ई–आर्थिक, काठमाडौं । नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सेयरधनिलाई १८ प्रतिशत लाभांश दिने भएको छ ।
संस्थाको २२ औं साधारणसभा तथा २२ औं बार्षिकोत्सवको अवसरमा सो जानकारी दिइएको हो । सो सभामा संस्थाले ५ करोड ९० लाख ५४ हजार २५६ रुपैयाँ खुद बचत (मुनाफा) गरेको संस्थाका अध्यक्ष शिव प्रसाद सिटौलाले जानकारी दिएका थिए । सोही मुनाफाबाट संस्थाले सेयरधनीलाई १८ प्रतिशत लाभांश दिन लागेको जानकारी दिइएको थियो ।
सञ्चालक समितिको तर्फबाट संस्थाका अध्यक्ष सिटौलाले संस्थाको आर्थिक वर्ष ०७५/०७६ को बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्दै
आर्थिक वर्ष ०७५/७६ मा संस्थाले कुल निक्षेप २ अर्ब १८ करोड १२ लाख ९१ हजार १ सय ७१ रुपैयाँ कायम भएको जानकारी दिए । त्यसैगरी संस्थाको कर्जा लगानी १ अर्ब ३५ करोड ५१ लाख २९ हजार ४ सय ६२ रुपैयाँ पुगेको पनि उनले जानकारी दिए ।

सभामा दिइएको जानकारी अनुसार संस्थाको चुक्ता पूँजी ६ करोड १९ लाख १४ हजार ३ सय पुगेको छ भने जगेडा तथा अन्य कोषहरु १५ करोड ७८ लाख ५७ हजार ४ सय ८० रुपैयाँ रहेको छ ।
संस्थाले कार्यक्षेत्र विस्तार गर्ने र हालको कार्यक्षेत्र अन्तर्गतका काठमाडौं जिल्लाको बुढानिलकण्ठ नगरपालिका, ललितपुर जिल्लाको ईमाडोल, भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिकामा सदस्य सेवाकेन्द्र खोल्ने योजना समेत सभामा पेश गरेको छ ।

सभामा संस्थाका का.मु. प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद पाण्डेले आफ्नो स्वागत मन्तब्य राखेका थिए । लक्षित क्षेत्रमा छरिएर रहेको अनियन्त्रित पूँजीलाई एकत्रित गर्दै उत्पादनशील क्षेत्रमा लगानी गरेर सहकारी क्षेत्रले देशका न्यून तथा मध्यमवर्गीय समाजमा उल्लेखनीय योगदान पु¥याएको उनले मन्तव्यका क्रममा बताए । संस्थाले आगामी दिनहरुमा थप प्रगतीको लागि प्रयत्नरत रहने बताए ।
काठमाडौंको बत्तिसपुतलीमा मूख्य कार्यायल रहेको यो संस्थाले आफ्ना हजारौं सदस्यलाई प्रविधिमैत्री सरल र भरपर्दो सेवा प्रदान गर्दै आएको छ ।

संस्थाले बचत तथा ऋणका अतिरिक्त रेमिटान्स सुविधा, जीवन तथा निर्जीवन बीमा सम्बन्धि सेवा, अन्तरबैंक भुक्तानी सेवा, एप्समा आधारित मोवाइल वालेट, एटीएमलगायतको सेवा प्रदान गर्दै आएको छ ।
थप सेवाकेन्द्र खोल्ने तथा संस्थाको कार्यक्षेत्रसँग जोडिएको काभ्रेपलाञ्चोक र मकवानपुरमा समेत सेवा विस्तार गर्ने योजना रहेको संस्थाका का.मु. प्रमुख कार्यकारी अधिकृत पाण्डेले जानकारी दिए ।
