ई–आर्थिक, काठमाडौं । झापामा मूख्य कार्यालय रहेकोे मुलुककै ठूलो र प्रतिष्ठित सहकारी संस्था सहारा नेपाल साकोसको पेसागत संगठन नेपाल राष्ट्रिय कर्मचारी संगठन (सहारा नेपाल साकोस्) तेस्रो महाधिवेशन तथा संगठन एकिकरण कार्यक्रम सम्पन्न भएको छ ।
कर्मचारीहरुले राजनीतिमा प्रत्यक्ष संलग्न नहुने र पेशागत सङ्गठनलाई कुनै पनि राजनीतिक दलको भ्रातृ सङ्गठन नबनाउने उद्घोषका साथ मुलुककै ठूलोमध्येको झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका तीन वटा कर्मचारी सङ्गठन एकीकरण भएका छन् ।
एकीकरण भएका सङ्गठनहरुमा तत्कालीन नेकपा माओबादी केन्द्रको भ्रातृ सङ्गठन नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, तत्कालीन नेकपा एमालेको भ्रातृ सङ्गठन नेपाल स्वतन्त्र कर्मचारी सङ्गठन र नेपाली काङ्ग्रेसको भ्रातृ सङ्गठन नेपाल वित्तीय कर्मचारी सङ्घ रहेका छन् ।
तीन वटै सङ्गठनले राजनीति नगर्ने आचारसंहिता पारित गर्दै केही दिन अघि संयुक्त महाधिवेशनसमेत सम्पन्न गरेका छन् भने एकीकृत सङ्गठनको नाम ‘एकीकृत कर्मचारी सङ्गठन सहारा नेपाल साकोस’ हुने निर्णय गरेका छन् ।
सहारा नेपालको झापा, मोरङ, सुनसरी, उदयपुर, इलाम र पाँचथरमा कार्यक्षेत्र रहेको छ र सदस्य सङ्ख्याका हिसावले यो नेपालकै सबैभन्दा ठूलो सहकारी संस्था हो । यसका सदस्यहरुको सङ्ख्या एक लाख ५० हजार र कर्मचारी सङ्ख्या ७०० रहेको नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका पूर्व अध्यक्ष मोतिखर सञ्जेलले जानकारी दिए ।
नेपाल स्वतन्त्र कर्मचारी सङ्गठनका अध्यक्ष भवानी सुवेदी, नेपाल वित्तीय कर्मचारी सङ्घका अध्यक्ष शेरबहादुर कटुवाल र नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष मोतिखर सञ्जेलले सङ्गठन एकीकरणमा संयुक्त हस्ताक्षर गरेका छन् ।

सो अधिवेशनले यादवप्रसाद घिमिरेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । सर्वसम्मतबाट गरिएको उक्त कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा टेकप्रसाद अधिकारी, उपाध्यक्षमा तेजप्रसाद गौतम, महिला उपाध्यक्ष रमिता गुरुङ, सचिवमा सालिकराम भट्टराई, सहसचिवमा भिमबहादुर बस्नेत र कोषाध्यमा टोमप्रसाद दहाल रहेका छन् ।
त्यसैगरी सदस्यहरूमा किसन मुर्मु, सियाराम चौधरी, विश्वास निरौला, कुलप्रसाद प्रसाई, सुवास झा, अञ्जना श्रेष्ठ, युवराज दर्लामी मगर र विशाल निरौला रहेका छन् ।
