ई–आर्थिक, काठमाडौं । होटल र घरमा खेल्ने जुवाडे प्रहरीको निशानामा पर्न थालेपछि जुवाडेले जंगललाई आफ्नो नयाँ अखडामा परिणत गर्न थालेका छन् । तर नयाँ अखडाको पनि प्रहरीले असफल पार्न सफल भएको छ । प्राप्त जानकारी अनुसार पालुङटार नगरपालिका–५ चियानडाँडाको जङ्गलमा जुवा खेल्दै गरेका आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जङ्गलको बीचमा टेण्ट टाँगेर जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए।
जुवाको खालबाट प्रहरीले रु तीन लाख ८७ हजारसमेत बरामद गरेको छ। गण्डकी प्रदेश प्रहरीको अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय ठाँटीपोखरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुविरुद्ध जुवा ऐनअन्तर्गत मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको नेपालले जानकारी दिए ।