सहकारीले पुस मसान्तसम्म साधारणसभा गरिसक्नुपर्ने
काठमाडौं । डिभिजन सहकारी कार्यालय काठमाडौंका पुर्वप्रमुख केशबबहादुर थापाले गएको असोज १० गते शुक्रबार एकै दिन दुई सहकारीका साधारणसभामा उपस्थित भए । सो दिन उनले संकटा बचत तथा ऋण सहकारीको २०औं बार्षिक साधारणसभा र मानवीय बचत तथा ऋण सहकारीको कार्यक्रममा सहकारीविद्को रुपमा सभामा सहभागी भएका हुन् ।
काठमाडौंको बुद्धनगरमा बसोबास गर्ने केशबबहादुर थापालाई सहकारीका साधारणसभा अवधिभर भ्याई नभ्याई हुने देखिन्छ । सहकारी क्षेत्रको सरकारी निकायमा लामो समय सेवा गरेका उनी यो क्षेत्रका लागि चर्चित र लोकप्रिय व्यक्ति हुन । त्यसैले उनलाई काठमाडौं उपत्यकामा मात्रै हैन वाहिरका सहकारीका साधारणसभामा समेत पुगेर मन राखिदिनु पर्नेछ । यसविचमा उनले मकवानपुर, चितवनलगायत विभिन्न जिल्लाका सहकारीको साधारणसभामा उपस्थिति जनाइसकेका छन् । भदौ देखि पुस मसान्तसम्म उनलाई सहकारीका साधारणसभाको चटारोले नछाड्ने देखिन्छ ।
सहकारी विभागका पुर्वरजिष्ट्रार सुदर्शनप्रसाद ढकालले पनि यस बर्षको धेरै सहकारीका साधारणसमा सहभागिता जनाइसकेका छन् । त्यसैगरी सहकारी अभियानका पुराना र एतिहासिक अभियान्ता तथा राष्ट्रिय सहकारी महासंघका पुर्वअध्यक्ष दीपकप्रकाश बाँस्कोटाले पनि धेरै सहकारीका साधारणसभामा प्रमुख अतिथिका रुपमा उपस्थिति जनाइसकेका छन् ।
त्यस्तै नेफ्स्कूनका अध्यक्षद्वय कैलाशभक्त प्रधानाङ्ग र ऋषिराज घिमिरेले पनि सहकारीका साधारणसभामा बाक्लै उपस्थिति जनाइरहेको भेटिन्छ । उनीहरुले विशेषगरी बचत तथा ऋण सहकारीका साधारणसभामा प्रमुख अतिथिको भूमिकामा उपस्थित हुने गरेका छन् ।
सहकारीका कुनै पनि निकाय तथा संघ/संस्थाका पदमा नरहेका साधारणसभाका यी व्यस्त अतिथिहरु प्रतिनिधि पात्र मात्र हुन ।
सहकारीका निकाय तथा संघ/संस्थाको महत्वपूर्ण पदमा रहेकाहरुलाई त यतिवेला सहकारीका साधारणसभाको चटारोले भ्याई नभ्याई नै छ । विशेषगरी सहकारी मन्त्री पद्मा अर्याल, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशबप्रसाद बडाल, सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डे, नेफ्स्कूनका अध्यक्ष डि.बी. बस्नेत, नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.का अध्यक्ष सुरेन्द्र भण्डारी, राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष के.बी. उप्रेतीलगायत विषयगत केन्द्रीय संघका अध्यक्षहरु साधारणसभाका व्यस्त पात्र हुन । अध्यक्षसमेतले सभामा उपस्थित हुन नभ्याएपछि धेरै सहकारीका साधारणसभामा नेफ्स्कूनका उपाध्यक्ष परितोष पौड्याल, महासचिव चन्द्रप्रसाद ढकालले यो समयमा साधारणसभाको प्रमुख आतिथ्तामा व्यवस्त देखिन्छन् ।
अझ सहकारीको संख्या धेरै भएको काठमाडौंमा त प्रमुख अतिथिको अभावमा कार्यक्रम नै सार्नुपरेका अनुभव सहकारीकर्मीहरू सुनाउछन् । अभियानका केन्द्रीय अगुवासँगै धेरै सहकारीको प्रमुख अतिथिमा जिल्ला सहकारी संघ लिमिटेड काठमाडौंका अध्यक्ष टेकप्रसाद चौलागाईंले र जिल्ला सहकारी संघ लिमिटेड ललितपुरका अध्यक्ष माधव दुलालले प्रमुख अतिथ्यताको भूमिकामा उपस्थिति जनाइरहेको पाइन्छ । त्यसपछि विषयगत जिल्ला सहकारी संघका अध्यक्ष पनि साधारणसभाका प्रमुख अतिथिको प्राथमिकतामा पर्ने गरेका छन् । त्यसैगरी सम्बन्धित नगरपालिकाका सहकारी हेर्ने विभागको तर्फबाट पनि सहकारी संस्थाका सदावहार प्रमुख अतिथिहरु हुने गरेका छन् ।
साधारणसभालाई चालु आवको पुस मसान्तसम्म सम्पन्न गरिसक्नुपर्छ । त्यसैले भदौदेखि सुरु हुने साधारणसभा पुससम्म जारी रहनेछ । सहकारी विभागले तोकिएको समयमै साधारणसभा सक्नु भनेको छ । त्यसैले साधारणसभा गर्नुपर्ने अवधिभरको विशेषगरी शुक्रवार र शनिवार काठमाडौं, भक्तपुर र ललितपुरका सहकारीलाई प्रमुख पाउनै गाह्रो भएको सहकारीकर्मीको अनुभव छ । यी दुई दिन प्रमुख अतिथिमात्रै हैन पार्टी प्यालेसहरुलाई समेत भ्याई नभ्याई हुन्छ । एउटै व्यक्ति विभिन्न संस्थाको साधारणसभाका प्रमुख अतिथि बनेजस्तै एउटै पार्टी प्यालेसले एकै दिन तीन वटासम्म साधारणसभामा खानपिन र सभाको व्यवस्थापन गरिरहेको देखिन्छ ।
अझ् स्मरणीय र हास्यास्पद कुरा त के छ भने काठमाडौंका सहकारीको साधारणसभामा तत्कालिन डिभिजन सहकारीका पिउनले समेत अतिथि ग्रहण गर्न भ्याइ नभ्याई हुन्थ्यो । त्यसबखत डिभिजन सहकारी कार्यालयका प्रतिनिधिको उपस्थिति र उपस्थिति पुस्तिकामा हस्ताक्षर अनिवार्य व्यवस्था थियो ।
सहकारी संस्थाको साधारणसभालाई महत्वपूर्ण अवसरका रुपमा हेरिन्छ । सभामा संस्थाले गरेको विगतको प्रगति समिक्षा गर्नुका साथै भावि कार्यक्रम र योजनालाई समेत पारित गरिन्छ । त्यस्तै संस्थामा नयाँ सञ्चालक समिति चयन पनि सहकारीकै साधारणसभाले गर्ने गर्दछ । सहकारीका सेयरधनीले आफ्नो अधिकार प्रयोग गरेर संस्थालाई कुन दिशामा अगाडी बढाउने भन्ने विषयमा यो सभाले विशेष अर्थ राख्दछ । आगामी बर्षको बजेट, नीति तथा कार्यक्रम पनि साधारणसभाबाटै पारित गर्नुपर्ने हुन्छ । यी कार्यको तयारीले गर्दा सहकारीको साधारणसभा आसपासमा सहकारीका जिम्मेवार व्यक्ति समेत आफ्नो तयारीमा व्यस्त हुन्छन् । सभा सकेपछि भने उनीहरुले पनि यो बर्षभरीको भारी विसाएको अनुभव गर्छन ।
सहकारीले सदस्य बनाएर मात्रै कारोवार गर्नुपर्ने र ती सबै सदस्यलाई साधारणसभामा उपस्थितिका लागि आव्हान गर्नुपर्दछ । त्यस्तै कुल सदस्य संख्याको ५१ प्रतिशत सदस्य उपस्थित नभए गणपुरक संख्या नपुग्ने हुँदा गणपुरक संख्या पु¥याएर साधारणसभा सञ्चालन गर्न सहकारी विभागले आव्हान गरेको छ । सभामा सदस्यको भूमिकालाई अझ सक्रिय बनाउन मन्तव्य कार्यक्रम विहिन बनाएर सोझै एजेन्डामा प्रवेश गर्न, लेखा परिक्षण प्रतिवेदन, सञ्चालक समितिको प्रतिवेदन, लेखासमितिको प्रतिवेदन एवं सभामा पेश हुने सबै किसिमका प्रतिवेदन र विषयउपर प्रयाप्त छलफल गराएर पारित गर्न पनि विभागले भनेको छ । सभावाट पारित भएको प्रतिवेदन सभा सम्पन्न भएको १५ दिनभित्र सम्बन्धित स्थानीय निकायको सहकारी विभागमा पेश गर्नुपर्नेहुन्छ ।
त्यसैगरी सञ्चालक समिति र लेखा समितिको निर्वाचन हुने भए प्रचलित कानुन बमोजित योग्यता पुगेका सदस्यहरु मध्येवाट छान्नु पर्दछ ।