२०८३ साउन ११ सोमबार

साउथ एसियन फेडेरेशन अफ एक्सचेन्जेजको अधिवेशन सम्पन्न

ई आर्थिक    आइतबार, जेष्ठ १९ २०७६
2.8K
Shares
साउथ एसियन फेडेरेशन अफ एक्सचेन्जेजको अधिवेशन सम्पन्न

ई–आर्थिक, काठमाडौं । दक्षिण एसियाली मुलुकका स्टक एक्सचेन्जहरुको छाता संगठन साउथ एसियन फेडेरेसन अफ एक्सचेन्जेज (सेफ) को १४ औं वार्षिक अधिवेशन तथा कार्यसमितिको बैठक सम्पन्न भएको छ । यससँगै सेफसँगको समन्वयमा नेपाल स्टक एक्सचेन्ज लिमिटेड र मर्कन्टायल एक्सचेन्ज नेपाल लिमिटेडको सह आयोजनामा ‘मोर्डनाइजेसन अफ क्यापिटल मार्केट इन नेपाल एन्ड एक्रस द बोर्डर’ विषयमा एक दिने छलफल कार्यक्रम पनि सम्पन्न भएको छ ।

सेफको १४ औं अधिवेशनमा सर्वसम्मतिबाट नयाँ कार्यसमितिको चयन भएको छ । जस अनुसार रोयल स्टक एक्सचेन्ज अफ भुटानका प्रमुख कार्यकारी अधिकृत दोर्जि फुन्ट्सो र मर्कन्टायल एक्सचेन्ज नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जितेश सुरेन्द्रन आगामी दुई वर्षे कार्यकालका लागि सेफको क्रमशः अध्यक्ष र उपाध्यक्ष चुनिनु भएको छ ।

अधिवेशनले सेफको विधान संशोधन गर्नुका साथै संस्थाको पुनर्सरचना गर्ने, कार्य समितिको आगामी बैठक बस्ने स्थान तथा मिति तय गरेको छ । यसैगरी सेफ कार्यसमितिको बैठकमा प्रविधि, बजार प्रवद्र्धन तथा कारोबार जोखिम न्युनीकरण सम्बन्धी उपसमिति गठन गर्नुको साथै सूचना तथा ज्ञान प्रवद्र्धनमा आपसी सहकार्यलाई अघि बढाउने, निकट सहकार्यका लागि प्रत्येक सदस्यले सम्पर्क व्यक्ति तोक्ने, सदस्य एक्सचेन्जहरुमा कार्यरत कर्मचारीहरु तथा पुँजी बजार जनशक्तिको क्षमता अभिवृद्धिका लागि तालिम तथा अन्तक्र्रियाको व्यवस्था गर्ने निर्णय भएको छ । यसका लागि सेफका ठूला सदस्य एक्सचेन्जहरुलाई अनुरोध गर्ने निर्णय समितिले गरेको हो ।

यसैगरी ‘मोर्डनाइजेसन अफ क्यापिटल मार्केट इन नेपाल एन्ड एक्रस द बोर्डर’ विषयक छलफल कार्यक्रम चार सत्रमा सञ्चालन भएको थियो । पहिलो सत्रमा बैकिङ क्षेत्र र पुँजी बजारको सबलिकरण विषयमा छलफल भएको थियो भने दोस्रो सत्रमा स्टक एक्सचेन्ज सञ्चालनको सुधारका लागि यसको आधुनिकीकरणको विषयमा छलफल भएको थियो । तेस्रो सत्र नयाँ कम्पनीलाई स्टक एक्सचेन्जमा सूचीकृत गर्नका लागि आकर्षित गर्ने तथा सर्वसाधारण लगानीकर्ताका लागि नयाँ कारोबारयोग्य औजारको व्यवस्था गर्ने विषयमा केन्द्रीत थियो । चौथो सत्रमा फराकिलो पुँजी बजार संरचना निर्माण गर्ने विषयमा छलफल भएको थियो ।

छलफल कार्यक्रममा बंगलादेश, भारत, भुटान, मालदिभ्स, श्रीलंका र नेपालका पुँजी बजार, बैकिङ, बिमा तथा अन्य वित्तीय क्षेत्रका प्रतिनिधि, दुई पक्षीय तथा बहुपक्षीय दातृ निकायहरुका प्रतिनिधिको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij