ई–आर्थिक, काठमाडौं : बैंक अफ काठमाडौं (बीओके) का पूर्वप्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले कमसल धितोमा ऋण प्रवाह गरेको भन्दै उनलाई पक्राउ गरेको हो ।
उनले व्यवस्थापकीय नेतृत्व गरेको समयमा सो धितोमा साढे चार करोड रूपैयाँ ऋण प्रवाह गरेको आरोप प्रहरीको छ । प्रहरीले पूर्वप्रमुख कार्यकारी अधिकृत श्रेष्ठसहित ११ जनालाई पक्राउ गरेको जानकारी दिएको छ ।
पक्राउ पर्नेमा श्रेष्ठसहित कर्मचारी किरण बोहोरा, ऋचा श्रेष्ठ, सुष्मा शाह, पुष्पराज भण्डारी, विक्रम पन्त र ऋणी सुरेन्द्र श्रेष्ठ लगायत रहेका छन् ।
कर्जा प्रवाह गरिएको उक्त जग्गा झापाको भएको बुझिएको छ । सो स्थानको खोलाभित्रको जग्गा देखाएर डेढ करोड र अन्य कमसल धितोमा तीन करोड गरी साढे चार करोड रूपैयाँ ऋण निकासा गरेको अभियोगमाथि छानबिनका लागि श्रेष्ठ सहित उनीहरुलाई नियन्त्रणमा लिइएको केन्द्रीय अनुसन्धान ब्यूरो स्रोतले जानकारी दिएको छ ।
उक्त अभियोग पुष्टी भए उनीहरुलाई बैंकिङ्ग कसुरमा मुद्दा चलाइने पनि प्रहरी स्रोतले जानकारी दिएको छ ।