ई–आर्थिक, बिर्तामोड । झापाको विर्तामोडमा रहेको शिखर बचत तथा ऋण सहकारी संस्थाले आउन लागेको दशैंमा कम्तीमा ५० परिवारलाई खाद्यान्न तथा नयाँ लत्ता कपडा प्रदान गरी समाजप्रतिको दायित्व निर्वाह गर्ने कार्यक्रम बनाएको छ ।
‘चाडपर्वमा कसैले फैलाउन नपरोस् हात, यसपालीको दशैंमा शिखरले दिनेछ तपाईंको साथ’ नारा दिएर संस्थाको कार्यक्षेत्रमा रहेका न्यून आयस्रोत भएका विपन्न ५० परिवारलाई कपडा, जुत्ता, चप्पल, दैनिक उपभोग्य वस्तुहरु, मासु प्रदान गर्ने कार्यक्रम बनाएको संस्थाले जानकारी दिएको हो ।
शिखर साकोसका सञ्चालक सदस्य किरण थापा र किरण पौडेलको संयोजनमा अन्य सामाजिक संघ–संस्था एवम् शुभेच्छुकहरुको सहयोगमा विपन्न र न्यून आयस्रोत भएका ५० परिवारले दशैंमा एकसरो आङ ढाक्न र मिठोमसिनो खान पाउने भएका हुन् ।
शिखर साकोसले नवौं स्थापना दिवसको सन्दर्भ पारेर ‘दशैं आयो खाउँला पिउँला’ अभियान सञ्चालन गर्न लागेको पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । संस्थाले असोज १५ गते विपन्न र न्यून आयस्रोत भएका परिवारलाई उक्त सामग्री प्रदान गर्ने जनाएको छ । यही अवसरमा असोज ११ गते संस्थाको प्राङ्गणमा रक्तदान कार्यक्रम गर्ने भएको छ ।
संस्थाका अध्यक्ष दिपेन्द्र राउतले पत्रकार सम्मेलनमा संस्थाको वित्तीय झलकसहित सामाजिक कामका विविध आयामहरु सुनाए । अध्यक्ष राउतले असोज ५ गतेसम्मको कारोबारको झलक प्रस्तुत गर्दै संस्थामा चार करोड ७० लाख शेयर पूँजी र ४८ करोड ४३ लाख निक्षेप बचत रहेको जानकारी दिए ।
यस्तै ५० करोड ८४ लाख रुपैयाँ कर्जा लगानीमा रहेको तथा कोषमा एक करोड ५० लाख रुपैयाँ रहेको बताए । संस्थाले गत आर्थिक वर्षमा एक करोड ८१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो भने चालूवर्ष दुई करोड रुपैयाँभन्दा बढी कमाउने योजना बनाएको छ ।

झापाको कनकाई नदीभन्दा पूर्वको भूगोललाई कार्यक्षेत्रको स्वीकृति पाएको शिखर साकोसका बिर्तामोडमा मुख्य कार्यालय र राजगढ तथा गरामनीमा सेवा केन्द्र सञ्चालन गरिएको पत्रकार सम्मेलनमा बताइयो ।
उद्यमशील युवाको अग्रसरतामा बिर्तामोडमा सञ्चालित यो सहकारीले प्रविधिको प्रयोगमा समकालीन सहकारीभन्दा निक्कै अगाडि रहेको छ । संस्थाले मोवाइल बैकिङ्ग, एसएमएस बैंकिङ्ग सेवा सञ्चालनमा छन् भने निकट भविष्यमा कार्डलेस एटिएम सेवा प्रवाह गर्ने योजना बनाइएको छ । संस्थामा हाल सात हजार ८३९ जना शेयर सदस्यहरु रहेका छन् ।