२०८३ साउन ९ शनिबार

‘नेपाली नारीलाई रोजगारीका साथै आत्मनिर्भरका लागि राज्यको आकर्षक ‘प्याकेज’ आउनुपर्छ’

ई आर्थिक    सोमबार, असार २ २०७६
20.6K
Shares
‘नेपाली नारीलाई रोजगारीका साथै आत्मनिर्भरका लागि राज्यको आकर्षक ‘प्याकेज’ आउनुपर्छ’

विन्दा कार्की

ब्यवसायी/सामाजिक अभियान्ता

विभिन्न व्यवसायको अनुभव बटुल्नु भएकी विन्दा कार्की सामाजिक अभियान्ता पनि हुनुहुन्छ । उहाँसँग बैदेशिक रोजगारीको समेत अनुभव रहेको छ । रोजगारीको शिलशिलामा उहाँले इजरायलमा ७ बर्ष विताउनु भएको छ । गरीब, विपन्न र असाहाय महिलाको लागि केही काम गर्ने सोच बनाउनु भएको उहाँ नारीहरूलाई रोजगारी र आत्मनिर्भर बनाउन सके नारी हिंसा कम हुने बताउनुहुन्छ । नेपालको नीति नियम कार्यन्वयन फितलो भएकै कारण मुलुकमा अपराध र हिंसा बढिरहेको उहाँको बुझाई छ । नेपालको नीतिलाई अक्षरस पालना गर्ने निकायमा रहेर काम गर्ने इच्छा आफूमा रहेको कुराकानीको क्रममा बताउनुभयो । विस्तृत कुराकानी अन्तर्वार्तामा :

तपाईको परिचय र पारिवारिक स्थितिको वारेमा संक्षेपमा बताइदिनोसन् ?
मेरो नाम विन्दा कार्की हो । घर सिराहाको बन्दिपुरमा पर्दछ । अहिले म सामान्य व्यवसायका साथै गृहिणी र सामाजिक अभियान्ताको रुपमा कार्यरत छु । नारी सुरक्षा, आत्मनिर्भर, शसक्तिकरण र चेतना अभिवृद्धि जस्ता सामाजिक क्षेत्रमा संस्थागतरूपमै केही गर्ने तयारी पनि गरिरहेको छु ।
मध्यम वर्गिय परिवारमा जन्मिएको मैले सोही अनुसारको शिक्षा लिएको छु । माध्यामिक तहको शिक्षा पछि मैले श्री मोहन सेकेन्डरी उच्च माध्यामिक विद्यालय मिर्चैया, सिराहाबाट प्लस टु सम्मको अध्ययन सकेको छु । वि.एस.सी. नर्सिङसम्मको शिक्षा सकेर उच्च शिक्षाको तयारीमा रहेकी बर्षा नामकी मेरो एउटी छोरी छिन् ।

तपाईसँग के कस्ता अनुभवहरू रहेका छन् ?
हाल गृहिणीका साथै सामान्य व्यवसायी भएपनि स्वदेशमा रहँदा मैले विभिन्न किसिमको व्यवसाय सञ्चालन गरेर बसेको अनुभव छ । त्यस्तै सहकारीको क्षेत्रमा काम गरेको अनुभव पनि रेहेको छ । उच्च शिक्षा लिने क्रममा काठमाडौंमा मैले २५ बर्ष विताएको छु । काठमाडौं बसाईको क्रममा मैले विभिन्न व्यवसायको अनुभव बटुल्ने अवसर मिलेको छ । इजरायलमा ७ बर्ष केयर गिभरको रूपमा काम गरेको अनुभव पनि म सँग छ । म दुःख र सुखलाई राम्ररी व्यवस्थापन गर्ने क्षमता म सँग छ । मेरो शैक्षिक योग्यता मध्यम किसिमको भए पनि म उच्च शिक्षा अध्ययन गरेका नेपाली नारीहरू सरह काम गर्नसक्ने हैसियत पनि राख्छु ।

नेपालमै व्यवसाय गरिरहनुभएको तपाईलाई बैदेशिक रोजगारी जानुपर्ने बाध्यता किन प¥यो ? इजरायललाई नै किन छनौट गर्नुभयो ?
नेपालमा प्रसस्तै रोजगारीको संभावना र व्यवसायिक वातावरण नभएकाले आफ्नो जिविकोपार्जनको शिलशिलामा अलिक बढी रकम आर्जन गर्न सकिने देश भनेर इजरायलमा गएको थिए । काम गर्न विदेशमा जानु मेरो रहर थिएन, बाध्यता थियो । तर विदेश गएर केही कमाइयो, केही कुरा देखियो र सिक्ने अवसर पनि मिल्यो । त्यसमा म सन्तुष्ट छु ।

विदेशमा काम गर्ने नपाली नारीहरूको अवस्था कस्तो पाउनुहुन्छ ? नेपाली नारी हिंसा र असुरक्षित भएका बढि घटनाहरू सार्वजानिक भइरहेका छन् नि !
विदेशमा काम गर्ने नेपाली नारीहरूको अवस्था कस्तो त्यत्ति सन्तोषजनक छैन । फेरि पुरै नराम्रो अवस्था छ भन्न पनि खोजेको होइन । तर जस्तो र जति सोचेर विदेशमा काम गर्न गइन्छ त्यति र त्यस्तो भने अवश्य पनि विदेश छैन । हेर्नुहोस्, यो नारी हिंसा र असुरक्षा भन्ने विषय एक आध अपवाद बाहेक सबै आफूमा निर्भर हुने कुरा हो । कुनै पनि मुलुकको कानुनले नारी हिंसा र असुरक्षालाई प्रोत्साहन गरेको छ भन्ने मलाई लाग्दैन । विदेशमा भएका घटनाको समाचार अलि बढी प्राथमिकतामा पर्ने भएकाले पनि नेपाली नारी विदेशमा अलिक असुरक्षित भएको र हिंसामा परेको हो की भन्ने जस्तो लाग्छ । तर मलाई चाँही त्यस्तो लाग्दैन । विदेशमा रहुञ्जेल मैले असुरक्षा र हिंसाको कुनै पनि समस्या व्यहोर्नु परेन । आफू ठिक ठाउँमा बसेपछि सबै ठिक हुन्छ । नारी असुरक्षित भएको र हिंसामा परेको घट्ना त विदेशमा भन्दा पनि बढी मैले नेपालमै देखेको छु । नेपालको सबै परिवेश हेर्दा आफू सचेत भइएन भने यहाँ कुनैवेला हिंसामा परिने हो की भन्ने डर आफूलाई समेत लाग्ने गरेका छ ।

नेपालमा भइरहेको नारी असुरक्षा र हिंसालाई निरूत्साहित गर्न के गर्नुपर्छ जस्तो लाग्छ ?
कुनै पनि किसिमका असुरक्षा र हिंसालाई पुरै निरूत्साहित गर्न सकिन्छ । यो नारी असुरक्षा र हिंसा भन्ने विषय अलिक फराकिलो विषय हो । हामीले कुरा गर्न खोजेको कुन प्रकारको असुरक्षा र हिंसा हो त्यो पनि प्रष्ट हुनुपर्दछ । जहाँसम्म नेपालमा समग्र नारी हिंसा र असुरक्षाको विषय भने विकराल बन्दै गइरहेको मैले पाएको छु । नेपाली नारीका आफ्नै बाध्यता पनि त्यसका कारक भइरहेको छ कि जस्तो मेरो बुझाई छ । एकजना साथीको जन्मदिन मनाउने शिलशिलामा म एक दिन दरबारमार्ग स्थित एक रात्रीकालिन दोहोरी साँझमा पुगे । पहिलोपटक रात्रीकालिन मनोरञ्जन घरमा प्रवेश गर्दा मैले त्यहाँ कार्यरत नेपाली नारीहरूको अवस्थाको बारेमा राम्ररी परिचित हुने अवसर मिल्यो । त्यहाँ कार्यरत नारीहरू आफैले पुरूषहरूलाई हिंसामा अभिप्रेरित गरिरहेको हो कि जस्तै देखिन्थ्यो । ती नारीहरूले लगाउने उत्ताउलो पोशाक देखि खानपिन, हाउभाउ जस्ता गतिविधिहरूले कुनै पनि सभ्य पुरूषलाई समेत यौनजन्य हिंसामा पार्ने कुरालाई छर्लङ्ग पारिदिएको छ । उनीहरूको बाध्यता होला तर यो विकृतिको रूपमा बढ्दै जाने मरो ठम्याई छ । यो देखाई र अनुभव पछि नारी शसक्तिकरण, जनचेतना, असुरक्षा, हिंसाको क्षेत्रमा काम गर्ने तयारीमा रहेको म अब तिनै महिलाबाट सुरू गर्छु । बाध्यताको हिंसा र रहरको हिंसाको धेरै फरक पर्छ । मैले देखेको यो हिंसा भनेको बाध्यतासँगै रहर पनि जोडिएको हो कि जस्तो लागेको छ । राज्य, राज्यका निकाय, ऐन नियम र तिनलाई कायन्वयन गर्ने व्यक्तिहरू कमजोर भइदिनाले पनि नेपालमा यस्ता घट्ना बढी हुने गरेको मेरो बुझाई छ । हिंसा र असुरक्षाबाट जोगाउन महिलालाई जनचेतना, रोजगारी, आत्मनिर्भर, नीतिलाई कार्यन्वयन गर्ने निकाय पारदर्शीता, इमान्दारिता र सक्रियताको आवश्यकता महसुस गरेको छु । त्यसका साथै नारीहरू आफैं सचेत हुदै आफू आफ्नो स्थानमा बस्नु पर्छ ।

नेपाली नारीहरूको समग्र अवस्था कस्तो देख्नु भएको छ ?
समग्रमा नारीहरूको अवस्था त्यति सन्तोषजनक छैन । अशिक्षा र जनचेतनाको अभावले पनि नेपाली नारीहरूको अवस्थामा उल्लेख्य सुधार हुन सकेको छैन । रोजगारीमा अवसर, व्यवसायमा राज्यको प्रोत्साहन नहुनाले पनि नेपाली नारीहरूले त्यति गति लिन सकेको छैनन् । नारीलाई आत्मनिर्भर र रोजगरी दिलाउने राज्यको आकर्षक प्याकेज आउनु पर्छ । परनिर्भरताकै कारण महिलाहरू हेपाईमा पर्ने गरेको तथा पति र परिवारको हिंसाको शिकार हुनुपरेको छ । तराईको ‘दाईजो हिंसा’ जस्ता असमान र अपाच्य व्यवहारलाई निरूत्साहित गर्न राज्यले कडा भन्दा कडा कारवाहीको नीति लागू गर्नुपर्छ । यो त एउटा क्षेत्रको उदाहरण मात्रै हो, संस्कृतिक, परम्परा र अन्धविश्वास हावीका कारण समेत नेपालका विभिन्न क्षेत्रमा विभिन्न किसिमका नारी हिंसा हुने गरेका छन् । यस्ता किसिमका हिंसा अन्त्य गर्न स्वयंम् नारी र राज्यका निकाय कडा नीति आवलम्बन गर्नुका साथैको सक्रियता बढाउन जरूरी छ ।

नेपालका नारीको विगत र वर्तमानलाई कसरी तुलना गर्नुहुन्छ ?
साक्षरता र आधुनिक शिक्षामा नेपाली नारीहरूको पहुँच बृद्धिसँगै विगतको तुलनामा नेपाली महिलाहरू पनि सक्षम बन्दै गइरहेका छन् । नेपालका महत्वपूर्ण तह र तप्कामा नारीहरूको उपस्थितिले पनि यो कुरालाई पुष्टि गरेको छ । नेपालको राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधान न्यायधिश शुशिला कार्की, पूर्वसभामुख ओनसरी घर्ती, उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणा, मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुजेली, अन्नपूर्ण जस्तो पाँचतारे होटलको व्यवस्थापन हाकेर बसेकी होटल संघ नेपालकी अध्यक्ष सिर्जना राणा, नेपाल टेलिकमकी पूर्वप्रबन्ध निर्देशक कामिनी राजभण्डारी र नेपाल सरकारका महत्वपूर्ण पदमा पुगेका यमकुमारी खतिवडा र विन्दा हाडा जस्ता नारीहरू यसका बलिया उदाहरणहरू हुन । यी बाहेक धेरै व्वसायिक संघ÷संस्थाको नेतृत्व तहमा रहेर नेपालका नारीहरूले काम गरिरहनुभएको छ । जुन, सबै नेपाली नारीहरूले गर्ब गर्न लायकका प्रतिभाहरू पनि हुन ।

विदेशी नारीहरूसँग नेपाली नारीको तुलना कसरी गर्नुहुन्छ ?
सम्पन्न र शक्तिशाली मुलुकका महिलाको तुलनामा नेपाली नारीहरू अवस्था साह्रै कमजोर छ । तर नेपाली नारीहरू पनि विस्तारै अगाडी बढिरहेका छन् । नारीहरूको यो बृद्धि विकासको यो गतिलाई अझ तीब्र बनाउदै लग्नुपर्छ । शिक्षासँगै नेपाली नारीलाई हक, अधिकारले सुसज्जित गर्ने कार्यमा राज्य, राज्यको नेतृत्व तहमा पुगेकाहरू उदार हुनुपर्छ । त्यस्तै घरको अविभावक (पुरूष) हरूले पनि नारीलाई चुलो चौकामा सिमित नराखी हरेक व्यवसायीक कार्यमा अगाडि बढाउनु पर्दछ । यसो भए भोलिका दिनमा विदेशका सम्पन्न र शक्तिशाली नारीको तुलना गर्न प्रतिस्पर्धा गर्न योग्य र सक्षम हुनेछन् ।

तपाईको इच्छा आकांक्षाहरु के–के छन् ?
नीति नियम कार्यन्वयनको पक्षमा नेपाल साह्रै कमजोर छ । नाताबाद, कृपाबाद, कमिशन, घुसखोरीका कारण निर्दोष व्यक्ति दोषी हुने र दोषी व्यक्ति निर्दोष हुने घटनाले मुलुकमा प्रश्रय पाएको छ । यसलाई पूर्णरूपमा निरूत्साहित पारिनुपर्छ भन्ने मेरो मान्यता रहेको छ । सरकारको कुनै पनि निकायमा रहेर नेपालको नीति नियमलाई अक्षरस पालना गराएर एउटा उदाहरणीय व्यक्ति बन्ने इच्छा मेरो रहेकोे छ । मेरो अरू ठूलो आकांक्षा महत्वाकांक्षा केही पनि छैन । थिचो मिचो र पिडामा परेका समाज, त्यसमा पनि विशेषगरी महिलाहरूको लागि निःस्वार्थ भावनाले सहयोग गर्ने, तिनीहरूलाई आवश्यक योगदान पु¥याउने सोच पनि मेरो रहेको छ ।

तपाईका भविष्यका सोचाई र परिकल्पानाहरू केही छन् ?
निश्चित रुपमा भविष्यमा केही गर्नुपर्ने सोच मैले राखेको छु । राज्यलाई राजश्व र रोजगारीको माध्यमबाट सहयोग पुग्ने र आफ्नो पनि दैनिकी चल्ने कुनै व्यवसायिक क्षेत्रमा लगानी गर्ने सोच बनाएको छु । त्यस्तै विशेषगरी एकल महिला, असाहाय, गरिब र निर्दयी नारीहरूलाई शीपमुलक पेशा व्यवसायमा प्रोत्साहित गर्दै तिनीहरूको सशक्तिकरणका साथै आत्मनिर्भरताको क्षेत्रमा पनि केही काम गर्ने सोच बनाएको छु । त्यसैगरी नारी हिंसा र असुरक्षा न्यूनिकरणका साथै जनचेतना जस्ता सामाजिक क्षेत्रमा समेत नेतृत्वदायी तहमा रहेर काम गर्ने सोच मैले बनाएको छु । आगामी दिनमा आफ्नो राष्ट्रिय पहिचान स्थापित हुने व्यवसाय गर्ने र नारी हितमा केन्द्रित रहने मेरो सोचाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij