेका नेपाली दाजुभाइ दिदीबहिनीहरुको समस्या बुझ्न एनआरएनए हटलाइनको व्यवस्था गर्ने, सीप विकास केन्द्रको स्थापना गर्ने, लगायतका कार्ययोजना अघि सारेको छु ।
हामीले सुरुदेखि नै गैरआवासीय नेपालीलाई नागरिकताको विषय उठाउँदै आएका छौं । यो विषय संविधानमै उल्लेख भइसकेको छ । अहिले संसदमा नागरिकता विधेयक विचाराधीन अवस्थामा छ, यसलाई निष्कर्षमा पुर्याउन गैरआवासीय नेपालीलाई नागरिकताको आधारमा छुट्टै पासपोर्ट उपलव्ध गराउन पहल गर्ने, नेपाली नागरिकको हैसियतले हाम्रो सम्पत्ति गैरआवासीय नेपाली नागरिकता पाएपछि पनि सुरक्षित हुनेछ भन्ने प्रष्ट पार्न पहल गर्ने लगायतका कार्ययोजना पनि मैले अघि सारेको छु ।
गैरआवासीय नेपाली लगानीकर्ता बाहेक एनआरएनएका सदस्यको सम्पर्क र सम्बन्धलाई प्रयोग गर्दै विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने, धेरैभन्दा धेरै मुलुकहरुसँग द्विपक्षीय लगानी प्रवर्द्धन तथा परियोजना सहमति एवं दोहोरो करमुक्ति सम्झौता गर्न संस्थागत पहल गर्नेछु । नेपालका सबै नियोगहरुमा एनआरएनए एनसीसीहरुलाई पनि समावेश गरी स्थायी प्रकृतिको आर्थिक कूटनीति समिति बनाउन परराष्ट्र मन्त्रालयलाई आग्रह गर्न नेपालमा लगानीः उन्नतिको बिहानी कार्यक्रम अघि सारेको छु ।
नेपाल सरकारले परराष्ट्र मन्त्रालय अन्तर्गत स्थापना गरेको ब्रेन ग्रेन सेन्टरलाई प्रभावकारी बनाउने र ब्रेन ड्रेनलाई ब्रेन ग्रेनतर्फ अगाडि बढाउने योजना छ ।
एनआरएनएका पूर्व अध्यक्ष शेष घलेको कार्यकालमा अघि सारिएको तथा एनआरएनए आइसीसीद्वारा पारित भिजन २०२० एण्ड वियोण्ड अवधारणालाई चरणबद्ध रुपमा कार्यान्वयनमा लगिने छ । आगामी २ वर्षभित्र संगठनको सदस्य संख्या कम्तिमा एक लाख पुर्याउने, विदेशमा हुर्किरहेका युवा पुस्तालाई नेपाल, नेपाली भाषा, सभ्यता र संस्कृतिसँग जोडन मेरो उच्च प्राथमिकता हुनेछ ।
युवा तथा महिला सबै आयोजनमा पहिला कार्यक्रम अन्तर्गत प्रवासी महिला र युवा सम्बद्ध कार्यक्रमलाई प्राथमिकता दिने, सबै एनसीसीहरुमा अनिवार्य रुपमा एकजना महिला उपाध्यक्ष हुने गरी नीतिगत व्यवस्था गर्ने प्रतिबद्धता अघि सारेको छु । यसैगरी, नेपाल चिनौं अभियान अन्तर्गत विदेशमा हुर्किएका पुस्तालाई नेपालमा स्वयंसेवा गर्न प्रोत्साहित गर्ने, युवा उद्यमशीलताको विकास र सडक सुरक्षा लगायतका कार्यक्रम रहेका छन् ।
नेपाल सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई सफल बनाउन मेरो मुख्य जोड रहनेछ । त्यसका लागि पर्यटन सम्वन्धि कार्यक्रम गर्न सवै एनसीसीहरुलाई प्रोत्साहित गर्ने, सरकार र पर्यटन बोर्डसँग समन्वय गरी काम गर्ने योजना छ ।
‘मातृभूमिमा समृद्धि कर्मभूमिमा संस्कृति’ लाई मूलमन्त्र मानेर नेपाली भाषा, भेष, साहित्य, कला र संस्कृतिको सम्वर्धन र प्रवर्धन गर्न विभिन्न कार्यक्रम अघि सारेको छु । ‘एनआरएनए हाम्रो, बनाऔं यसलाई अरु राम्रो’ भन्ने अभियानलाई सशक्त बनाउन, र एनआरएनएलाई सबै गैरआवासीय नेपालीहरुको अपनत्व हुने किसिमको साझा संस्थाका रुपमा विकास गर्न विगत जस्तै तपाईंहरु सबैको सुझाव, सल्लाह र समर्थनका लागि हार्दिक अनुरोध गर्दछु ।
अन्त्यमा भर्खरै सकिएको नेपालीहरुको महान चाड विजयादशमी तथा आउँदै गरेको शुभ दिपावली तथा छठ पर्वको अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
कुल आचार्य
गैरआवासीय नेपाली संघ केन्द्रीय अध्यक्षका उम्मेदवार
२०७६ असोज २७ (१४ अक्टोबर २०१९)