२०८३ साउन १० आइतबार

तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व आज, प्रम ओली र देउवाद्वारा शुभकामना

ई आर्थिक    मंगलबार, माघ २२ २०७५
5.7K
Shares
तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व आज, प्रम ओली र देउवाद्वारा शुभकामना

काठमाडौँ, २२ माघ : तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि कुकुर वर्ष पूरा गरी सुँगुर वर्ष प्रवेश हुन्छ । यो २८५५औँ सोनाम ल्होछार हो ।

मञ्जुश्री पात्रो शुरु भएको २८५५औँ वर्ष भएकाले सोनाम ल्होछार पनि त्यति नै वर्ष भएको मूल आयोजक समितिले जनाएको छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार पर्व मनाइन्छ ।

ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा सोनाम ल्होछारलाई विभाजन गरिएको मूल आयोजक समितिकी वरिष्ठ उपाध्यक्ष बेली लो तामाङले जानकारी दिनुभयो ।

यस अवसरमा नेपाल तामाङ घेदुङलगायत संस्थाले टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गर्ने जनाइएको छ । सोनाम ल्होछार महोत्सवका नाममा तामाङ खाना, वेषभूषा, कला संस्कृतिलगायतको प्रदर्शन गरिने जनाइएको छ । आज दिउँसो १ बजे टुँडिखेलमा हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नु हुने कार्यक्रम रहेको मूल आयोजक समितिले जनाएको छ । यस अवसरमा आज ३ नं प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

सबै जातिका चाडपर्वप्रति सरकारको उत्तिकै सम्मान छः प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका सांस्कृतिक विविधताले नेपालीलाई एक सूत्रमा बाँध्न महत्वपूर्ण योगदान गरेको बताउनुभएको छ ।

तामाङ जातिले मनाउने सोनाम ल्होछार पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले विविध सांस्कृतिक परम्परा र संस्कृतिले नेपाललाई विश्वमा अलग पहिचान दिएको बताउनुभएको छ ।

प्रधानमन्त्रीले सन्देशमा भन्नुभएको छ, “नेपाल बहुजातीय, बहुधार्मिक र बहुभाषिक देश हो । यहाँ हरेक जातजातिका आआफ्नै परम्परा, चाडपर्व, वेशभूषा रहेका छन् । मुलुकमा बसोबास गर्ने सबै जातिका चाडपर्वप्रति सरकारको उत्तिकै सद्भाव र सम्मान छ ।”

वर्तमान सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य राखेर अघि बढेको स्पष्ट पार्दै उहाँले यस यात्रामा देशका सबै जातजाति, धर्म र सम्प्रदायको योगदान अपेक्षित रहेको बताउनुभएको छ । प्रधानमन्त्रीले भन्नुभएको छ, “हाम्रा सांस्कृतिक पर्व, वेशभूषामार्फत पनि समृद्धिको अभियानमा टेवा पु¥याउन सकिन्छ । यस्ता सम्पदालाई पर्यटक आकर्षण गर्ने माध्यमका रुपमा समेत विकास गर्न सकियो भने हाम्रो संस्कृति पनि जीवित रहन्छ । यस्ता सम्पदाको अवलोकनका लागि स्थानीयस्तरमा पुग्ने पर्यटकमार्फत आयआर्जन गर्न पनि सकिन्छ ।”

प्रधानमन्त्रीले स्वदेश तथा विदेशमा बसोबास गर्ने सम्पूर्ण तामाङ समुदायका दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको शुभकाना व्यक्त गर्नुभएको छ ।

सद्भाव अभिवृद्धि गर्न प्रेरित गर्न सकोस्ः देउवा 
यसै उपलक्ष्यमा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले ‘सोनाम ल्होहार’ का उपलक्ष्यमा सम्पूर्ण तामाङ समुदायमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले आज विज्ञप्तिमार्फत विविधताले भरिएको नेपाली समाजमा गर्व गर्नलायक धार्मिक–सांस्कृतिक रीतिरिवाज र परम्परामध्ये सोनाम ल्होहारले जनजीवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको उल्लेख गर्नुभएको छ ।

यस पर्व आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सामाजिक सद्भावना बढाउने काममा कोशेढुङ्गा सावित भएको विज्ञप्तिमा उल्लेख छ । सभापति देउवाले यस पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न प्रेरित गर्न सकोस् भन्ने शुभकामना दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij